आज भाई टीका, दिनैभरी टिका लगाए फरक नपर्ने
###
|
काठमाडौं, कार्तिक १९ । यमपञ्चकको अन्तिम तथा मूख्य दिन आज भाई टीका । घरघरमा आज दिदीबहिनीले आफ्ना दाजुभाईलाई टीका लगाई दीर्घायूको कामना गर्दैछन् । विहान ११ बजेर २७ मिनेट जाँदाको समय भाई टीका लगाउन उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । साइतको समय भनिए पनि भाइटीका दिनैभर लगाउन कुनै फरक नपर्ने पनि समितिले प्रष्ट गरेको छ ।
यम द्वितीया समेत भनिने भाईटीकामा यमराज, यमुना, ग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा रहेको छ । भाइटीकाको अवसरमा दिदी बहिनीले दाजुभाइलाई कहिल्यै नसुक्ने मखमली फूलको माला र सप्तरंगी टीका लगाई दीर्घायूको कामना गर्दछन् ।
भाइटीकाका दिन भाइलाई दिदीबहिनीले कालको मुखबाट समेत बचाइ दिने पौराणिक कथन छ । यस दिन यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाकोमा आराम गर्न र टीका लगाउन आउने पौराणिक विश्वास छ ।
यसै दिनको सम्झनामा आज दाजुभाइलाई दिदीबहिनीले टीका लगाएर मिष्ठान्न भोजन गराउने गर्छन् । दिदीबहिनीले लगाई दिने रंगमा सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो निरोगिताको प्रतिक मानिन्छ ।
####
.jpg)





0 comments
Write Down Your Comment