सन् २०१३ मा युएईमा ७० नेपालीको मृत्यु
###

आबुधावी, माघ १४ – प्रमुख रोजगार गन्तब्य संयुक्त अरब एमिरेट्स युएईमा सन् २०१३ मा ७० जना नेपाली कामदारको ज्यान गएको छ ।
यो संख्या अघिल्लो वर्ष सन् २०१२ मा भन्दा १३ जना बढी रहेको अबुधावीमा रहेको नेपाली नियोगले जनाएको छ । ज्यान जाने कारणमा सबैभन्दा बढी ‘सडेन कार्डियक एरेस्ट’ अर्थात सुतेको बेलामा ज्यान जानु र सडक दुर्घटना रहेको छ ।

त्यसैगरी कार्यस्थलमा दुर्घटना, मस्तिष्क पक्षघात, आत्महत्या र प्राकृतिक मृत्यु पनि रहेको छ । सन् २०१३ मा ३८ जनाको सुतेको बेला, २३ जनाको सडक दुर्घटना ज्यान गएको थियो भने ९ जनाले आत्महत्या गरेका थिए । ज्यान गुमाउनेमा ५ जना महिला र ६५ जना पुरुष रहेका छन् ।
सन् २०१० मा ८८ र सन् २०११ मा ६७ जनाको ज्यान गएपनि यो संख्या सन् २०१२ मा घटेर ५७ जना भएको थियो । तर सन् २०१३ मा फेरि बढेको हो ।  सन् २०१३ को नयाँ बर्षको पहिलो दुई दिनमै ३ जना नेपालीले ज्यान गुमाएका थिए ।
नेपाली दुतावासको तथ्याङ्क अनुसार धेरै नेपालीको मृत्यु हुने महिना जुन हो । गएको वर्ष जुनको दोस्रो हप्ता ६ जनाको मृत्यु भएको थियो । यो महिनामा अत्यधिक गर्मी हुने भएकाले धेरै नेपालीको सुतेकै ठाउँमा ज्यान जाने गरेको दुतावासको भनाई छ ।
पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढ्न थालेको भन्दै नेपाली कामदारसँग सरोकार राख्ने संघसंस्था चिन्तित छन् । साढे ३ वर्षको अबधिमा ९० भन्दा धेरै नेपालीले युएईमा आत्महत्या गरिसकेको नेपाली दुतावासले जनाएको छ । सन २००४ देखि २०१३ सम्ममा युएईमा ६ सय २२  जना नेपालीले ज्यान गुमाइ सकेका छन् ।

४ लाख भन्दा बढी नेपाली कार्यरत युएईमा रोजगारीका लागि आउने नेपालीको संख्या अझै बढ्दै छ । ‘युएईमा नेपालीको मृत्यु व्रmमिक रूपमा घट्दै गएपनि अपेक्षित रुपमा घट्न सकेको छैन’ नेपाली दुतावास युएईकी श्रम सहचारी हिरा पौडेलले भन्नुभयो ।
####

0 comments

Write Down Your Comment