नेता भन्छन्- संविधान, मतदाता सोध्छन्- विकास
###

झापा, कार्तिक १६ - पूर्वी पहाड र मधेसमा उम्मेदवारले संविधानका कुरा गर्न खोज्दा मतदाताहरू भने बढीजसो विकासतर्फ नै केन्दि्रत भएको भेटिए । पाँच जिल्ला सुनसरी, मोरङ, पाँचथर, इलाम र झापाको रिपोर्टिङका क्रममा मतदाताले उम्मेदवारलाई यस्तो प्रश्न गरेर हैरान पारेको देखियो- 'विकास किन गरेनौ ?' केहीले भने 'चार वर्षसम्म संविधान किन बनाएनौ ?' भनेर पनि सोधे । अधिकांश उम्मेदवार संविधान बन्न नसक्नुमा अरू पार्टीलाई आरोप लगाइरहेका थिए ।

आफ्नो क्षेत्रमा विकास खन्याएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले गर्वसाथ भने, 'यो क्षेत्रको विकास मैले गरेको हुँ, अझै गर्छु ।' गच्छदार उम्मेदवार भएको क्षेत्र सुनसरी ३ र मोरङ ७ मा तुलनात्मक रूपमा बढी विकास भएको स्वयं मतदाता बताउँछन् । सुनसरी ३ मा २०४८ देखि जित्दै आएका उनले त्यस क्षेत्रलाई विशेष ध्यान दिँदै आएका छन् । केही मतदाताले नयाँ व्यक्तिलाई एक पटक हेर्न चाहेको बताए ।
विकासको कुरा गर्दा इलाम १ मा अर्बभन्दा बढी लगानी गरेको एमाले अध्यक्ष झलनाथ खनालले गर्वसाथ बताए । 'मेरो क्षेत्रमा एक अर्बभन्दा बढी लगानी भएको छ, विकास गरेन भन्न मिल्दैन,' उनी भन्छन् । उनको घरदैलोका क्रममा मतदाताले अझै विकास गरिदिन माग गरेको देखियो । आफू त्यस क्षेत्रमा विजयी भएकै कारण विकासले तीव्रता पाएको भन्न उनी बिर्संदैनन् ।
एमाले नेता एवं पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचन अभियानमा आफू राष्ट्रिय व्यक्तित्व भएको घुमाउरो पाराले घुसाउँछन् । 'आफू जितेर गए समन्वयकारी भूमिका खेल्छु,' उनको भनाइ छ । इलाम २ का उम्मेदवार उनी पनि संविधान निर्माण र विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गर्छन् । तर उनका धेरै जनजाति मतदाता उनीप्रति खुसी देखिँदैनन् ।
जातीय पहिचानका आधारमा संघीयता बनाउने कुरामा उनको फरक मत छ । हुन त उनी जातीय पहिचानको विरोधी होइनन्, 'पहिचानसहितको संघीयताको पक्षमा एमाले छ,' उनी मतदातासमक्ष भन्छन्, 'हामीले एकल जातीय पहिचानसहितको संघीयतामा फरक मत राखेका हौं ।' सफाचट अवस्थामा घरदैलो र सभामा जाँदै गर्दा इलाममा उनको कान्तिपुरसँग जम्का भेट भएको थियो ।
सुनसरी ५ का उम्मेदवार मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको प्रचारशैली अलि फरक देखियो । उनी सीमित कार्यकर्ता र सुरक्षाकर्मी लिएर मतदाताकहाँ पुगे । उनी खुलाभन्दा टोल-टोलमा भेला गरेर मतदातासँग भोट मागिरहका देखिए । यादवलाई विकासभन्दा 'मधेसीलाई पहिचान दिएको' भन्दै प्रशंसा गर्नेहरू बढी भेटिए । मधेसीलाई पहिचानबाटै उनले जित्ने आधार खोज्दैछन् । 'धेरै मतदाताले माग्ने त विकास नै हो, तर हामी संविधान बनाउने कुरा पनि गर्छौं ।'
झापा ३ का उम्मेदवार कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो निर्वाचन क्षेत्रमा बेग्लै कुरा गरेको पाइयो । 'मैले नहारेको भए संविधान बन्थ्यो कि भन्ने मतदाताको भनाइ छ,' उनले भने ।
कांग्रेसले संविधानसभा निर्वाचनपछि नेतृत्व गर्न नपाउनु दुर्भाग्य भएको ठान्दै उनी मत माग्दै हिँडेका छन् । उनको घर आफ्नै क्षेत्र चन्द्रगढी भए पनि उनी धेरैजसो मतदाताको घरमा बस्दै हिँडेका छन् । फोटोसहितको मतदाता भएकाले सिटौला अलि विश्वस्त देखिए । मोरङ ९ का एमाओवादी उम्मेदवार वर्षमान पुन र ७ का डा. शेखर कोइराला सबैखालका मतदाताको भर परेको देखियो । उनीहरू एउटै जात वा समुदायको मतदाताबाट जित्न कठिन हुने आँकलन गर्दै सबै मतदाताको मन जित्ने रणनीतिमा लागेका छन् । कोइराला मधेसी र अन्य मिलाउन थालेका छन् भने पुन आदिवासी, जनजाति र आप्रवासीलाई हातमा लिने रणनीतिको खोजी गर्दै गरेको भेटिए ।
पूर्वी मधेसका मुख्य दुई जिल्लामा मधेसी पहिचानको मुद्दाले बढी ठाउँ पाएको छ । मधेसी र गैरमधेसीको प्रश्न हरेक निर्वाचन क्षेत्रमा उठ्छ । मोरङ र झापामा जनजाति र अन्य जातिका मतदाताबारे पनि कुरा उठको छ । गच्छदार, यादव र अन्य दलका मधेसी उम्मेदवार पनि मधेसीको मत तान्न पहिचानको मुद्दा उठाउँदै हिँडेका छन् । मधेसी मतदाताले पहिचानका लागि मसिहा उपेन्द्रलाई मानेको पाइयो । गच्छदारलाई मान्ने कारणचाहिँ विकास र रोजगार मुख्य हो ।  पूर्वी पहाडका पाँचथर, इलामलगायत जिल्लामा जनजाति मुद्दाले प्राथमिकता पाएको छ । लिम्बुको बाहुल्य रहेको पाँचथरमा त प्रमुख दलहरूले लिम्बु उम्मेदवारहरू उठाएका छन् । पूर्वी पहाडी जिल्ला पाँचथर फिदिम जोरसालमा भेटिएका ७५ वषर्ीय विष्णुलाल कट्टेल समकालीनसँग गफिँदै थिए । ००७ सालदेखि हालसम्मको राजनीतिको जानकारी राख्ने उनी साथी चक्रलाल लुइँटेलसँग भन्दै थिए, 'भोट माग्न आउने जतिलाई हुन्छ भन्ने हो । भोट लगाउने बेलामा मनले खाएको व्यक्तिलाई दिने ।'
पाँचथरमा वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीले कांग्रेस, एमाओवादी, राप्रपा नेपालको कार्यक्रममा करिब दर्जन क्षेत्रमा अवरोध गरे । तर एमालेलाई चाहिँ प्रचारमा कुनै अवरोध गरेका छैनन् । पाँचथर १ का एमाले उम्मेदवार गणेश काङबाङले निर्वाचन प्रचारप्रसारका क्रममा अंगरक्षक नलिई जाँदा रहेछन् । 'माओवादी साथीहरूले सुरक्षाकर्मी नल्याउनु भन्नुभएको छ, उहाँहरूलाई सुरक्षाकर्मी देख्दा रिस उठ्छ रे,' उनले कारण खुलाए, 'त्यसकारण म कुनै पनि सुरक्षाकर्मी नलिई प्रचारप्रसारमा गएको छु ।'
यसअघि सुकिला देखिने नेताहरू मत माग्ने बेलामा चाहिँ सादा जीवनशैलीमा देखिए । मोरङ ६ का उम्मेदवार शेखर कोइराला सामान्य झोला बोकेर पसिनाले भिजेको अवस्थामा भेटिए । मधेसमा प्रयोग हुने गम्छा भिरेका उनको अनुहार पनि घामले डढेको थियो । कांग्रेस उम्मेदवार कोइराला सर्वसाधारणले प्रयोग गर्ने गोल्डस्टार जुत्तामा देखिए । एमाओवादी उम्मेदवार वर्षमान पुनको अनुहार पनि घामले कालो भएको थियो । त्यस्तै इलामका एमाले उम्मेदवार झलनाथ खनाल र सुवास नेम्वाङको जीवनशैली पनि सामान्य देखियो । दुवै नेता गाडीमा कोच्चिएर यात्रा गरेका भेटिन्थे ।


####

0 comments

Write Down Your Comment