चरम लापर्बाहीको अर्को नमुना
###
|
लोकगायनको क्षेत्रमा श्रोतामाझ छवि उजिल्याउँदै गरेकी होनहार गायिका मञ्जु महतको अकल्पनीय मृत्युले हामी सबैलाई दु:खी तुल्याएको छ। ज्यानको धरौटी राखेर यातायातका साधन चढ्नु र चलाउनुपर्ने यो नियति कहिलेसम्म हो? यस विषयमा सरोकारवालालाई चासो र चिन्ता भयो कि भएन होला? प्रश्नका अनगिन्ती सिलसिला यतिबेला हरेकका मनमा सल्बलाइरहेका छन्।
डेढ वर्षे बालकले आमाको वात्सल्य र स्तन चुस्न नपाएर कहालिँदै रोएको दृश्य कति कारुणिक होला। 'आमा' भन्ने शब्द ओठमा झुन्डिन नपाउँदै मातृवियोगको पीडा भोग्नुपर्ने यो कुन जुनीको मूल्य तिर्न परिरहेछ ती अबोध बालिकाले। संवेदनाका हरेक प्रश्न मडारिरहेछन् मनभरि।
सवारी चालकप्रति बनाइएको फितलो नियमका कारण हरेक दिन यस्ता घटना भइरहेका छन्। मञ्जु महतको यो दुर्घटना एउटा गायिकाको नाताले छिट्टै जनमानसमा फैलियो होला, तर आम सर्वसाधरणलाई लापर्बाहीपूर्ण ढंगबाट गाडीले ठक्कर दिने र मार्ने सिलसिला रोकिएको छैन। अकालमा मृत्युको मुखमा पर्न कसैलाई पनि रहर हँुदैन, जिन्दगीका स्वर्णीम कल्पनामा मग्न भइरहेको बेला अनायास मृत्युको घन्टी बज्दा जो कोहीलाई पनि सह्य हुँदैन।
सायद नेपाल मात्र त्यस्तो देश होला जहाँ मान्छेको हत्याको मूल्य केही हजार र लाखमा तौलियोस्। मानवीय संवेदनासँग जोडिएको यस्तो गम्भीर विषय पनि यहाँ हलुका रुपले लिइन्छ र हरेक पल मान्छे मार्नकै लागि प्रोत्साहित गरेजस्तै रकम तोकिन्छ। आज मञ्जु महतको परिवारमाथि परेको बज्रपात कति असह्य होला। अबोध बच्चाको जीवनबाटै खोसिएको अपुरणीय वात्सल्यताप्रतिको जिम्मेवार कसले लेला?
सवारी चालकको योग्यताका लागि के कस्ता प्रावधान हुनुपर्छ भन्ने सरकार र सम्बन्धित पक्षले पुनर्समीक्षा गर्न आवश्यक छ। सामान्य घाइते मात्र भएको पैदलयात्रुलाई पनि गाडी फर्काइफर्काई प्राण लिनु कहाँसम्मको नृशंसताको पराकाष्ठा हो त्यसको लेखाजोखा गर्न पनि ढिला भइसकेको छ। कानुन त छ नि देशमा, अपराधीले उम्कन पाउँदैन भन्ने खालको भरोसा जनतालाई दिलाउने हो भने यस्ता घटनामा कमी आउने थियो। आज देशको हरेक क्षेत्रमा निराशा छ।
सवारी चालक बन्नु जोखिम हो। सबैको मनोविज्ञान बुझेर आफू भन्दा अगाडि र पछाडिका सवारीले गल्ती गरेर दुर्घटना निम्त्याउँछन् कि भन्दै उच्च सतर्कता अपनाई चालकले गाडी चलाउनुपर्ने हो। बाटोमा हिँड्ने पैदलयात्रुलाई पनि उचित सम्मान दिँदै निश्चित ठाउँमा मात्र गाडी रोक्नु असल चालकको परिचय हो।
नागबेली आकारमा मोटरसाइकल कुदाउने युवकको मुख्र्याइँ देख्दा पनि विरक्त लागेर आउँछ। सवारी धनीले पनि जस्तो पाए त्यस्तै चालक चयन गरिदिँदा दुर्घटना बढेको देखिन्छ। कतिपय माइक्रो बसका चालक ओठ निचोरे दूध आउने जस्ता अपरिपक्व देखिन्छन्।
ट्राफिकको आँखा छल्न पाए विजय प्राप्त गरेको ठान्ने उनीहरूले जतिबेला पनि हतारमा सवारी कुदाएको देखिन्छ। बाटोका चोकमा गाडीको उछिनपाछिन देख्दा लाग्छ-हामी सम्पूर्ण यात्रु यमलोकको यात्रा गरिरहेका छौं। कतिबेला कहाँ ठोक्किने हो र मृत्युको समाचार बनिने हो भन्ने सन्त्रासमा यात्रा गर्नुपरेको तीतो यथार्थ सबैले भोगेको नियति हो। सबैभन्दा बढी लापबाही माइक्रो बसको देखिन्छ। थोरै यात्रु अट्ने यस्ता बसमा क्षमताभन्दा पाँचगुना बढी यात्रु भेडाबाख्राजस्तै गरी कोचिन्छ र बेतोडले कुदाइन्छ।
गाडीभित्र महिलामाथि हुने यौनहिंसाको त हिसाबकिताब छैन।'नखाउँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार' ले महिलाले खपिनसक्नुको सास्ती भोगिरहेका हुन्छन्। यस्तो संवेदनशील विषयप्रति पनि सरकार टुलुटुलु हेरेर बसेको छ। यस्तो अवस्थामा देशमा सरकार छ भन्ने प्रत्याभूति कसरी गर्ने?
####
.jpg)




0 comments
Write Down Your Comment