विदेशी सञ्चारमाध्यममा छायो नेपाल
###

 चटगाउँ, ४ चैत्र । नेपालले टीट्वान्टी विश्वकपमा गरेको विजयी सुरुआतलाई विदेशी सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ सम्प्रेषण गरेका छन्। नेपालले आफ्नो पहिलो विश्वकपको पहिलो खेलमै हङकङलाई हराएको समाचारले आयोजक राष्ट्र बंगलादेशदेखि लिएर भारत, पाकिस्तान, युएईलगायका सञ्चारमाध्यममा पर्याप्त स्थान पाएको छ।

यसैगरी अमेरिकाको एसोसिएटेड प्रेस (एपी), फ्रान्सको एजेन्सी फ्रान्स प्रेसे (एएफपी) लगायतका अन्तर्राष्ट्रिय समाचारमा पनि नेपाली क्रिकेटको समाचारले महत्त्वपूर्ण स्थान पाएको छ।

भारतीय च्यानल जी न्युजले हङकङविरुद्धको खेलमा नेपालको जितमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र वसन्त रेग्मीले दिएको योगदानको चर्चा गरेको छ। क्रिकेटको चर्चित वेभसाइट क्रिकइन्फोले पनि नेपाली स्पिनरको खुलेर प्रशंसा गर्दै सन् २००९ पछि पहिलोपटक आइसीसीको कुनै पनि एसोसिएट राष्ट्रले टीट्वान्टी विश्वकपमा सफलता हात पारेको तथ्यांक प्रस्तुत गरेको छ।

यसैगरी भारतको एनडीटिभी, आजतकजस्ता च्यानलले पनि विश्वकपमा नेपालको सफलताको समाचारलाई महत्त्वका साथ सम्प्रेषण गरेका छन्। पाकिस्तानको चर्चित समाचार संस्था दि डनले पनि पहिलो विश्वकपको पहिलो खेलमै नेपालले हात पारेको सफलताको प्रशंसा गरेको छ। विदेशी सञ्चारमाध्यमले खासगरी नेपाली खेलाडीको प्रदर्शन विश्व क्रिकेटका हस्ती राष्ट्रका खेलाडीको भन्दा कम नरहेको टिप्पणी गरेका छन्।

भारतको इन्डियन एक्सप्रेसले नेपाल र हङकङबीचको खेलका सबै टिकट बिक्री भएको प्रसंग कोट्याएर नेपाली क्रिकेटरले देखाएको उत्साहको चर्चा गरेको छ। बंगलादेशका सञ्चारमाध्यमले पनि नेपालको सफलतालाई निकै महत्त्व दिएका छन्। विश्वकप सुरु हुनुअघि आयोजक राष्ट्र बंगलादेशमा नेपाली क्रिकेटबारे कसैलाई थाहा थिएन। ढाका सहरमा नेपालले पनि क्रिकेट खेल्छ भनेर आश्चर्य व्यक्त गर्नेहरूको कमी थिएन।

बंगलादेशी राष्ट्रिय टोलीका क्रिकेटहरूले त विश्वकप सुरु हुनुअघि नेपाली क्रिकेटको बारेमा आफूहरू अनभिज्ञ रहेको सार्वजनिक रूपमै स्वीकार गरेका थिए। तर पहिलो खेलमा हङकङलाई हराएर नेपाली क्रिकेटरले आयोजक राष्ट्रका क्रिकेटर मात्र होइन, सर्वसाधारणलाई पनि गतिलो जवाफ दिएका छन्। नेपालले मंगलबार आफ्नो दोस्रो खेल बंगलादेशसँगै खेल्दै छ। नेपाल र हङकङबीचको खेल हेरेपछि बंगलादेशी खेलाडीले समेत नेपालविरुद्धको खेललाई गम्भीर रूपमा लिएको प्रतिक्रिया दिएका छन्।

चटगाउँमा नेपालले हङकङमाथि ८० रनको जित हात पारेको समाचारले सोमबार स्थानीय पत्रिका भरिएका थिए। पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाले समेत नेपाली टोलीको खेलको खुलेर प्रशंसा गरेका छन्। ‘बंगलादेशमा चम्कियो नेपाल’ चटगाउँको एक दैनिक पत्रिका दि डेली स्टारले लेखेको थियो। शक्ति गौचन र ज्ञानेन्द्र मल्लको तस्बिर सहितको समाचार लेखेको डेली स्टारले नेपाली समर्थकको पनि मुक्तकण्ठले प्रशंसा गरेको थियो।

नेपालको खेल हेर्न नआएका व्यक्तिले पनि नेपालको जितको चर्चा गरेका थिए। ‘नेपालले जित्यो होइन?’, स्थानीय केक पसलका एक व्यापारीले नेपाली पत्रकारको समूहलाई देखेपछि सोधेका थिए। आइतबारको खेलमा घरेलु दर्शकले पनि नेपाली टोलीलाई साथ दिएका थिए। स्थानीय सञ्चारमाध्यमले स्थानीय भाषामा नेपाली क्रिकेटको विषयमा लेखेपछि कप्तान पारस खड्काले भनेजस्तै विश्वसामु नेपाललाई चिनाउने पहिलो लक्ष्य पूरा भएको छ।
####

0 comments

Write Down Your Comment