७२ वर्षीय छविलाल भन्छन्, ‘मैले हत्या गरेको होइन, तथ्य बुझ्न फुजेल जाऊ’
###

 ‘एक बर्षलाई सोच्ने हो भने अन्नबाली लगाऊ ,सय बर्षलाई सोच्ने हो भने रुख रोप र त्यो भन्दा बढि सोच्छौं भने शिक्षामा लगानी गर ।’ निकै मर्मभेदी यो चिनियाँ उखानले गहिरो प्रभाव पारेको छ । मेरा पिताजीले कहिलेकांही उपनिषदलाई उल्लेख गदै भन्नुहुन्थ्यो ‘शुद्ध आहार खायो भने बुद्धि, विवेक शुद्ध हुन्छ । बुद्धि, विवेक शुद्ध भयो भने स्मृति,काम वा ध्यान शुद्ध हुन्छ ।’ सायद त्यही भएर नै होला मानिस चौरासी व्यञ्जना ग्रहण गरेपछि शौच गर्दा उसले प्रायश्चित गर्दैन चर्पीजानु परेकोमा । यीनै उदाहरणबाट झुटो बोल्न हुदैन,चोरी गर्नु हुदैन र अर्काको सम्पत्तिमा लोभ गर्न हुदैन भनेर दीक्षित भएको थिएं । ,जीवनमा कहिल्यै पनि कमिलाको समेत हत्या गर्न हुदैन भनेर लागियो । त्यसैले त सधै सत्यको पक्षमा उभिएं । वास्तवमा यी नै उक्ति र प्रयासलाई जीवनका मुलमन्त्र बनाउने प्रयास गरे । आज ७२ बर्षको उमेरमा पनि त्यही मुलमन्त्रलाई आत्मसात गर्ने प्रयास गरिरहेको छु ।

तर, विधिको विडम्बना भनौं या परिस्थितिको उपज जीवनको उत्तर्राधमा अनाहकमा हत्या अभियोग खेप्नुपरेको छ । गोरखाको फुजेल गाविसका कृष्णप्रसाद अधिकारीको हत्यामा म लगायत ११ जनालाई अभियोग लगाईएको छ । ६ दिन पहिलादेखि मलाई र मेरो भतिजलाई नेपाल प्रहरीले हिरासतमा लिएको छ । जीवनका ७२ वसन्तसम्म किरा पनि मार्नुहुदैन भनेर दीक्षित भएर आएको व्यक्तिलाई यस्तो संगीन आरोप लगाइएको छ । फुजेल गाविसलाई शिक्षाको उज्यालो प्रकाश छर्ने अभियानमा लागे । विकास अभियानमा जोडिए । तर, अधिकारीका दाजु नुरुप्रसाद अधिकारी र केही मानवअधिकारकर्मीले २०६१ सालको उक्त हत्याकाण्डमा संलग्नता रहेको भन्दै निरन्तर प्रहार गइरहेका छन । विगत झन्डै दुई बर्षदेखि निरन्तर २०६१ जेठ २४ गते चितवनमा हत्या गरिएको भनिएका कृष्णप्रसाद अधिकारीको हत्या संग कुनैपनि सम्बन्ध नभएको व्यक्तिलाई दोषी किटान गर्ने काम भइरहेको छ ।

 यसले मेरो समाजिक जीवनमा गम्भीर आघात पु¥याएको छ । घटनामा संलग्न नभएका व्यक्तिलाई किन र केका लागि अधिकारी परिवार र उनका समर्थकहरु सार्वजनिक जीवन ध्वस्त बनाउने कार्यमा संलग्न छन ? तथ्यसहित सार्वजनिक होस् भन्ने अपेक्षा छ । अधिकारीको हत्यामा खुसी हुन सक्ने र हत्या जायज ठान्ने कुरा नै होइन । माओवादी जनयुद्धका बेलामा केही निर्दोष, निरापराध व्यक्तिको हत्या भएन भन्न सकिदैन तर फुजेलको काण्डमा जसरी म लगायत ११ जना माथि जुन आक्षेप लगाउने काम भएको छ यो घोर आपत्तिजनक छ । व्यक्तिगत रिसिवी या कुनै कारणले हामी निर्दोष व्यक्तिलाई हत्यारा किटान गर्ने प्रयास भइरहेको छ । वास्तवमा यो दुश्प्रयास पनि हत्या रहको अपराध नै भन्ने ठानेका छु । कुनै पार्टीसंग वैचारिक निटकता वा राजनीतिक आस्था रहदैमा हत्यामाा संलग्न भनेर किन प्रचार गरिएको छ ? यसको जवाफ पनि चाहिएको छ यतिबेला हामीलाई यस गलत प्रचारले नैतिक र मानसिक रुपमा दर्जनौपटक हत्या गरेको छ । अधिकारी परिवारले हाम्रो जीवन र चरित्रलाई पटकपटक यसरी नै हत्या गरिरहेको छन । वास्तवमा भौतिक मृत्युसंग तुलना हुन नसक्ने गरी सार्वजनिक जीवनको हत्या भइरहेको छ ।

विद्धान विलियम आर्थरको एउटा भनाई निकै मननयोग्य छ । आर्थरले भनेका थिए एउटा उद्धरणमा कि, ‘एकजना साधारण शिक्षकले विषयबस्तु भन्छ । राम्रो शिक्षकले विषयवस्तुको व्याख्या पनि गर्छ । उत्तम शिक्षकले केही गरेर देखाउछ र सर्वोत्कृट शिक्षकले आफै केही भएर देखाउछ ।’ अर्थात तर्पाइ,हामीले समाजलाई आफै केही भएर देखाउने कि नदेखाउने ? भन्ने प्रश्न मेरो मनमा पहिलादेखि नै उठेको हो । त्यही अभियानमा जोडिएको पनि हो । जसले गर्दा आज फुजेल गा. वि. स शिक्षाको क्षेत्रमा गोरखामानै अग्रणी गाविसमा पर्छ । गाउले सबैको साथ ,सहयोग र अभियानले यस्तो सौभाग्य पाएका हौ ा हामी समाजकै संस्कृतिबाट हुर्किएको हुनाले हामी कति इमान्दार र सर्वोत्कृष्ट हुने प्रयत्न गर्छौ त्यसमा धेरै कुरा भर पर्दछ । गाउंलाई गतिशिल बनाउने,संस्कारयोग्य बनाउने कुरा पनि हाम्रै पाखुरीमा छ । त्यही सोचेर म जीवनको आरम्भबाट नै शिक्षण पेशामा लागेको थिएं । अर्थात २०२५ सालदेखि निरन्तर २०७० सालसम्म त्यही फुजेलको समाजसेवा र शिक्षाको उज्यालो छर्ने काममा सक्रिय रहि रहे“ । २०२५ सालमा श्री वाराणसेय, संस्कृत विश्वविद्यालयबाट सम्बन्धनप्राप्त हरिद्धारबाट उत्तरमध्पया उतीर्ण गरी शास्त्रीमा पढ्न थालेको थिएं । त्यसैबर्ष दशैं मान्न घरमा आएपछि फुजेलका जनता र मेरा पुज्य पिताजीको आग्रहमा विद्यालयको प्रधानध्यापक पदमा रहेर पठनपाठन गर्न थालेको थिय ।

 विद्यालयको नाम त्यहीबेला भैरवाश्रमबाट प्रचलित भयो । त्यतिबेला विद्यालयमा सरकारी नियम संगतको पढाइ थिएन । अर्थात कानुनी रुपमा मान्यताप्राप्त थिएन । म प्रअ भएपछि जिल्ला शिक्षा कार्यलय गोरखामा गएर नियम संगत ढंगले अनुमति लिने काम भयो । मेरा विशेष आग्रह अनुसार २०२६ सालमा वडा न ५ मा सबै जनता र वडा नम्बर ६ का केही जनता मिलेर एउटा ६ कोठे भवन बनाउने र त्यो भवन जस्ताले छाउने निर्णय भयो । त्यतिबेला हाम्रो वडा नम्बर ५ को दुम दुम पाताल वनबाट पुराना रुखका काठ काटेर ल्याइयो । छाना छाउनका लािग तत्कालीन प्रधानपञ्च चन्द्रप्रसाद पन्त र सञ्चालक समिति अध्यक्ष र्काखर पन्त वडा अध्यक्ष डिल्लीराम न्यौपाने,सञ्चालक सदस्य मोतीलाल न्यौपाने गाउं पञ्चायतका सचिव नन्दलाल देवकोटा आदिको सक्रियतामा १ सयदेखि ५ हजार २५ रुपैयासम्म चन्दा संकलन गरेर काठमाडौबाट जस्तापाता खरिद गरी ल्याईयो र ६ कोठे भवन पुरा गर्ने काम भयो । त्यसताका जस्ताले छाना छाउने चलन थिए । त्यो निकै गौरवको कुरा थियो । २०२५ सालदेखि २०३० सालसम्म स्वयमसेवकका रुपमा प्रअ त थिए तर निशुल्क पढाएं । २०३० सालमा गोरखामा नयां शिक्षा लागु भयो । मलाई अर्को विद्यालयमा सरुवा गरयो । त्यसपछि मात्रै सरकारी तलब पाउन थालेको थिए ।

त्यही मितिमा विद्यालयले स्थायी स्वीकृति पाइयो । एक कक्षादेखि ३ कक्षासम्म प्रावि स्तरको स्थायी स्वीकृति थियो त्यो । एक कक्षा बराबर एक शिक्षक हुने व्यवस्था थियो त्यतिबेला । २०३२ सालमा ४ हजार ५ सय रुपैया धरौटी राखी निमावि बनाउने काम गरियो । त्यहीबेला नापीसमेत भयो । २४ रोपनी ४ आना जग्गा विद्यालयका नाममा नापी भयो र, अहिलेसम्म छ स्कूलको नाममा उक्त जग्गा । यो विद्यालयलाई २०४४ सालमा मावि बनाईयो । केही कर्मठ साथीहरुले एक हजारका दरले रकम उठाएर मावि चलाउने काम गरियो । यति गर्दासम्म म प्रअ नै थिए । मैंले २०५६ सालमा शिक्षकबाट राजीनामा दिएको हो । त्यसपछि म विद्यालय व्यवस्थापना समितिमा रहेर काम गरें । त्यही जिम्मेवारीबाट २०६५ सालबाट उच्चमावि बनाईयो । जीवनको आरम्भदेखि अहिलेसम्म फुजेलकै विकासका लागि जीवन अर्पण गरियो । वर्तमान शिक्षक अभिभावक संघको सदस्य, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, २०५५ देखि २०६१ सम्म र २०६६ देखि २०६९ सम्म पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षकै जिम्मेवारीमा रहेर काम गरिरहेको छु । मलाई चिन्ने र जान्ने सबैजनाले अधिकारी हत्यामा संलग्न हो कि होइन भन्ने राम्रैसंग बुझेका छन । तथ्य बुझन् फुजेलमा गएर जो कसैलाई सोधे पनि हुन्छ । तर,पनि ममाथि किन यसरी निरन्तर प्रहार भइरहेको छ ? मलाई हेक्का छ ढिलै भएपनि एकदिन सत्यकै जीत हुनेछ ।
####

0 comments

Write Down Your Comment