कात्तिकभित्र संविधानको मस्यौदा लेख्ने कार्यतालिका तयार
###

 २० चैत, काठमाडौं । संविधानसभा सचिवालयले आगामी कात्तिकभित्र नयाँ संविधानको मस्यौदा बनाउने गरी कार्यतालिका तयार पारेको छ । कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा छलफलका लागि भन्दै कार्यतालिका पेश भएको छ ।

आगामी वैशाख १५ गतेभित्र विषयगत समितिका सभापतिको निर्वाचन गर्ने प्रस्तावमा उल्लेख छ । जेठ मसान्तभित्र संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले अघिल्लो संविधानसभाका समितिहरुमा सहमति भएका र विवादित विषयहरु निक्र्यौल गरी संविधानसभामा पेश गर्ने र सहमति भएका विषयलाई मस्र्यौदा समितिमा विवादित विषयलाई संवैधानिक-राजनीतिक सम्वाद समितिमा पठाउने कार्यतालिका छ ।
संवैधानिक-राजनीतिक सम्वाद समितिले नयाँ संविधानका विवादित विषयमा संविधानसभामा रहेका दलहरुसँग छलफल गर्ने र बाहिर रहेका दलहरुसँग सहमति गर्ने समय भदौ मसान्तसम्म तोकिएको छ । दलहरुबीच सहमति गर्ने, छलफलमा उठेका नयाँ विषयमा पनि सहमति गर्ने र सहमति हुन नसके संविधानसभामा निर्णयार्थ पेश गर्ने समय असोजसम्म तोकिएको छ ।

कात्तिकसम्ममा संविधानसभामा सहमति भएका विषयलाई समेटेर मस्यौदा लेखिनेछ भने राजपत्रमा प्रकाशित गरी जनताको सुझाव लिने कार्ययोजना बनाइनेछ । संविधानको मस्यौदामाथि कम्तिमा प्रतेक जिल्लामा सार्वजनिक सुनुवाइ गर्ने कार्यसूची छ ।

जनताको सुझावबमोजिम संविधानको पहिलो मस्यौदालाई संशोधन गरी पुस मसान्तसम्ममा संविधानभामा संविधानको विधेयक पेश गरिनेछ । यो समयमै दफावार छलफल गरी संविधानको सबै धारा, प्रस्तावना र नामसहित सम्पूर्ण भाग पारित गरिनेछ ।

२०७१ साल माघमा पारित संविधानको प्रमाणिकरणप्रति तयार गरी सभासदले हस्ताक्षर गर्ने र अध्यक्षले विधेयक प्रमाणित गर्ने कार्यतालिका छ । प्रस्तावित कार्यतालिकामा संविधानको प्रतिमा राष्ट्रपतिले हस्ताक्षर गरी लागू भएको घोषणा गर्ने दिन भने प्रस्ताव गरिएको छ ।

यस्तो छ संविधान निर्माणको ‘फास्ट ट्रयाक’

२०७१ बैसाख १५ सम्म- संविधानसभाका विभिन्न समितिका सभापतिको निर्वाचन गर्ने ।

२०७१ जेठ मसान्तसम्म- पुराना दस्तावेजको अध्ययन गरी संविधानसभामा पेश गर्ने, सहमति भएका विषय मस्यौदा समितिमा पठाउने र असहमति भएका विषय राजनीतिक सम्वाद समितिमा पठाउने ।

२०७१ भदौसम्म- संवाद समितिले संविधानसभा भित्र र बाहिर रहेका दलसँग छलफल र सहमति गर्ने ।

२०७१ असोजसम्म- सम्वाद समितिमा सहमति हुन नसकेका विषयलाई फेरि संविधानसभामा पेश गर्ने, सहमति भएका विषयलाई मस्यौदामा समावेश गर्ने ।

२०७१ कात्तिकसम्म- मस्यौदा लेखन सम्पन्न गरी राजपत्रमा प्रकाशित गर्ने र जनताको सुझाव लिने ।

२०७१ पुससम्म- जनताको रायलाई समावेश गरी संविधानलाई विधेयकका रुपमा संविधानसभामा पेश गर्ने ।
त्यसमाथि दफावार छलफल गर्ने र पारित गर्ने ।

२०७१ माघ- पारित संविधानको प्रति तयार गरी सभासदले हस्ताक्षर गर्ने, सभाध्यक्षले विधेयक प्रमाणित गर्ने र राष्ट्रपतिले प्रतिमा हस्ताक्षर गरी नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने ।
####

0 comments

Write Down Your Comment