किन हुन्छ थवाङमा शून्य मतदान? माओवादी सहर छिरेपछि उसको रहर फेरिएको छ– थवाङ
###
![]() |
किन हुन्छ थवाङमा शून्य मतदान? किन थवाङ राज्य सत्ताको विरोधी हुन्छ? किन थवाङ सधै एक हुन्छ? मुखियाप्रथा जसलाई राजप्रथाको रूपमा हेरिन्छ, किन थवाङमा अहिले पनि यथावत छ?
स्थानीयलाई चित्त बुझेन। न राजाको फौजसँग भिड्न सकिने, न त अन्य विकल्प। चेलीवेटी बिगार्छन, दुःख दिन्छन, अर्थात राजाको भूमिका आफ्नो लागि सहज नहुने अनुमान गरेका थवाङीहरूलाई एक प्रकारको असजिलो भयो।
यसैबीच राजाको एउटा सन्देश आयो– थवाङमा धान छर्ने यदि उमि्रयो भने बसाई यतै सार्ने होइन भने फिर्ता जाने। धान छर्नका लागि बीऊ दिइयो। गाउँलेहरू बसे, छलफल गरे, अनि एउटा कुटनैतिक निर्णय गरे।
रात परे पछि राजाले दिएको धानको बीउ मकैको खाजा भुटे झै भुटे। भोलि पल्ट लगेर खेतमा छरे। दिन बित्दै जादा धान उमि्रएन अनि राजाहरू बसाई सरे। यो कथा होइन थवाङको सत्य इतिहास हो।
इतिहासमै राजा र राज्य सत्ताबाट अलग हुन चाहने थवाङीहरु २०६४ मा ३ मत बाहेक सवै प्रचण्डलाई दिएका थिए। २०७० सालको संविधान सभामा एकमत पनि खसालेनन्। २०३६ सालमा सतप्रतिशत मत बहुदललाई खसालेका थवाङीहरूले २०१५ सालको निर्वाचनमा सबै मत थवाङकै उम्मेदवार बनेका खगुलाल गुरुङलाई दिए।
२०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाङमा २०५६ मा हेलिकप्टरमा पुगेका २ जनाले मात्र मतदान गरेका थिए। २०५४ मा चुनावै भएन। अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो। २०३९ सालको स्थानीय चुनावमा बिरोधमा कोहि उठ्न खोज्दा समर्थक र प्रस्तावक नपाएपछि अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्प्रर्धामा आएका थिए।
२०१२ सालमा कम्यूनिष्टको “क” भित्रिएको थियो थवाङमा। कृष्ण झाक्री नामका मुखिया(राजा)ले त्यो समयमा सुँगुर, बंगुर, कुखुरा, कुकुर, गाउँमा खुलारूपमा नछोड्न आदेस गरे। झ्याली पिटाए। कटुवाललाई हाँक हाल्न लगाए। तर, गाउँलेले टेरेनन्। स्थिति फेरिएन। अनि शुरू गरे मुखियाले जनावरमाथि आक्रमण।
सुँगुर, बंगुर, कुखुरा, कुकुर रक्तीमुसल भएर घरगोठ पुगे, उनीहरूका घाउ पाके। भरूवा बन्दुक, खुकुरी, भालाका, घाउँले जनावर हेरिनसक्नु भए। विरोधमा बोल्ने हिम्मत कसैमा भएन।
असाध्यै भएपछि बरमन बुढा (पूर्व सांसद) लगायतका युवाहरुले प्रतिकार सुरू गरे। मुखियाले प्यूठानबाट प्रहरी बोलाए। मुद्दा चल्यो अनि जेल पुगे बरमन बुढा। रोल्पा जिल्ला जन्मीएको थिएन, त्यसैले बुढालाई प्यूठानको कारागार पुर्याइयो।
संयोग कम्यूनिष्टका हस्ति मोहन बिक्रम सिंहले उदयमान युवालाई भेटे जेलमा। अनि शुरु गरे प्रशिक्षण। उनी भित्र भर्नु पर्ने जति वामपन्थी शिक्षा भरे। कारागार बसाइ सकेर थवाङ फर्के बरमन बुढा।
अब शुरू भयो यहाँ भिडन्तको सुरूवात। बरमनको पालोपछि प्यूठान कारागार पुगे मुखिया कृष्ण झाक्रि। उनी पनि कम्यूनिष्टको आशलाग्दो कार्यकर्ता भएर थवाङ फर्के।
यसको केहि समयपछि जेलबाट छुटेका मोहन बिक्रम दाङ, सल्यान रुकुम हुदै थवाङ पुगेर कमिटि गठन गरी बरमन बुढाको नाममा हस्तान्तरण गराए मुखिया(राजा) पद।
सुरू भयो कम्यूनिष्टहरुको पक्का राजनीति। २०२५ सालतिर मोहन वैद्य कार्यकर्ता विस्तारमा पुगे यहाँ। २०३६–०३७ तिर कृष्णसेन इच्छुक अनि २०४०–०४१ तिर बादल र २०४२ तिर प्रचण्ड।
०३८ सालमा शून्य मत किन?
कारण नं.१–
२०३६ सालमा रामकुमार बुढाले रक्सीको डेग(डिलर) लगे। जनताले रक्सीको व्यापार गर्न नपाउने भयो। प्रहरीले कारबाही सुरू गर्यो। बिरोध गर्दा धेरै शिक्षकहरु सरुवामा परे। अनि सुरु भयो प्रहरी प्रशासन प्रतिको वितृष्णा।
६–७ जनाको संख्यामा रहेका प्रहरीलाई थवाङीले असहयोग सुरु गरेपछि प्रहरी चौकी मिरुलतिर सर्यो।
कारण नं.२–
यसबीचमा जनमतसंग्रह भयो। सवै मत बहुदललाई गयो। प्रशासन र थवाङको सम्वन्ध चिसियो।
कारण नं.३–
२०३७ को अन्तिममा सदरमुकामबाट दाङ जोड्ने घोरेटो बाटो खन्न ५१ वटै गाउँ पञ्चायतले श्रमदान गर्न अनिवार्य गरियो। तर त्यो वर्ष अनिकाल परेका कारण किनेर ल्याएको अन्न बोकी श्रमदान गर्न नसकिने निर्णय गर्यो थवाङले।
कम्तिमा पनि खानाको मागसहित श्रमदानको शर्त वनायो र यहि निर्णय बोकेर त्यो बेलाका प्रधानपञ्च बरमन बुढा(पूर्व सांसद) सदरमुकाम आए। प्रहरी प्रशासनले पनि जनमत संग्रहमा बहुदललाई भोट दिएको रिस पोख्यो उनिमाथि। जेल परे बरमन “विकास विरोधी”को आरोपमा।
अव शुरू भयो २०३८ को निर्वाचन। गाउँसभा बस्यो व्यापक छलफल गर्यो र एकमतले पारित गर्यो बरमन बुढाको रिहाईको माग।
सरकारले बरमन बुढालाई छोड्न मानेन त्यसैको झोकमा थवाङीहरुले रित्तो मतपेटिका फर्काइदिए। त्यसलगतै कात्तिक ५ बाट सेनाले ठूलो अप्रेशन गर्यो।
थवाङमा इतिहासदेखि अहिलेसम्म जहिले पनि एकजनाको सत्ता चल्छ। यीनीहरू सधै एकमुखले निर्णय गर्छन्। विरोध गर्नु पर्यो भने पनि सवैले गर्छन, समर्थन गर्न पर्यो भने सबैले।
थवाङमा मुखिया प्रथा(राजप्रथा) अहिले पनि कायमै छ। जहिले पनि अघोषित राजा हुन्छ यहाँ। उसैको सेरोफेरोमा घुम्छ थवाङको राजनीति।
हालसम्मका थवाङका मुखिया(राजा)हरूमा कृष्ण झाक्रि, बरमन बुढा, धर्मवहादुर रोका, पूर्णबहादुर रोका, रामकुमार बुढा, कमान झाक्रि, पूर्णजी रोका, सूर्यलाल बुढा, कमल रोका, तेजमन घर्तीहुँदै हाल आएर त्यो स्थानमा छन पूर्व सभासद तथा नेकपा–माओवादीका केन्द्रीय सदस्य सन्तोस बुढा।
२०७० मा किन शून्य मत?
सदरमुकामबाट २८ कोष टाढा दर्जनौ पहाड काटेर २ दिनको पैदल यात्रा पछि पुगिन्छ थवाङ।
कुनै समयमा माओवादी र थवाङ एउटै हो भन्दा पनि फरक पर्दैन थियो। कारण माओवादी जन्मीएको ठाउँ, हुर्किएको आँगन, जनयुद्धको जग हालेको भूमी। ३९ जनाले देशको नाममा रगत बगाएको सयौं घाइते, अपांग, टुहुरा, एकल महिला गनि नसक्नुको तथ्यांक छ।
प्राय मगर र दलितको बसोवास रहेको थवाङ स्वच्छ, इमान्दार, लगनशील, समाजप्रति समर्पणको भावना अनि बलिदानीपूर्ण इतिहाँसका कारण परिचित छ। यातायात, शिक्षा, स्वास्थ्य, रोजगार, राज्यको उपस्थिति आदि आधारभूत सेवाहरुको पहूँच नभएकाले जीवन कष्टकर बनेको छ।
ठूलो रोग लागिहाल्यो भने सहरका सुविधासम्पन्न अस्पतालमा जानुपर्ने अवस्थामा अधिकांसको आर्थिक हैसियतले थेग्न सक्दैन। कतिपय सदरमुकामसम्म पनि पुग्न नसक्ने अवस्था छ।
एक्काइसौं शताब्दीमा आइपुग्दा पनि यहाँ कटुवाले प्रथा रहनुले आधुनिकता र विकासको गति कस्तो छ भनेर थाहा पाउन सकिन्छ।
देशमा राजतन्त्र गएर आफ्नै रोजाईको गणतन्त्र आयो र पनि महसुस गर्न पाएनन् थवाङीहरुले।
२०१५ सालमा बनेको जिल्लाकै तेस्रो माध्यमिक विद्यालय भवन ढल्न थालेको छ भने स्वास्थ्य संस्था पनि उत्तिकै जीर्ण छ।
समान अधिकार सहभागिता त परै जाओस आधारभूत आवश्यकताको पूर्तिसमेत गर्न पाएनन्। हिजो राज्यले विभेद र सौतेलो व्यवहार गर्यो भनेर त्यसैको आडमा यहिँबाट द्वन्द सुरू गरेको माओवादीले सबैलाई बन्दुक पड्काउन सिकायो। सत्तामा पुग्यो २ पटक तर जन्म थलोलाई गर्व गर्न सक्ने केहि गरेन भन्छन थवाङीहरू।
थवाङीलाई सपना बेचेर सहर छिरेका माओवादी उतैको हावापानीसँग विलिन भए।
विगतमा आफ्नो छाक काटेर सिस्नोसँग ढिडो खाएकाहरू सिंहदरवारमा कता हराए कता।
उनीहरूको जीवन यापन नजिकैबाट नियालेकाहरु अचम्मित छन। आलिसान महल, चिल्ला गाडी, आफैंले कहेजस्ता सुकिला मुकिला भएपछि त्याग–लगानी आज थबाङीहरूलाई अभिसाप भएको छ।
सँगै खाने, सँगै बस्ने, साम्यवादको सुरूवात गर्ने भन्दै कम्यूनको स्थापना गर्न लगाएर भएभरको सम्पति एउटैमा गाभ्न लगाइयो। आज त्यहि अभ्यासको विपरितमा नेताहरू देखा परे।
३१ वटा घरलाई एउटै ठाउँमा गाभेर जनकम्यून स्थापना गरियो। तर, हाल १४ घर मात्र वाँकी छन यसमा।
अझ अलगिने क्रम जारी छ। बरु एक्लै बसेको भए आज अलिकती भए पनि जायजेथा जोडिन्थ्यो भन्छन थवाङीहरु।
हिजो स्थापना गरिएका जनवादी विद्यालय गाइगोठमा परिणत भएका छन। कतै भने सामुदायीक विद्यालयमा गाभिएका छन्। सहकारी पनि अलपत्र छन्।
हिजो माओवादी र थवाङीको सपना, लक्ष एउटै थियो तर आज माओवादी सहर छिरेपछि उसको रहर फेरिएको छ। थवाङ उनिहरूका लागि विरानो गाउँ भयो।
समान सहभागिता र राज्य सत्तामा समान पहूँचका लागि लड्छु भनेर सहर छिरेका नेताहरुसँग सम्वन्ध तोडिएको महसुस गर्दै छन। त्यसकारण उनीहरुको हिजो जस्तो निकटता छैन माओवादीसँग।
सत्तामा पुगेको छोटै समयमा माओवादी २ भागमा विभाजित भएपछि थवाङीको मन छिन्न भिन्न भएको छ। भरोसासमेत गुमेको छ।
पहिलेका चुनावमा बहिष्कार लहलहैमा गरिएको भएपनि यसपटकको चुनाव भने सचेतरूपमा, सचेतढंगले गरिएको बताउँछन् नेकपा–माओवादीका सन्तोस बुढा।
पञ्चायत, बहुदल र गणतन्त्र तीनै व्यवस्थामा विद्रोह गरेको छ थवाङले।
चितवनका छविलाल दाहाल थवाङ पुगेर कसरी प्रचण्ड बने? गोरखाका बाबुराम भट्टराई, प्यूठानका मोहन वैद्य किन छिरे यता?
पहूँच भन्दा टाढाको यो मगर बस्ति सोझा र इमान्दारहरुको आश्रय स्थल हो। शिक्षामा पछाडि परेका थवाङीहरुलाई सजिलै भावनामा बहलाउन सहज बुझेका उग्रवाम नेतृत्व रोल्पालीको भावनालाई सिढि बनाउन सजिलो देखेर भित्रिएको अनुमान गर्छन रोल्पालाई नजिकबाट नियाल्नेहरु।
होइन भने जनयुद्धको जग त प्रचण्डले शिक्षा र चेतनामा बिकसित भनिएको चितवनबाटै गरेकोे भए हुन्थ्यो नि। या बाबुरामले गोरखाबाट या त वैद्यले प्यूठानबाटै शुरु गरेको भए के हुन्थ्यो?
२०२५ सालताकाबाटै थवाङको स्वाभाव बुझेका वैद्य र २०४२–०४३ तिरबाट नियालेका प्रचण्ड सबैसबैले हतियारको मतियार मात्र बनाए। गणतन्त्रपछि थवाङ पुगेको बजेट भनेको मृतकका नाममा ३९ जनाले पाएको १ करोड १७ लाख, वेपत्ताको नाममा ३ लाख, घाइते–अपांगको नाममा १८ लाख ८० हजार, अपहरणको नाममा ७५ हजार, जीवन निर्वाह भत्ताको नाममा १२ लाख २८ हजार, टुहुराको नाममा ३ लाख, एकल महिलाको नाममा ३ लाख ५० हजार र छात्रवृत्तिको नाममा करिब ३ लाख मात्र हो।
यसबाहेक नमूना बस्ति विकास, पर्यटन विकास आदिका नाममा नगण्य वजेट भित्रिएको यहाँ। अदृश्यरूपमा ठूलो रकम पुगेको हल्ला छ। तर, त्यो कता गयो कसैलाई थाहा छैन।
कम्न्यूष्टहरू विशेष गरी हिजोको मसाल, जनमोर्चा हुँदै आजको माओवादीको जिल्ला नेतृत्वमा थवाङले राम्रै भूमिका पायो। तर सत्तामा पुग्ने चरणमा त्यो अन्यत्र सर्न थाल्यो। जिल्ल्ाा कमिटि सेक्रेटरी सूर्यलाल बुढा(थवाङ)हुँदै कमलबहादुर रोका(थवाङ), तेजमान घर्ती(थवाङ), कृष्णवहादुर महरा(लिवाङ), सन्तोस बुढा(थवाङ),जोखबहादुर महरा(गजुल), वर्षमान पुन (जंकोट),स्व. किमबहादुर थापा (गजुल), दिपेन्द्र पुन सिजल(कोर्चावाङ), हुँदै शान्ति स्थापना कालताका जिल्ला र विशेष जिल्लाका नाममा २ थरी सेक्रेटरी बनेका थिए।
रोल्पाका ६ गाविस र रुकुमका ८ गाविसको बिशेष जिल्ला अनि रोल्पा जिल्लाको छुट्टै सेक्रेटरी।
जिल्लाका सेक्रेेटरी मानबहादुर वुढा बिकल्प (गाम), हँुदा बिशेष जिल्लामा केशवहादुर वाँठा(भावाङ)। प्रवेश रोका (थवाङ) जिल्लामा हुँदा अमर झाक्रि (फगाम) बिशेष जिल्लामा।
जिल्लामा सुरेन्द्र घर्ती(कोटगाउ)हुँदैगर्दा प्रताप(थवाङ)बिशेष जिल्लामा। त्यसपछि विशेष जिल्लाको विघटन गरियो अनि रेशम पुन चट्टयाङ(बुढागाउ), आसवहादुर पुन रक्तिम(जेलवाङ) हुँदै चुडामणि ओली(जिनावाङ)सम्म पुगेको थियो पद।
त्याग, तपस्या, बलिदान, समर्पण जे जे शब्द भने पनि सवै दियो थबाङले। १३ पटक सम्म ठूला–ठूला अप्रेशन भोगेको यहाँ दिनचर्या विकास निर्माण आर्थिक उन्नति, शिक्षा, स्वास्थ्यमा सुधार २०३८ सालमा र २०७० सालमा खासै भिन्नता छैन।
रुकुमको सिमानामा पर्ने थबाङको छेउको अर्को जिल्लाको गाविसमा मोटर चल्न थाले। अन्य ठाउसँग सम्वन्ध जोडिन थाल्यो तर यता उस्तै छ।
राजधानी त्यो हो, जहाँ सबै सुबिधा प्राय उपलब्ध हुन्छ, उपभोग गर्न पाइन्छ तर माओवादीको अघोषित राजधानी थबाङमा न अझैसम्म बाटो पुगेको छ, न त खान पुग्ने प्रशस्त खेती योग्य जमिन छ, न अस्पताल, टावरको नाम मात्र छ तर फोनले काम गर्दैन।
आधुनिक दुनियाँको कुरा उनीहरुको लागि सपना जस्तै भएको छ। कसैले यो त माओवादीको राजधानी हो भन्यो भने चित्त दुख्छ थवाङीको।
यी र यस्ता कुराहरुले पटक पटकका निर्वाचनहरुमा थवाङले नयाँ पहिचान छोड्छ। 'एन्टि–स्टेट' को रुपमा रहेकोजस्तो देखिने थवाङले राज्यको आँखा पुगोस भन्नका खातिर धेरै गर्यो तर सफल भएन।
आखिर केहि हुँदैन भने के का लागि गर्ने मतदान? कसैप्रति आशा नै छैन भने किन पर्खेर बस्नु? बोतल फरक भएपनि भित्रको चिज एउटै हो भन्ने बुझेका थवाङीहरुले मतदान नगर्नु सकरात्मक हो वा नकरात्मक पाठकको जिम्मा ...।
सबै तस्विरहरु: दिनेशदिपु सुवेदी
shrot seto pati
####
0 comments
Write Down Your Comment