बहिस्कारवादी र उमेद्वारवीच रमाइलो दोहोरी !
###

अर्ध कपालले भन्छन्- फिर्ता लेऊ, दाह्रीवाल भन्छन्- मलाई भोट देऊ
 २ कात्तिक, नेपालगञ्ज । हरियो टी शर्ट लगाएका युवक रातोझण्डा बोकेर भीडको वीचमा ठिङ्ग उभिएका छन् । यो झण्डा एमाओवादी र बीमाओवादी दुबैको हो । झण्डाको छेवैमा दुईतिर विभाजित भएर तिलचामले बाक्ला दाह्री पालेका बाँके-३ का एमाओवादी उम्मेद्वार दामोदर आचार्य उभिएका छन् ।


अर्कातिर आधासरो कपाल झरिसकेका वैद्य माओवादीका केन्द्रीय सदस्य आएपी खरेल उभिएर पाठ सुनाउँदै छन् । यो कुनै सडक नाटक होइन । तस्वीरमा हेर्दा दुई माओवादीको उभ्याइ भने अलिकति नमिल्दो देखिन्छ । ‘दक्षिणपन्थी’ भनिएका एमाओवादीका उम्मेद्वार वायाँतिर उभिएका छन् र आफूलाई ‘वामपन्थी’ भन्ने वैद्य माओवादीका केन्द्रीय सदस्य खरेल चाँहि दाँयातिर छन् ।

यद्यपि वातावरणमा कुनै तनाव छैन, उल्लास छ । उम्मेद्वार डराएका छैनन्, बरु मुसुक्क मुस्कुराइरहेका छन् । यो दृश्य हो नेपालगञ्जको । नेकपा-माओवादीका केन्द्रीय सदस्य आईपी खरेलको नेतृत्वमा शनिबार जुलुससहित संविधान सभा निर्वाचन बहिष्कारको आव्हान गर्दै एउटा टोली बाँके निर्वाचन क्षेत्र नं ३ का एकीकृत माओवादीका उम्मेद्वार दामोदर आचार्यको छेवैमा पुग्यो ।

गत सालसम्म एउटै पार्टीमा रहेका, एउटै थालमा खाएका दुई नेतामध्ये एकजना चुनाव लड्ने, अर्को बहिस्कार गर्ने । उमेद्वारी फिर्ता लिन आग्रह गरिएको पत्र बुझाउदै नेकपा-माओवादीका केन्द्रीय सदस्य खरेलले उम्म्देवार आचार्यलाई भने- ‘देशलाई अस्थिरताको बन्दी बनाउने खेलमा तपाईहरु नलाग्नुहोस्, यो चुनाव हुँदैन, तपाईले हाम्रो आग्रहलाई स्वीकार्दै आप\mनो उम्मेदवारी फिर्ता लिइदिनुहोस् ।

’ नेपालगन्जको सुर्खेत रोडमा रहेको एकीकृत माओवादीको निर्वाचन सम्पर्क कार्यालयमै दुबैतर्फका कार्यकर्ताहरुले आ-आफ्नो भनाइ राखे । पत्र बुझ्दै उम्मेदवार आचार्यले आफु लोकतान्त्रिक पद्दतीअनुसार प्रकृया पुर्‍याएर निर्वाचनमा सरिक भएकाले आफूलाई जिताउन खरेलसँग सहयोग मागे । ‘उम्मेदवारी फिर्ता लिनेभन्दा पनि आउनुहोस्, मुलुकलाई निकास दिन चुनावमा सहभागी होऔं र एकीकृत माओवादीको जीत सुनिश्चित गरौं ।’

आचार्यले नेकपा-माओवादीका नेता र कार्यकर्तालाई आगामी संविधान सभाको निर्वाचनमा आफूलाई भोट दिन अपील गरे । वैद्य माओवादीले चुनाव बिथोल्ने हो कि भन्ने डर बढिरहेका बेला बाँकेमा देखिएको यो दृश्यलाई निकै रोचक मान्न सकिन्छ । बहिस्कार गर्नेले पनि शान्तिपूर्ण आफ्ना कुरा राख्नु र उपयोग गर्नेले पनि बहिस्कारवालासँगै हाँसीहाँसी भोट माग्नु, के यही हैन त लोकतन्त्रको सौन्दर्य ? यसैगरी दुवै पक्ष संयमित भएर शान्तिपूर्ण गतिविधि गर्ने हो भने चुनावमा हिंसाको कुनै गुञ्जायसै हुने थिएन कि ?
####

0 comments

Write Down Your Comment