सिस्नुपानी देउसी २०७०
###

१.भन भन नेपाली – निर्वाचन
 मधेश पहाड हिमाली – निर्वाचन
थारु बाहुन थकाली – निर्वाचन
 हामी सबै नेपाली – निर्वाचन
 दलैदलको दलदल – निर्वाचन
उम्मेद्वारको दलबल – निर्वाचन
 ढुंगा र मूढा – निर्वाचन
 फुक्लिँदैछन् घुँडा – निर्वाचन
बैद्यका गोला – निर्वाचन
 होला कि नहोला – निर्वाचन ।

 २ हाम्रो गाउँको झुसे पनि उम्मेदवार भाको छ
 चुनाव हुने खतरा बढ्दै गाको छ ।

 भोट माग्न हिँडेको पर्चा पम्प्लेट बोकेको
 बैद्यबाले समातेर झण्डै ठोकेको ।

बाटो घाटो खुला पाइयो मसाज भट्टी बन्द छन्
कुरो बुझ्दा नेताहरूले सहर छाडेछन् ।


 बुझ्यौं बल्ल देशको हालत कसले यस्तो बनायो
 नेता जब गाउँ पसे गावैं गनायो ।

 बानेश्वरको बाटो हिँड्न मान्छे पहिला डराउँथे
राति राति सभासद्का भूत कराउँथे ।

सुते होलान् भन्ठानेको लौ न फेरि जागेछन्
होक्काँ होक्काँ गर्दै ती त गाउँ लागेछन् ।

सहर छाडी साँढेहरू गाउँमा चर्न आका छन्
आफैं आफ्ना गर्धनमा माला लाका छन् ।

 जोत्ला जस्तो देखिनेलाई हरियो घाँस हाल्दिनू
 नजोत्नेलाई पुच्छरमा पुल्ठो बाल्दिनू ।


३ बोल बोल देउसे – बोल्ने हो
सत्य कुरा खोल – खोल्ने हो
कागज कसको – चाइनाको
मसी कसको – चाइनाको
स्टाप्लर कसको – चाइनाको
 आल्पिन कसको – चाइनाको
 मोटर चाहिँ कसको ? – भारतको
 पेट्रोल डिजेल – भारतको


 झोला डोरी – भारतको
 बाकस कसको – जापानको
 डटपेन कसको – जापानको
 त्रिपाल कसको – फ्रान्सको
 अनुगमन कसको – युरोपको
चुनाव खर्च कसको – यु एस को
 निर्वाचन कसको – चुप चुप चुप
आयोग कसको – चुप चुप चुप
उम्मेदवार कसको – चुप चुप चुप
हामी कसको – चुप चुप चुप ।


 ४. हाम्रा सुशिल दादाको दारी मात्रै गालो खोई ?
हेल्लो दिल्ली ! प्रधानमन्त्री खाने पालो खोई ?

 एमाले र काँग्रेसको देखेकै हो ह्याऊ
 बैद्यबालाई उचालेर खाने यिनको दाऊ ।

 मुखले एक मधेश, नेतैपिच्छे प्रदेश
 आफैं धामी आफैं झाँक्री कठै मधेश ।

 प्रचण्डका परिवारै निर्वाचनमा जुट्या छन्
बाबु, छोरी, भाइ, बुहारी सबै उठ्या छन् ।

 महंगीको खिलमाथि खिलखिल गर्छन् खिलराज
दुइटा मोटर एउटै ड्राइभर हाँसे जेमराज ।

 राष्ट्रपति यो देउसीको विषय नै बनेनन्
 किनभने उनले कुनै बाटो खनेनन् ।

 राहत बाँड्न खोज्नेलाई हाल्छौं भन्छन् कारागार
 लुटेरा र हत्यारा चाहिँ तिनका उम्मेदबार ।

 पोलौंपोलौं साथी हो मोटर पोली के हुन्छ ?
 एउटा पोल्यो दिल्लीले अर्को दिहाल्छ ।

 मुक्ति ल्याउने सपना थ्यो सिपाही भए लडाकू
नाइके चाहिँ ट्वार्र ट्वार्र तान्छन् तमाखू ।

 लुलाबुढा बाङ्गाटिङ्गा देशमै नेता छान्दैछौं
युवा जति भोटको साटो भिसा हान्दैछौँ ।

 दुगड खेतान गोयन्का मित्तल र मुडबरी
नेपालका दलित पिडित गोल्छा चौधरी ।


 ५.सुन जनता प्रस्ट हो – लोकमान सिं
सुनसुन भ्रष्ट हो – लोकमान सिं
सुनसुन इष्ट हो – लोकमान सिं
सुनसुन दुष्ट हो – लोकमान सिं
शीर्षस्थको शिरबाट – लोकमान सिं
राजतन्त्रको भीरबाट – लोकमान सिं
 तस्करीको तुनाबाट – लोकमान सिं
क्रान्तिकारी कुनाबाट – लोकमान सिं
खरदारसुब्बा समाउलान्- लोकमान सिं
 खुट्टा धुन लगाउलान् – लोकमान सिं
 भ्रष्टाचार नियन्त्रण – स्यालको सिङ्
 सुशासन र सदाचार – स्यालको सिङ् ।

 ६. बिद्युतका सबै हाकिम अख्तियारको फन्दामा
 कुरो नमिलेर हो कि खाने धन्दामा ?

 कल्ले फोन गर्‍यो भनी तीन कल गर्दा चिनिन्छ
 त्यसैले त टेलिकमको सीम किनिन्छ ।

 उपहारको लोभले एनसेल सिम ल्याइयो
 एन सेल माने नेपाल सेल बल्ल चाल पाइयो ।

 फुस्स फुस्स हावा हान्छ खानेपानी धाराले
 बन्छ बन्छ नयाँ नेपाल यस्तै पाराले ।
 हामी पनि दिइरहन्छौं सरकार पनि दिइरहन्छ
आयल निगम घाटासँगै बोनस खाइरहन्छ ।

 ७. भोट माग नेता हो – भोट माग
जोडेर हात – भोट मा
ग ढोगेर खुट्टा – भोट माग
 बोकेर मल – भोट माग
 सोहोरेर ढल – भोट माग
 मकै छोडाई – भोट माग
 पछ्यौरी ओडाई – भोट माग
 दाँतै ङिच्याई – भोट माग
लाजै पचाई – भोट माग
चिल्लो लगाई – भोट माग
 डराई डराई – भोट माग
रोई कराई – भोट माग
 जालैमा फँसाई – भोट माग
काखैमा बसाई – भोट माग ।

 ८.कृषि प्रधान देशमा किन बोक्ने कोदालो
 कोदालोको बिँड हाली झण्डा उचालो ।

 तरकारीको उपचार इन्जेक्शनले गरिन्छ
नखाउँ भोकै परिन्छ, खाँदा मरिन्छ ।


 धन हुनेलाई होइन छोरी प्याज हुनेलाई दिने हो
 ज्वाईंका लागि आलुको सिक्री किने भो ।

 सरकारले ठूलो बजेट मास्टरमाथि खन्याउँछ
मास्टर भने नेताजीको लुतो कन्याउँछ ।

 विदेश जाने चेली हो तिहारमा फिर्नू है
 एयरपोर्टमा रक्षा गर्लान् होश गर्नू है ।
 अधिकारी दम्पतिलाई कसले कठै भन्ने हो
 पाप छोप्ने निरुपण आयोग कहिले बन्ने हो ।

 नेता भने खोकी लाग्दा सिंगापुर र्झदछन्
डाक्टर चित्र उपचारै नपाई मर्दछन् ।
 कस्तो समाज कस्तो देश क्या गजबको चाला
जेलबाट भ्रष्ट छुट्दा एक क्विन्टल माला ।

 ९. ए दिँदैछौं आषिश – गनेर
सबैले जितून – भनेर
सहरको स्याल – गाउँ पसोस्
 मृतकका नाउँमा – मत खसोस्
सडकमा खाल्टा – खुल्टी होस्
आश्वासन सुन्दा – उल्टी होस्
 ढाडेले बजेट – नचाटोस्
 नेताले बाटो – नकाटोस्
जग्गा दलाल अब – नजागून
 बैंकका साहू विदेश – नभागून
 दान पुण्य गर्न – धन नहोस्
कसरत गर्न – मन नेहोस्
सुगर सधैं – बढ्दो होस्
प्रेसर अझै – चढ्दो होस्
 सम्विधान छिटो – लेखियोस्
 उज्यालो नेपाल – देखियोस्
भ्रष्टका मनमा – भय होस्
नेपाली जनताको – जय होस् ।।

 सयौं थुँगा फूलका हामी एउटै माला नेपाली माला चुडाउनेका गाला चड्काऊ नेपाली ।



####

0 comments

Write Down Your Comment