###
|
काठमाडौं, मंसिर ११ – चुनावमा उम्मेदवार बन्न धेरैलाई रहर हुन्छ । तर रहर हुने सबैलाई पार्टीले उम्मेदवार बनाउँदैन ।
पार्टीले नबनाएपछि कोही स्वतन्त्र रुपमा बागी बनेर उठ्छन् । कसैलाई चाहिँ पार्टीले नै ‘डमी’ बनाएर पनि उठाएको हुन्छ ।
पार्टीसँग मन नमिलेर या पार्टीको समर्थन बाहेक आफ्नै ढंगले स्वतन्त्र रुपमा उठ्नेहरु पनि हुन्छन् । यसपटकको चुनावमा यसरी स्वतन्त्र रुपमा उठेका दुईजनाले चुनाव जितेका पनि छन् । तर धेरै उम्मेद्वारको लज्जास्पद मत आएको छ ।
काठमाडौं क्षेत्र नम्वर १ मा सिट्ठी चुनाव चिन्ह लिएर उठ्नुभएकी इन्द्रकुमार ढकाल थपलियाको जम्मा १ मत मात्र आएको छ । यसबाट थाहा हुन्छ मतदाता नामावलीमा उहाँको नाम क्षेत्र नम्बर १ मा भएको भए उहाँको आफ्नो भोट मात्र सिट्ठीमा गयो । अनि यही क्षेत्रबाट ग्याँस चुलो चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका केशव ओली र काईंयो चुनाव चिन्ह लिएर उम्मेद्वारी दिएका गीता दाहालको एक भोट पनि आएन ।
क्षेत्र नम्बर २ मा भने काईंयो चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार कदमबहादुर श्रेष्ठले एक भोट पाउनुभयो । यस्तै लट्टाई चिन्ह भएका त्रिविक्रम गौतम र पंखा चिन्ह भएकी सुशीला महर्जनको पनि एकएक भोट आयो । यही क्षेत्रमा हरियाली नेपाल पार्टीका उम्मेदवार हरिशरण भेटवालको पनि एक मत मात्रै आयो । यो क्षेत्रमा हरियाली नेपाल पार्टीका एकजना उहाँ मात्र हुनुहुँदो रहेछ भन्ने थाहा हुन्छ ।
काठमाडौं ४ मा स्वतन्त्र उम्मेदवार माधव केसीले एक भोट पनि पाउनु भएन । अरु उम्मेदवारले कम्तीमा दुई, चार, १० र त्यो भन्दा माथि ल्याएका छन् । काठमाडौं ६ मा ब्रस चिन्ह लिएर स्वतन्त्र रुपमा चुनाव लडेका विनोद भट्टको १ भोट मात्रै आएको छ । काठमाडौंका अरु क्षेत्र तथा ललितपुर र भक्तपुरमा भने प्रत्यक्षतर्फका उम्मेद्वारले शून्य र एक भन्दा धेरै भोट ल्याएका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment