डाक्टर भन्छन्- ‘अत्यावश्यक’ भनेको ‘इमर्जेन्सी’ हो, त्यो खुल्ला छ
###

अस्पताल खोल्नुको साटो सामुहिक राजीनामाको धम्की
७ माघ, काठमाडौं । अस्पतालजस्तो अत्यावश्यक सेवा बन्द नगर्न सर्वोच्च अदालतले दिएको आदेशलाई अर्को व्याख्या गर्दै नेपाल चिकित्सक संघले विरामीहरुले इमर्जेन्सीबाटै अत्यावश्यक सेवा पाउने बताएको छ ।
संघले अस्पतालको अत्यावश्यक सेवा इमर्जेन्सी सेवाबाटै उपलब्ध गराउने बताएको छ । अत्यावश्यकबाहेक अन्य सेवामाथिको बन्द निरन्तर रहने चिकित्सक संघले जनाएको छ ।
मंगलबार नेपाल चिकित्सक संघका महासचिव डा. मुक्तिराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतले दिएको आदेशलाई उच्च सम्मान गर्दै अत्यावश्यक स्वास्थ्य सेवाहरु ईमरजेन्सी सेवाबाट प्रदान गर्न गराउन नेपाल चिकित्सक संघ सम्बन्धित सबैमा हार्दिक आहृवान गर्दछ ।’
अदालतको आदेशमा अस्पताल खोल्न भनिए पनि चिकित्सक संघले यसलाई अटेर गर्दै आन्दोलनमा थप समर्थन गर्न आग्रह गरेको छ । आफ्ना माग पूरा नभए चिकित्सकहरुले सामुहिक राजीनामा दिने धम्कीसमेत दिइएको छ ।
संघद्धारा सञ्चालन गरिने आन्दोलनले देशको समग्र स्वास्थ्य क्षेत्रलाई विकृति, विसंगती र माफियातन्त्रबाट बचाउन कडा कदम चाल्न बाध्य पारेको चिकित्सक संघले पुनः स्मरण गराउादै यसलाई महान कार्य भनेको छ । अदालतले एक घण्टाभित्र अस्पताल खोल्न भने पनि संघले आन्दोलनमा सबैको पूर्ण समर्थन र ऐक्यबद्धताका लागि अपीलसमेत गरेको छ ।
‘आमरण अनसनमा बसेका प्रा. गोविन्द के.सी.को जीवन रक्षार्थ गरिएका सम्पूर्ण प्रयासहरुबाट स्वास्थ्य सेवामा पर्न जाने असुविधाप्रति संघ गहिरो दुःख व्यक्त गर्दछ,’ श्रेष्ठको वक्तव्यमा भनिएको छ, ‘उक्त कदमबाट सिर्जना हुने कुनै पनि अपि्रय कार्यको जिम्मेवारी नेपाल सरकार नै हुने नेपाल चिकित्सक संघको ठहर छ ।’
समस्या समाधानमा सक्रिय तत्परता नदेखाई सरकारबाट बल प्रयोग गर्ने प्रयास भएमा नेपालका सम्पूर्ण चिकित्सकहरु एवं स्वास्थ्यकर्मीहरु सामुहिक राजीनामा दिन बाध्य हुने कुरा समेत संघका महासचिव श्रेष्ठले वक्तव्यमार्फत चेतावनी दिएका छन् ।
शिक्षण अस्पतालमा आमरण अनसनमा बसेका डाक्डर गोविन्द केसीको जीवन रक्षाका साथै स्वास्थ्य क्षेत्रमा भएका विकृति, र माफियातन्त्र अन्त्यका लागि भन्दै चिकित्सकहरुले माघ ५ गतेदेखि निरन्तर रुपमा नेपालका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द गर्दै आइरहेका छन् । यसैवीच सोमबार सर्वोच्च अदालतले बन्द गरिएका सेवा एक घण्टाभित्र खोल्न आदेश दिएको छ।
विज्ञप्ति पढ्नोस्
####

0 comments

Write Down Your Comment