###
|
म अहिले अमेरिकन राजदुतावास भन्दा ठ्याक्कै पछाडि मेरी जेठानी दिदीकोमा शरण लिएर बसेकी छु । काठमाडौं छाडें भने म बाँच्दिन पनि । दिनको एक सिलिन्डर हाराहारी अक्सिजन लाग्छ । नत्थि लाएजस्तो पाईपबाट अक्सिजन लगाएकी छु नाकमा । ट्वाईलेट–बाथरुमजाँदा एकछिन फूकाल्दा पनि हात–शरीर कालो भै जान्छ । टाउको टन्न गर्छ, जीउ फत्रयाक–फुत्रुक्क गल्छ आँखा देख्न छोडिन्छ । अनि हतार–हतार अक्सिजन जोडेपछि फेरी सबै ठिक हुन्छ । मैले मेरा परिवार सबैलाई सताएकी छु । बेला–बेला अक्सिजनको कमिले शरीरका अन्य अंगमा असर पर्दोरहेछ, अनि अस्पतालको बासले पुरै परिवार रोगी भएको देखेकी छु । भक्कानो फुट्छ । आफैंदेखि रिस उठ्छ तर के गरौं, निरिह छु ।
मेरो १६ वर्षमा बिहे गर्दिए । त्यसपछि बाँदर लखेटेर, घाँस, दाउरा गरेर, चुलोचौको–मेलापात गरेरै विते सबै दिन । छोराछोरी पाउने मन थिएन तर आईमाईको के लाग्दो रहेछ र ! एकपछि अर्को गर्दै चार सन्तान भए २६ वर्षकी म हुँदा नहँुदै । खान पुगेन । लाउन पुगेन । जसोतसो जीवन धानियो । संयुक्त परिवार थियो । टाठा–वाठाहरु शहर लागे । प्रगती गरे । मेरो परिवार गाँउको—गाँउ रहयो । खरको छानो फेर्न नसक्दा मन कुँडिन्थ्यो । पक्की चर्पी हामीले अहिलेसम्म बनाउन सकेनौं ।
छोराछोरीलाई पुलिस्टरका सर्ट र हात्ती छाप चप्पलले टारियो । बाँदरको मुखबाट जोगाएर मकै बेचेर यो सब गरिन्थ्यो । छोराहरु सबैलाई पढाएँ । सकेको सबै पैसा दिएँ । नभए खोजेर पनि दिएँ । अहिले तिनै छोराहरुले मलाई अक्सिजन खेप्छन सिलिण्डरका सिलिण्डर ! र म बाँचेकी छु भनौं ।
पहिल्यै देखि अलि–अलि खोकी लागि रहन्थ्यो । त्यो रोकिएन काठमाडौं नजिकै भएपनि मेरा लागि यो अत्यन्तै विरानो ठाउँ थियो । अस्पताल जाने आँट त के सोच्न सम्म पनि आँट आएन । टारियो निरन्तर । पुरापुर समय खोकेर बसें । बरु कामको चाप कहिल्यै घटेन । रुँदै बसें । भाग्यलाई दोष दिएर । कुनै दिन त पक्कै सुःख पाईएला, आराम होला, सुबिधा होला भन्दै ! तर अहँ जीवन त्यस्तो कहिल्यै भएन । ‘जहाँहोचो त्यहिं घोंचो’ भन्थे बुढापाका मलाई आजसम्म त्यस्तै परिरहेछ । कान्छो छोरो विएससी पढ्दैछ । जेठोले भर्खरै पिएचडी सकें ममी भन्छ । अरु दुइटैले राम्रै पढदैछन् । रुन मन लाग्छ उनीहरुलाई देख्दा ! बरु आफैले सताइरहेकी छु । अझै कत्ति प्रगति गर्थे भन्यो तर कहाँहुने रहेछ र ।
म अहिले २४ घण्टा अक्सिजन लिएर बाँचेकी छु । उमेर मेरो ४५ वर्ष छ । फोक्सोले लगभग–लगभग काम गर्न छाडेको जानकारी डाक्टरले दिएपछि खंग्रङ भएकी हुँ । काल त्यति सहज कहाँ रहेछ र ! जीवनभर साकाहारी रहेकी मैले धुम्रपान, मध्यपान कहिल्यै गरिन । उ वेला छोरीलाई पढ्न पठाए पोईल जान्छे भनेर मेरो वा–आमाले मलाई स्कूल जान दिनु भएन । एक दिन लुकिछिपी भागेर ब्राह्रखरी पढ्न स्कुल पुग्न के लागेकी थिएँ । ठूल्दाईले सिम्किनाले पिट्दै पिट्दै, लछार्दै–पछार्दै घर फिर्ता लानु भयो । त्यसदिन देखि स्कूल भनेपछि थुर–थुर भइयो । गोठालो जाँदा अरुले पढेको हेरेर अलि–अलि सिकेको अहिले तपाईलाई पत्र लेख्दा कनि कुथी काम लाग्यो । खुशी लाग्छ ।
चार वर्ष भयो यसरी २४ घण्टै अक्सिजन लाएर बसेको । बस्न पनि दिक्क लाग्छ । मासु सबै मरेर आईसक्यो । झरी–बादल लाग्छ । हुरी बतास चल्छ । अक्सिजन मोटरसाईकलमा ल्याउनु पर्छ, बाटो यस्तो भद्रगोल छ काठमाण्डौंको ! कुनदिन मेरो निहुँले अरुको पनि ज्यान जाने हो भन्ने पिर लाग्छ नि । कस्ति अभागीनि रहेछु, सबैलाई दुःख दिने झैं लागिरहन्छ सधैं । गाँउ जाउँ न त भन्यो भने अक्सिजन यहाँबाट खेप्दा पैसाले धान्नै सकिन्न । पैसा भए पनि अक्सिजन सिलिण्डर लान–ल्याउन मुस्किल पर्छ । किनकी एउटै सिलिण्डर ३० किलो भन्दा बढी हुन्छ । पुग्ने मुस्किलले एक दिनमात्रै हो फेरी, एउटा सिलिण्डरले ।
मैले यो पत्रमा यत्रो बिधि आँसु पोखेको मलाई आर्थीक सहयोग गर्नुहोस, सरकारले मलाई पैसा देओस भनेर होईन । मलाई मेरा छोराहरुले पु¥याएका छन् । बरु यत्रो बिधि पिडाहरु भोगेपछि मेरा आँखा खुलेका छन् । किन म जस्तै हालतमा बाँचेकाहरुका लागि केही नगर्ने ? किन यसका लागि नबाँच्ने ? मेरा बा–आमाले मलाई विहेमा दिएका गहना यहि कामको लागि खर्च होस भनेर चाहेकी थिएँ । छोराहरुलाई भनिसकेकी छु । म सँग भएको यति छ । अहिले म जस्तै २४ घण्टा कृतिम अक्सिजनका भरमा बाँचेकाहरु मिलेर एउटा समूह बनाएका छौं । एक आपसमा पिडा साट्न पाईयोस । सबैले–सबैलाई बुझ्न पाईयोस भनेर । मेरा अनुमानमा नेपालभरी अहिले एक हजार हाराहारीले यसरी कृतिम अक्सिजन लगाएर बाँचेका छन् । उनीहरु सबैमाझ पुग्न हामीलाई सरकारले सघाओस भन्ने मेरो इच्छा हो । सके देशभरका सबैलाई निःशुल्क अक्शिजन उपलब्ध होस् किनकी मेरा जतिका सन्तान सबैका नहुन सक्छन् । हामीलाई गाँस, बास र कपास भन्दा पनि अक्शिजन आधारभूत आवश्यकता हो ।
####
.jpg)




0 comments
Write Down Your Comment