राजस्थानको वायुले गर्‍यो काठमाडौंमा गडबडी
###

 काठमाडौं, चैत्र २० - बिहीबार बिहान राजधानीको आकाश सफा थियो । तेजिलो घामले दिउँसो गर्मी हुने संकेत दिइरहेको थियोे । मौसमविद्हरूको अनुमान पनि त्यसभन्दा फरक थिएन । १० नबज्दै घाम छोपियो, हावाहुरी, गड्याङ्गुडुङ र मेघगर्जन शुरु भयो । क्षणभरमै वायुमण्डलमा अँध्यारो छायो, एकाएक वषिर्एको पानीले चिसो बढायो । कारण थियो, भारत राजस्थानबाट एकाएक नेपाल प्रवेश गरेको न्युनचापीय प्रणालि ।

'राजस्थान हुँदै पश्चिमबाट आएको वाष्पयुक्त वायु र बादलले क्षणभरमै मौसममा गडबडी निम्त्याएको हो,' जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, 'स्थानीय संवाहनले पनि त्यसमा मद्दत पुर्‍यायो ।' उनका अनुसार राजस्थानमा कब्जा जमाएको उक्त प्रणाली बिहीबार बिहान सवा ४ बजे नेपाल छिरेको हो । सवा ५ बजे पोखरालगायत पहाडी जिल्ला छोएकामा सवा १० बजे काठमाडौंसम्मै आइपुग्यो । एकैछिनमा बबण्डर मच्चियो, धुलाम्मे काठमाडौंमा तिव्र वेगमा चलेको हावाहुरी र आँधीले सर्वसाधारणलाई अत्यायो ।

महाशाखाका मौसमविद् विद्यारत्न शाक्यका अनुसार एकाएक विकसित भएको प्रणालीको असरले उच्च र पहाडी भेगमा वषर्ा भएको हो । काठमाडौंमा २ दशमलव १, पोखरा १ दशमलव ४ मिलिमिटर वषर्ा भयो भने ओखलढुंगा र ताप्लेजुङलगायत स्थानमा फाट्टफुट्ट मात्र । तराईका जिल्लामा दिनभर मौसम सफा थियो । बरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार बिहीबार विकसित भएको मौसमी प्रणालीले पोखरादेखि ओखलढंुगासम्मको वायुमण्डलमा प्रभाव पारेको छ ।

महाशाखाले पहाडी भूभाग र काठमाडौंमा बदलीसहित अपरान्हतिर गड्याङ्गुडुङ् हुने अनुमान बुधबार सार्वजनिक गरेको थियो । 'हामीले अनुुमान गरेभन्दा फरक मौसमी गतिविधि भयो,' प्रधानांगले भने, 'यो प्रणाली धेरै दिन रहँदैन, शुक्रबारदेखि सुधार आउँछ ।'

उक्त प्रणालीले वायुमण्डलमा 'क्यूमलोनिम्बस' नामको बादल बन्न सहयोग गर्छ । त्यही बादलका कारण क्षणभरमै मौसमी गडबडी उत्पन्न भई पानी परेको मौसमविद्ले बताए । बरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार उक्त बादलको तल्लो भागमा प्रसस्त पानीका थोपा हुन्छन् । माथिल्लो भागमा असिना, बरफको टुक्रा र हिउँ हुन्छ ।

####

0 comments

Write Down Your Comment