मलेसियामा अलपत्र नेपालीलाई घर फर्काउन कुटनीतिक दबाव
###
|
राजदूत भन्छन्- कर्मचारी अभावले सेवा दिन सकिएन
१९ माघ, क्वालालम्पुर । आममाफी प्रक्रिया पूरा गरी यात्रा अनुमतिपत्र लिएर झण्डै दुई महिनादेखि मलेसियामा अलपत्र परेका नेपाली कामदारलाई तत्काल स्वदेश फर्काइदिन नेपालले कुटनीतिक पहल थालेको छ । मलेसियन सरकारले अबैधानिक बनेका नेपाली कामदारहरुलाई धरपकड गर्दै जेलमा हाल्न थालेपछि उनीहरुलाई स्वदेश फर्काउन सरकारले कुटनीतिक पहल थालेको हो । पछिल्लोपटक ट्राभल डकुमेन्ट लिएका करिव साढे ७ हजार नेपाली अहिले घर फर्किने प्रतिक्षामा मलेसियामै दिन बिताइरहेका छन् । ट्राभल डकुमेन्ट लिएकालाई एक साताभित्रै घर फर्किन दिने भनिए पनि दुई महिनासम्म कुर्नुपर्दा नेपाली कामदारहरु बेखर्ची बनेका छन् । उनीहरुको अवस्था शरणार्थीको जस्तै बनेको छ । ‘
अवैधानिक कामदारलाई एक साताभित्र स्वदेश फर्कादिने भने पनि अहिलेसम्म घर फर्किन दिइएको छैन ।’ राजदूत बस्न्यातले भने-’पटक-पटक आग्रह गर्दा पनि हाम्रो सुनुवाइ भएको छैन, अब राजदूतको हैसियतमा गृहमन्त्रीलाई चिठी लेखेर ट्राभल डकुमेन्ट लिएका नेपालीलाई बिना रोकतोक घर फर्किन दिन आग्रह गर्छु ।’ पहिले ६ हजारले ट्राभल डकुमेन्ट लिएकोमा ५ हजार घर फर्किन पाएका थिएनन् । पछिल्लो सातामात्रै करिव २ हजार तीन सय नयाँ कामदारले ट्राभल डकुमेन्ट लिएका छन् । सेप्टेम्बर २०१३ देखि २१ जनवरी २०१४ सम्म भएको पछिल्लो धरपकडमा ३ सय २९ जना नेपालीलाई जेलमा हालिएको छ । उनीहरुमध्ये केही अपराधिक क्रियाकलापमा संलग्न थिए होलान्, अधिकांश निर्दोष हुँदा-हुँदै पनि जेलमा हालियो’ राजदूत बस्नेतले मलेसिया भ्रमणमा आएका पत्रकारहरुसँग गुनासो गरे । सामान्य अवस्थामा पक्राउमा परेका उनीहरुलाई मलेसियाका विभिन्न १५ क्याम्पमा राखिएको छ । ‘हाम्रो पहिलो प्राथमिकता ट्राभल डकुमेन्ट लिएका कामदारलाई तत्काल स्वदेश फर्काइहाल्ने हुनेछ भने दोस्रोमा जेलमा परेकालाई बाहिर निकाली उनीहरुको ट्राभल डकुमेन्ट बनाइदिएर स्वदेश पठाउने हुनेछ’ राजदूत बस्न्यातले भने- ‘अहिले जेल जीवन बिताउनेहरुको अवस्था अत्यन्त दयनीय रहेको खबर सुन्नमा आएको छ ।’ नेपाली राजदूतावासले ट्राभल डकुमेन्ट लिएकाहरुलाई सहज रुपमा घर फर्किन दिन, जेलमा राम्रो व्यवहार गर्न लिखित तथा मौखिक आग्रह गर्दा पनि मलेसियाको कुनै पनि निकायले सुनुवाइ नगरेको राजदूत बस्न्यातको गुनासो थियो । राजदूत बस्न्यातका अनुसार जेलमा रहेकाहरुमध्ये अधिकांशको स्वास्थ्य अवस्था बिगि्रएको छ ।
त्यहाँ खाने बस्ने ठाउँ अत्यन्त फोहोर हुनुका साथै साँघुरो छ । एउटै ट्वाइलेट २० जनासम्मले प्रयोग गर्नु परेको छ । नुहाउनसमेत नदिँदा छालासम्बन्धी रोगले समात्न थालेको छ । सामान्य कारणमा समातिएको भए पनि जेलमा अपराधीलाई जस्तो व्यवहार गरिएको छ । मलेसियन सरकारले पक्राउ परेका अवैधानिक कामदारलाई आवश्यक छानबिन गरी निर्दोष अवस्थामा भेटिए ७ दिनभित्र स्वदेश पठाउने भने पनि १२ दिन बितिसक्दासमेत कुनै खबर नआएको राजदूत बस्नेतले बताए ।
दूतावासमा कर्मचारी अभाव
दूतावासमा प्रयाप्त कर्मचारी नहुँदा जेलमा परेकाहरुलाई छुटाउने पहल गर्नसमेत नभ्याएको राजदूत बस्न्यातको भनाइ छ । ‘दूतावासमा ड्राइभर र पिउनसमेत गरी जम्मा १२ जना कर्मचारी छौं, सबै कर्मचारीलाई दूतावासकै दैनिक कामबाट फुर्सद मिल्दैन, कसरी सबै समस्या समधान गर्न भ्याउने ?’ उनले प्रश्न गरे-’समस्यामा परेका नेपालीका सहजताका लागि हामीले अहिले राति पनि काम गरिरहेका छौं ।’
कामदारहरुको भीड लागेपछि कर्मचारीहरुले हप्तामा ८४ घण्टा काम गर्दा पनि भ्याउन नसकेको उनले बताए । नेपाली कामदारलाई मुक्ति दिन सक्ने अवस्था रहे पनि कर्मचारीको अभावमा अपेक्षित काम गर्न नसकेको उनको गुनासो थियो ।
अवैधानिक हुने बाध्यता
‘कम्पनीहरुले यो मान्छेलाई मैले यति रिंगेट तिरेर ल्याएको हुँ, यस्ले त्यो पैसा फिर्ता गरेमात्र पासपोर्ट फिर्ता दिन्छु भनेर भन्छन्’ राजदूत बस्नेतले भने- ‘पासपोर्ट नपाएपछि उनीहरु स्वतः अवैधानिक हुने भए ।’ मलेसियामा भिषा क्यान्सिल गर्न पनि मालिकको स्वीकृति चाहिने वाध्यात्मक अवस्था रहेको उनको भनाइ थियो । कामदारले विभिन्न कारणले कम्पनी छाडेको हुन्छ ।
नेपालबाट यति तलब र यो-यो सुविधा पाइन्छ भनेर ल्याए पनि सोहीअनुरुपको तलब सुविधा नपाउनु, ८ घण्टा काम गर्ने भनेकामा १२ घण्टा काममा लगाउनु र ओभरटाइम समेत नदिनु, उनीहरुलाई राख्ने होस्टेल मान्छे बस्न लायक नहुनु, १५/२० जनासम्म एउटै कोठामा बस्नुपर्ने, ट्वाइलेटको सहज सुविधाहरु नहुनुजस्ता कारणले कम्पनी छाड्ने गरेको राजदूतको भनाइ थियो ।
क्वालालम्पुर बाहिर बस्नेहरु मर्कामा
क्वालालम्पुरमा काम गर्नेहरुले राजदूतावासको सुविधा उपयोग गर्न पाएपनि बाहिर काम गर्नेहरु सुविधाबाट वञ्चित हुन पुगेका छन् । अवैधानिक भएपछि समातिने डरले उनीहरु दूतावाससम्म पुग्न नसकेपछि मर्कामा परेका हुन् । ‘बाहिर रहेकाहरु बाटोमा पुलिसले समात्छ भनेर दूतावास आउन भन्दा लुकेर बस्न चाहान्छन् ।’ राजदूत बस्नेतले भने- ‘उनीहरुलाई सेवा दिन हामीले सकेका छैनौं ।’ दूतावासमा भएको कर्मचारीको खडेरीले गर्दा मोवाइल सेवा पुर्याउने इच्छा हुँदा-हुँदै पुर्याउन नसकेको उनको भनाइ थियो । दूतावासलाई क्वालालम्पुर क्षेत्रमा बस्ने नेपालीहरुलाई समेत सहज सुविधा दिन सकेको छैन । उनका अनुसार अहिले पिनाङमा एक लाख र जोहारवारमा २ लाख नेपालीहरु कार्यरत रहेका छन् ।
पुलिसबाट लुटिन्छन्
मलेसियाका पुलिस तथा इमिग्रेसनका कर्मचारीहरुले समेत अबैधानिक बनेका कामदारलाई लुट्ने गरेको भेटिएको छ । उनीहरुले गोजीबाट पैसा लुटिदिने, मोबाइल खोसीदिने गरेपछि कामदारहरु अहिले खानसमेत नपाएर भौंतारिरहेको एक पीडितले बताए । अहिले मलेसियामा वैधानिक तथा अवैधानिक गरेर करिव ८ लाख नेपाली कार्यरत छन् ।
जसमध्ये ४० हजारको हाराहारीमा अवैधानिक नेपाली कामदार रहेको दूतावासको अनुमान छ । मलेसियामा अहिले इन्डोनेशिया, बंगलादेश, नेपाललगायतका १४ मुलुकबाट कामदारहरु आउने गरेका छन् । नेपाली कामदारमात्र नभई अन्य देशका कामदार पनि धरपकडमा पर्ने गरेका छन् । पछिल्लो समय मलेसियाले यहाँ ३ कम्पनीहरुलाई भाडामा लिएर अवैधानिक रुपमा बसेका विदेशी कामदारलाई स्वदेश फर्काउने काम गर्न लागेको राजदूत बस्नेतले बताए । ‘मलाई तीन कम्पनीमार्फत अबैध कर्मचारी फिर्ता पठाउन मलेसियाले सुरु गर्न लागेको सुन्नमा आएको छ’ उनले भने- ‘यो काम सुरु भएको रहेछ भने विदेशी कमदारहरुले ठूलो राहत पाउनेछन् ।
####
.jpg)





0 comments
Write Down Your Comment