प्रचण्डनिवासको कन्तुर डिलाराम आचार्यलाई जिम्मा
###

रुपान्तरणका लागि प्रचण्डका चार प्रतिवद्धता
१९ माघ, काठमाडौं । ‘सीता भाउजू साह्रै मितव्ययी हुनुहुन्छ, मैले पैसा माग्दा उहाँले यति चाहिएला र ? भन्दै खटाएर दिनुहुन्छ, अरुलाई झन् कसो गर्नुहोला ?’ प्रचण्ड निकटका एकजना नेताले चुनावका बेला अनलाइनखबरसँग भनेका थिए, ‘फारुतिनो गर्ने र मितव्ययी बन्ने कुरा हामीले सीता दाहालबाट सिक्नुपर्छ ।’ त्यसो त चुनावकै बेला पैसा माग्न लाजिम्पाट गएका काठमाडौं ४ का उम्मेद्वार नन्दकिशोर पुन (पासाङ)लाई पैसा नदिई फर्काइएको र पासाङले चुनाव लड्न पर्याप्त पैसा नपाएको गुनासो पनि एमाओवादीवृत्तमा सुनिएको थियो ।


यी दुईवटा उदाहरणले के स्पष्ट पार्छन् भने एमाओवादीको आर्थिक स्रोत प्रचण्डनिवास लाजिम्पाटबाटै परिचालित थियो र त्यहीँबाट प्रचण्डपत्नी सीता दाहालमार्फत् यसको सञ्चालन हुन्थ्यो । तर, अबदेखि लाजिम्पाटमा रहेको कन्तुरको साँचो अर्का नेता डिलाराम आचार्यको हातमा पुगेको छ । शनिबार सम्पन्न केन्द्रीय समिति बैठकमा समापन भाषण गर्दै प्रचण्डले अबदेखि आर्थिक क्रियाकलाप आर्थिक विभागबाटै सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले आर्थिक विभागबाट चल्ने बताएसँगै नेता डिलाराम आचार्यलाई आर्थिक विभागको संयोजक बनाइएको हो ।

रुपान्तरणका लागि प्रचण्डका चार सूत्र 
अध्यक्ष प्रचण्डले आफैंबाट रुपान्तरण सुरु गर्ने भन्दै चार सुत्र अघि सारेका छन् । प्रचण्डका ती सूत्रहरुमा आर्थिक विभागबाट चल्ने, लाजिम्पाट छाड्ने र परिवारलाई व्यवस्थापन गर्ने, सचिवालय व्यउवस्थित बनाउने, जथाभावी मान्छे नभेट्ने र मिडियामा जथाभावी नबोल्नेलगायत रहेका छन् । नेता डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहितका नेताहरुले सच्चिएर प्रचण्डकै नेतृत्वमा अघि बढ्ने अन्तिम मौका भएको बताएपछि प्रचण्डले केन्द्रीय समिति बैठकमा आफैंबाट रुपान्तरण सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् ।

लाजिम्पाट छाड्ने, प्रकाशलाई समेत निकाल्ने 
प्रचण्डले जनतामा भ्रम पर्ने गरी भएको पारिवारिक सम्वन्ध र बसाइलाई सच्याउने भन्दै लाजिम्पाट छाड्ने बताएका छन् । डेराको खोजी भइरहेको भन्दै उनले डेरा खोज्न सहयोगका लागि केन्द्रीय सदस्यलाई आग्रहसमेत गरेका छन् ।

 प्रचण्डपुत्र प्रकाश र विना मगरको सम्बन्धले पार्टीलाई बदनाम गरेको भन्दै एमाओवादी नेताहरुबाटै आलोचना हुँदै आएका बेला प्रचण्डले परिवार व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् । ‘प्रकाशले पनि सचिवालय छाड्छु भनेकै छ, उसलाई आफूसँग राख्दिँन’, प्रचण्डले बैठकमा भने, ‘पाँच वर्षका लागि लाजिम्पाटको घर साथीहरुले भाडामा लिएका थिए, अब त्यो पनि छाड्छु, अर्को डेरा खोज्दैछु, तपाईहरुले पनि सहयोग गरिदिनुहोस् ।

जसलाई पायो, त्यसलाई भेट्दिँन 
आफ्नो निजी सचिवालय व्यवस्थित गर्ने भन्दै प्रचण्डले बैठकमा भने-’जसले पायो उसले भेट्ने प्रक्रिया रोक्छु र सचिवालयलाई व्यवस्थित बनाउँछु ।’ प्रचण्डलाई कांग्रेस नेता अमरेशकुमार सिंह र अजय सुमार्गीका साथै रअका एजेन्टलाई नभेट्न नेताहरुले आग्रह गरेपछि प्रचण्डको यस्तो प्रतिवद्धता आएको हो । आफ्नो दलभित्रका नेता, कार्यकर्ताले आफूहरुले भेट्न नपाउने तर, अरुको सहज पहुँच भएको गुनासो गरेपछि प्रचण्डले आफूलाई सच्याएका हुन् । मान्छे भेटघाटमा भन्दा वैचारिक काममा जोड गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
मिडियामा जथाभावी बोल्दिँन 
एमाओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा जथाभावी नबोल्ने प्रतिवद्धतासमेत जनाएका छन् । पछिल्लो समय आफू अलोकपि्रय भएको र आफ्नो अभिव्यक्ति सस्तो भएको भन्दै उनले भनेका छन्-’ मिडियामा बोल्दा अत्यावश्यकमात्रै बोल्छु । पार्टीको आधिकारिक कुरा मात्र गर्छु ।’
प्रचण्डले विहान एउटा, दिउँसो अर्को र साँझ अर्को कुरा गर्ने गरेको भन्दै अन्य दलबाट मात्रै नभई पार्टी नेता कार्यकर्ताबाटै उनलाई बोलीको ठेगान नभएको र अविश्वसनीय नेताका रुपमा लिन थालिएको थियो ।
####

0 comments

Write Down Your Comment