दिलशोभाले रुँदै सोधिन्- बालबच्चा कहाँ, कसरी राखिएको छ ?
###

 १९ फागुन, काठमाडौं । अनुमति नलिई बालगृह सञ्चालन गरेको भन्दै छापा मारिएको आमाघरमा यसअघि केन्द्रीय बालकल्याण समिति स्वयंले बालबालिका संरक्षणका लागि पठाउने गरेको पाइएको छ । गत जेठ १७ गते बालकल्याण समिति मुगुको श्रीकोट गाविस-२ का खड्गबहादुर शाहीको छोरा ६ वर्षीय बलिराजलाई संरक्षणका लागि आमाको घरमा पठाएको पत्र अनलाइनखबरले प्राप्त गरेको छ । अधिकृत रामबहादुर चन्दले हस्ताक्षर गरेको पत्रमा शाहीकी पत्नीको मृत्यु भएको र घरको आर्थिक अवस्था कमजोर भएको भन्दै लालनपालन र शिक्षा दीक्षासहित संरक्षण दिन आग्रह गरिएको छ । पत्रको बोधार्थ जिल्ला बालकल्याण समिति मुगु र काठमाडौंलाई बोधार्थ पठाइएको छ । ‘मैले दुःख पाएका बा-आमा र बालबालिकालाई माया दिएको हो’ दिलशोभाले अनलाइनखबरसँग भनिन्-

’यदि मैले गैरकानूनी काम गरेको भए किन बालबालिका पठाएको होला ?’ त्यसो त डा. बाबुराम भट्टराई सरकारका पालामा बद्री न्यौपाने समाज कल्याणमन्त्री भएका बेला समाज कल्याण परिषद्ले दिलशोभालाई समाज सेवा पुरस्कारै प्रदान गरिएको थियो । उपराष्ट्रपतिको समेत हस्ताक्षर रहेको सम्मानपत्रमा निःसहाय ज्येष्ठ नागरिकहरु तथा असहाय बालबालिकाको संरक्षण, सम्मान र व्यवस्थापनमा योगदान पुर्‍याएवापत पुरस्कृत गरिएको उल्लेख छ । दिलशोभाका अनुसार आमाघरमा ५३ बालबालिका रहेकोमा ३७ जना सरकारले लगेको छ । ‘९ जना परोपरकारमा पढिरहेका छन् । ३ जना पोखरामा छन् । ३ जना सेन्ट जेभियरमा छन्’ उनले भनिन्-’मेरो माइतीको भाइले दिदी तपाईमात्र कति सेवा गर्नुहुन्छ भनेर एक जना लगेर भाञ्जा पालेको छ ।’ दुई जनालाई विदेश पठाएको भनिएको छ नि भन्ने प्रश्नमा दिलशोभाले भनिन्-’उनीहरु स्कलरसिपमा पढ्न गएका थिए । नेपाल आइसके । उनीहरु अहिले ठूला भइसकेे, नेपालमै छन् ।



’ उनले आफ्नो आश्रमबाट कसैलाई पनि धर्मपुत्र धर्मपुत्रीका रुपमा विदेश नपठाएको समेत प्रष्ट पारेकी छिन् । दिलशोभालाई बच्चाको पढाइको चिन्ता अनलाइनखबरको टोली आमाघरमा पुग्दा दिलशोभा बालबालिकाको किताव कापी सुम्सुम्याइरहेकी थिइन् । ‘उनीहरुलाई कहाँ लगियो होला ? भेट्न पठाएको पनि भेट्न दिएनन्’ भक्कानिँदै उनले भनिन्-’उनीहरुको पढाइ के हुन्छ होला ? कसरी राखिएको छ होला ?’ ती केटाकेटीलाई हामीले सानो पाइलामा राखेको भेटायौं । तस्वीरसहितको समाचार छ भनेपछि दिलशोभाको मुहारमा एकाएक खुसी छायो । आमाघरका स्वयंमसेवक जिजेन शाहीले मोवाइलमा अनलाइनखबरले प्रकाशित गरेको तस्वीर देखाएपछि उनले तस्वीरलाई औंलाले देखाउँदै नाम भन्न थालिन् ।
####

0 comments

Write Down Your Comment