पाँचबहिनी छोरी आमाको किरियामा
###

महोत्तरी, माघ २ – हिन्दु परम्परा अनुसार बाबु आमाको मृत्युपछि छोराले काज किरिया गर्छन् । छोरा नहुनेको भाई भतिजाले र भाइभतिजा पनि नहुनेको काज किरिया गर्न नजिकका कुनै पुरुष अघि सर्छन् ।
तर महोत्तरी गौरीवासमा भने आफ्नी आमाको मृत्युपछि ५ जना छोरीहरुले नै काज किरिया गरेका छन् । गौरीवास २ की चण्डीमाया आलेको गएको पुस २४ गते ७५ बर्षको उमेरमा निधन भएपछि पाँच जना छोरीले काज किरिया गरेका हुन् ।
चण्डीमायाका सात छोरी भएपनि दुई वटी घर बाहिर भएकाले पाँच जनाले किरिया गरेका हुन् । छोरीहरु पबिमाया क्याप्छाकी, ओममाया सुस्लिङ, मनु रखाल, प्रमिला राना र कान्छिमाया राना छोरा जसरी नै आमाको काज किरियामा बस्नुभएको हो ।
आमाबाबुको मृत्यु हुँदा छोरीले सेतो कपडा पहिरिनुनपर्ने भएकाले उहाँहरुको पहिरन भने सामान्य नै छ । जन्म दिने आमाको किरिया छोराले मात्र नभएर छोरीले पनि गर्नुहुन्छ भनेर आफूहरु आमाको काममा बसेको जेठी छोरी पबिमायाँ क्याप्छाकीले बताउनुभयो । समाजका कतिपयले छोरा नभए नजिकको कसैलाई पारिश्रमिक दिएर भएपनि कोरामा राख्नुपर्छ भनेका तर आफूहरुले त्यसलाई नमानेको उहाँको भनाई छ ।
गाउँकै पुरेत झलकमान दहालले छोरा नहुनेका छोरीले पनि आफ्ना आमा बाबुको काज किरिया गर्दा हुन्छ भनेर उहाँहरुलाई हिन्दु धर्म अनुसार मृत्यु संस्कारको कर्म गराई रहनुभएको छ ।
महिला सञ्जाल गौरीवासकी अध्यक्ष रमा बिष्टले चण्डीमायाका छोरीहरुको कदमले समाजमा बिद्यमान छोराछोरीबीचको बिभेद हटाउन सहयोग पुग्ने बताउनुभयो ।
####

,

0 comments

Write Down Your Comment