###
![]() |
१३ मंसिर, काठमाडौं । ठूला उमेदवारविरुद्ध उठेर चर्चामा आएका स्वतन्त्र र वागी उमेदवारी दिएर चर्चा बटुलेकाहरु मतपरिणाममा नराम्ररी चिप्लिएका छन् ।
पार्टीले टिकट नदिएको झोंक या कसैले सन्काएको भरमा उमेदवारी दिएका धेरैजसो स्वतन्त्र र वागी उमेदवारहरुले सय भोट पनि कटाउन सकेनन् ।
चुनावअघिसम्म ठूला नेतालाई चुनौति दिने बागीहरु भन्दै मिडियाले समेत चर्चामा ल्याएका बागीहरु मतपरिणाम आएपछि भने दुला पसेका छन् । देशकै चर्चित बागीहरुमा काठमाडौका पदम कुवँर, काठमाडौं ४ की सुप्रभा घिमिरे, चितवन २ का पूर्णबहादुर गुरुङ, चितवन ४ का विकास कोइराला आदि थिए । उनीहरु कसैले पनि त्यहाँ विजेत बनेका उमेदवारहरुलाई थोरै चोट समेत पुर्याउन सकेनन् ।
काठमाडौं १० मा पदम कुवँरको जम्मै ३८ मत
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध स्वतन्त्र उमेवारी दिएका पदमबहादुर कुवँरले काठमाडौ १० बाट जम्मा ३८ मत मात्र ल्याएका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसका उमेदवार राजन केसीसँग पराजित भएपनि पदम कुवँरको उमेदवारीले अध्यक्ष दाहाललाई कुनै असर गरे ।
ग्याँस चुल्हो चुनाब चिहृन लिएर चुनावी मैदानमा उत्रेका माओवादी कार्यकर्ता कुवँरले काठमाडौं १० मा चुनावी प्रचार पनि गरेका थिए । उनले सामाजिक सञ्जालमा समेत चुनावी प्रचार गरेपनि मतदाताले पत्याएनन् ।
चुनावअघि एमाओवादी विरोधी मत उनलाई जाने विश्लेषण गरिएपनि कुवँर जम्मा ३८ मत पाएर धरौटी गुमाउन पुगे । चुनाव अघिसम्म उनको पक्षमा चुनावी प्रचारमा युवाहरुको समूह नै परिचालित भएको थियो ।
अघिल्लो वर्ष एकीकृत माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डलाई थप्पड हानेपछि कुवँर चर्चामा आएका थिए ।
प्रचण्ड विरुद्ध संयुक्त जनमोर्चा बाट उमेदवारी दिएका माओवादी जनसेनाका पूर्व लडाकु रामबहादुर गुरुङको अवस्था पदम कुवँरको भन्दा कम्जोर देखियो । प्रचण्डको आदेशमा दर्जनौ स्थानमा राईफल भिरेर सरकारी सुरक्षकर्मीविरुद्ध लडाईं लडेका गुरुङले चुनावी लडाईंमा भने काठमाडौं १० बाट जम्मै ९ भोट ल्याउन सफल भए ।
विसुरालको झन विजोग
बडी विल्डरहरुको खेल रेस्लिङबाट देश तथा विदेशमा समेत चर्चा चलाएका रेसलर भरत विसुरालले पनि काठमाडौं १० मा पानी पिउन सकेनन् । रेस्लिङमा हिमालयन टाइगर नामले चिनिने बिसुरालले चुनावमा भने कुनै जादु देखाउन सकेनन् ।
गितार चुनाव चिहृन पाएर चुनावी मैदानमा उत्रिएका विसुरालले चुनावअघि केही युवाहरुको सहयोगमा प्रचा वितरण गर्दै आफ्नो पक्षमा मत मागेका थिए । उनी यसअघिका चुनावमा पनि उठ्दै आएका व्यक्ति हुन् । यो चुनावसहित उनी ३ पटक बढी उठिसकेका छन् । अहिलेसम्मको उनको सबै भोट जोड्दा २ सय पनि काट्दैन ।
काठमाडौं ४ मा सुप्रभाको उठिबास
पहिलो संविधानसभाको निर्वाचनमा एमाले नेतृ विद्या भण्डारीलाई पराजित गर्न सफल कांग्रेसकी पुरानी नेतृ सुप्रभा घिमिरेलाई यो पटक कांग्रेसले टिकट दिएन । पहिले आफूले जितेको ठाउँमा टिकट नदिएर अपमान गरेको भन्दै नेतृ घिमिरेले कांग्रेस छाडेको घोषणा गर्दै स्वतन्त्र उमेदवारी दर्ता गर्नुभयो ।
युवाहरुमाझ लोकपि्र छवि बनाउनुभएका कांग्रेस युवा नेता गगन थापाविरुद्ध नेतृ घिमिरेले उमेदवारी दिंदा धेरैले गगनलाई वास्तबमै अफ्ठेरो परेको लख काटेका थिए ।
सुप्रभा उठेपछि काठमाडौं ४ मा एकीकृत माओवादीका नन्दकिशोर पुन र एमालेका निर्मल कुईंकेलमध्ये एकले बाजी मार्ने अनुमान चुनावी परिणाम झुठा सावित गरिदियो ।
काठमाडौं ४ बाट गगन थापाले २२ हजार बढी मत ल्याएर जित्दा वागी उमेदवार सुप्रभा घिमिरेको भागमा भने जम्मै ९४ मत पर्यो । चुनावअघि आफ्नो पक्षमा भोट झार्न नेतृ घिमिरेले दुईवटा टोली बनाएर प्रचार गर्नुभएको थियो । २ देखि ४ हजारसम्म भोट ल्याउने अनुमान गरिएपनि नेतृ घिमिरेको पोल्टामा जम्मै ९२ मत परेपछि कांग्रेसवृत्तमा उहाँ हाँसोको पात्रमात्र बन्न पुग्नुभयो ।
सुशीलका बागीको धरौटी जफत
कांग्रेसका सभापति सुशील कोइरालाविरुद्ध चितवन ४ बाट बागी उठेर तामझामका साथ चुनावी प्रचारमा उत्रेका चितवन कांग्रेसका पूर्वसभापति विकास कोइरालाको धरौटी जफत भयो ।
चितवन ४ बाट विजयी हुनुभएका कांग्रेस सभापति सुशील कोइरालाले २० हजार बढी मत ल्याएर चुनाव जित्नुभयो भने उहाँका बागीका विकास कोइरालाको भागमा जम्मा १ हजार ८३ मत पर्यो ।
चुनावी प्रचारका क्रममा वागी उमेदवार कोइरालाले चितवन ४ का विभिन्न गाविसमा चुनावी प्रचार केन्द्र समेत स्थापना गर्नुभएको थियो । गाडीसमेत लिएर सय बढी कार्यकर्ता अघिपछि लगाउँदै चुनावी प्रचारमा उत्रनुभएका कोइरालाले पनि धरौटी फिर्ता लिने मत पाउनुभएन ।
कांग्रेस उपसभापति पौडेलका बागीको पनि धरौटी जफत
तनहुँ २ मा कांग्रेस उपसभापति रामचन्द्र पौडेलविरुद्ध बागी उठेका तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले पनि धरौटी जोगाउन सक्नुभएन । उपसभापति पौडेललाई जनजाति विरोधीको आरोप लगाउँदै चुनावी मैदानमा उत्रनुभएका गुरुङको भागमा दुई हजार सात सय ७३ मत परेको थियो । तनहुँ २ मा ४० हजार दुई सय ५३ मत खसेको थियो ।
जनजातिहरुको बाक्लो बाहुल्यता रहेको भनिएको तनहुँ २ बाट उपसभापति पौडेल १८ हजार बढी मत ल्याएर पौडेले विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार मात्र मत ल्याउनुभयो । स्वतन्त्र उमेदवारी दिनुभएका गुरुङ भने २ हजार ७ सय ७३ मत ल्याएर धरौटी गुमाउँदै चौथो स्थानमा सीमित हुनुभयो ।
बागीकै कारण रामचन्द्र झा र देवेन्द्र कडेंलको रुवाबासी
आफ्नै पार्टीका कार्यकर्ता स्वतन्त्रमा उठेका कारण नवलपरासी ४ बाट कांग्रेस नेता तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कडेल पराजित हुनुभएको छ ।
कांग्रेस कार्यकर्ता गुणनीधि तिवारीले स्वतन्त्रमा उठेर ६ हजार बढी भोट ल्याएपछि कडेलले पराजय भोग्नुपर्यो । यसअघि जित्दै आउनुभएका कडेलले बागी उमेदवारले धेरै भोट काटेपछि हार व्यहोर्नुभएको हो ।
नवलपरासी ४ बाट यो पटक विजयी एमालेका वैद्यनाथ चौधरीले १० हजार सात सय ५० मत ल्याउनुभयो भने वहाँका निकटम प्रतिद्वन्द्व कांग्रेसका देवेन्द्रराज कंडेलले सात हजार पाँच सय ५० मत ल्याउनुभयो ।
त्यसैगरी एमालेमा रहेर पनि राम्रै प्रभाव जमाएका रामचन्द्र झा चुनावअघि सबै भन्दा ठूलो पार्टी एकीकृत माओवादीमा प्रवेश गर्नुभयो । एमाओवादीमा पसेपछि उहाँलाई पार्टीले धनुषा १ बाट टिकट पनि दियो ।
टिकट लिएर धनुषा पुगेपछि उहाँले एमाओवादीमा लामो समय जनयुद्ध लडेका श्रवण यादवको सामना गर्नुपर्यो । अध्यक्ष प्रचण्डले टिकट दिएर चुनाव लड्न पुगेका झालाई श्रवण यादवले चुनौति दिनुभयो ।
एमाओवादीले अन्यक्षेत्रमा बागी उठेकाहरुलाई कारवाही गर्ने धम्की दिंदै बागी फिर्ता लिन दिएको आदेश पालना भए पनि श्रवण यादवले ज्यान गएपनि नछोड्ने जनाएर झा विरुद्ध चुनावी मैदानमा उत्रेपछि झाले पराजय नै भोग्नुपर्यो । श्रवण यादव काईंयो चुनाव चिहृन लिएर चुनावी मैदानमा उत्रनुभएको थियो ।
ज्यान जोखिममा पार्दै धनुषामा १ मा चुनाव प्रचार गरेका झाले वागी उमेदवार श्रवण यादवले धेरै भोट काटिदिएपछि करिव करिव ३५ सय मतले नतिजा कांग्रेसका उमेदवारलाई सुम्पनुपर्यो ।
धनुषा १ मा विजेत कांग्रेसका दिनेशप्रसाद परसैला यादवले ८ हजार ८ सय २७ मत ल्याउनुभयो भने झाले ५ हजार ३ सय १० मत मात्र ल्याउनुभयो । दोस्रो स्थानमा रहनुभएका श्रवण यादवले ७ हजार ९ सय ४६ मत ल्याउनुभयो ।
####
0 comments
Write Down Your Comment