चुनावी परिणामले ओलीको उखान सम्झायो
###

काठमाडौ, मंसिर, १० – नेकपा एमालेका नेता केपी शर्मा ओली उखान टुक्का मिसाएर भाषण गर्न खप्पिस हुनुहुन्छ । उहाँले भाषण गर्न थालेपछि आज नयाँ उखान के आउँछ भनेर धेरैले कान थापेर सुन्छन् । सुन्नेलाई रमाइलो हुनेगरी ओलीले यसैगरी उखानटुक्का पनि मिसाउनुहुन्छ ।
पहिलो संविधानसभा चुनावमा एकीकृत माओवादी पहिलो र एमाले तेस्रो शक्ति भएपछि ओलीले माओवादीलाई खहरेको भेलको संज्ञा दिनुभयो । एकीकृत माओवादीलाई लक्षित गर्दै उहाँले त्यतिबेला भनेको उखानटुक्का अहिले केही हदसम्म मेल पनि खाएको जस्तो देखिन्छ ।
अहिलेको चुनावी परिणामपछि धेरैले उबेला ओलीले भन्नुभएका उखान टुक्का सम्झन थालेका छन् । ओलीले पहिलो संविधानसभा चुनावपछि भनेका केही टुक्का यस्ता छन् :
माओवादी छातेच्याउ मात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ ।
वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो, माओवादी वनमाराको झाडी । पीपल रूख बनेपछि वनमारा आफैं खुइलिएर जान्छ (माओवादी ठूलो पार्टी भए पनि एमाले कम्युनिस्ट आन्दोलनको मूलधार रहिरहने तर्क गर्दै ।)
हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैनु (संविधानसभामा एमाले तेस्रो पार्टी भएपछि दिएको प्रतिक्रिया)
छोराको तिघ्रा बढेपनि बाबुलाई अभिभावक होइन भन्न मिल्दैन । माओवादीलाई यहाँसम्म ल्याएको एमालेले हो । उसलाई सुधार्न एमालेले गरेको आलोचनालाई विरोध नसम्झोस् । (आफूलाई माओवादीविरोधी नठान्न अनुरोध गर्दै)
झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भनिँदैन । झुसिले झुसिले हो, पुतली पुतली नै हो । हामी पुतली बनाएर छोड्छौं । पुतली बनाएपछि पुतली भनौंला । अहिले झुसिले हो माओवादी, पुतली होइन । पछि वामपन्थी बनाउँछौं भनेर उग्रवामपन्थी माओवादीलाई अहिले नै वामपन्थी भन्न मिल्दैन । जुन दिन हामी उसलाई रूपान्तरण गरेर वामपन्थी बनाउन सक्छौं, त्यही दिन वामपन्थी भनौंला । हाललाई माओवादी वामपन्थी होइन । (माओवादी वामपन्थी नभई उग्रवामपन्थी भएको तर्क गर्दै)
सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक(अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन्, जब सिनेमा सकियो केको लभ पर्नु १ हिरो एकातिर, हिरोइन अर्कैतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले( माओवादीको सम्बन्ध त्यस्तै भयो (एमाले-माओवादी सम्बन्धबारे टिप्पणी गर्दै)
माओवादीको नेतृत्वमा सरकार बनाउन साथ दियौं । सल्लाह गरेर काम गर्न सुझाव दियौं । नउफ्री, नढल्, नकुद्, जमिन हेर् भन्दाभन्दै मानेन । आफ्नै खुट्टामा अल्झेर लड्यो । (माओवादी नेतृत्वको सरकार ढलेपछि कार्यकर्ताभेलामा बोल्दै)
हावा भरिएको बेलुनजस्तो आकार मात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगद नामको छेस्कोले के घोचेको थियो फ्यास्स हावा खुस्कियो । (माओवादी आफ्नै उत्ताउलोपनले अप्ठेरोमा परेको र उसको आकार अस्थायी भएको बताउँदै)
दुई माना दूध उम्लेर एक पाथी जाने डेक्ची भरिएजस्तै हो माओवादी, दुई मानालाई एक पाथीको भ्रम परेको छ । (पहिलो संविधानसभाको चुनावपछि माओवादीले अरूलाई हरूवा भनेर अपमान गरेको बताउँदै ।)
माओवादीलाई सुधार्नु अप्ठ्यारो काम रहेछ । औषधि खुवायो, निल्दैन । एकछिन मुखैमा राख्छ, यताउति हेरेर ओकलिहाल्छ । अनि, हामी के गर्नु त ? (माओवादीलाई रूपान्तरण गर्ने एमालेको प्रयास विफल भएको बताउँदै)
माओवादीलाई (शान्ति-प्रक्रियामा) झुम्केबुलाकी दिउँला, कण्ठेतिलहरी दिउँला भनेर फकाएर ल्याएको होइन ।
अंकको कुरा नगर्ने हो भने माओवादीले प्रमुख पार्टी भनेर ङ्यार्रङुर्र गर्ने, गर्धन फुलाउने काम नगरे हुन्छ । यति जनादेश, उति जनादेश भनेको अंककै कुरा हो, दस्ताबेजको कुरा होइन । बहुमत भनेको संख्या पुर्‍याउने हो, पर्चा पुर्‍याउने होइन ।
बाह्य शक्तिका कुरा माओवादी धेरै बुझ्छन् । धेरै वर्ष बाहिर बसेर संगत गरे, हिमचिम राखे । त्यस्ता कुरा हामी कसरी बुझ्छौं (अन्य पार्टी विदेशी इसारामा चलेको माओवादी भनाइप्रति प्रतिक्रिया दिंदै)
एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला । त्यो पनि किनिदिन सकिएला । लौ अब त्यो हात्ती यो झोलामा हालिदे भनेर निहुँ खोज्यो भने के गर्ने ? मधेसको माग भनेको यस्तै हो ।
####

0 comments

Write Down Your Comment