‘जागीर नपाए पत्रकार हुनु’
###

 ‘भन्न त जीवन सिकाई हो’ भनिन्छ तर ‘कति सिक्ने’ र ‘के सिक्ने’ महत्वपूर्ण पक्ष हो । राम्रो सिके परिणाम राम्रो आउँछ नराम्रो सिके गलत । अथवा सकारात्मक विषयको जीवनोपयोगी परिणाम आउँछ नकारात्मकताले दुखद् । विद्वानहरुले भन्ने गर्छन् ‘जीवनमा केही गर्नुछ भने भलाईका निम्ति गर, ताकि त्यसले अरुको भविष्यलाई समेत सुखद् बनाओस् ।’ सोच्नेबेला प्रायः सबैले त्यस्तै सोच्छन् तर गर्नेबेला अधिकांशले ठीक उल्टो गर्छन् । ‘धुमपान’ गर्नेले त्यसको परिणाम पत्तो पाउँछ तर पनि गर्न छाड्दैन, यो सरल उदाहरण हो । उसो त पत्रकारिता गर्नेको वर्तमान देख्नमा जति हाइफाई र उज्ज्वल छ, भविष्य त्यति नै अन्धकार । जीवन लगाएर पत्रकारिता गर्नेले समाजलाई दिनुबाहेक केही गर्दैन । तर बदलामा उसले न सोचेजस्तो ‘जस’ पाउँछ न त जीवनको उत्तरार्द्धमा बाँच्न पुग्नेजति ‘सुविधा’ नै । आफ्नो भविष्यलाई अनिश्चित् गरेर अरुको सेवामा समर्पित भइरहने पेशा हो ‘पत्रकारिता’ । तर कतिपयले यसलाई दुरुपयोग गरी ‘कमाउने धन्दा’ बनाइदिएका छन् । जुन दीर्घकालिन कहिल्यै हुन सक्दैन ।

नेपाली विकिपीडियाले “पत्रकारिता कुनै अर्थमूलक सूचना वा जानकारी कुनै स्रोतबाट लिई सञ्चारमाध्यममार्फत् सर्वसाधारणसमक्ष पुर्‍याउने कार्य हो” भनेको छ । यस्तो कार्यमा संलग्न व्यक्ति नै ‘पत्रकार’ हो । यसको अर्थ पत्रकार कुनै हुलाकीको अर्को रुप होइन । पत्रकारले समाचार खोज्छ, लुकेको सूचनालाई पर्गेल्छ र समाचारको शैलीमा सूचनालाई सार्वजनिक गर्छ । अथवा पत्रकारले सृजना गर्छ, हुलाकीकोजस्तो प्रवाह मात्रै गर्दैन । सृजना गर्न क्षमता, दक्षता र विवेक चाहिन्छ । त्यसैले पत्रकारितालाई ‘लिखापढा पेशा’ भनेर पनि चिन्ने गरिन्छ । तर हाम्रो समाजमा पढ्न नसके ‘पत्रकार’ हुनु भन्ने गलत बुझाई रहँदैआएको छ । यो नेपाली पत्रकारिताकै निम्ति दुर्भाग्य हो ।
अहिले ‘पत्रकार’लाई कतिपयले ‘पर्चाकार’ ‘अलपत्रकार’को संज्ञा दिन्छन् । उचित दक्षता, सीप र कौशलता नभएपछि पत्रकार ‘पर्चाकार’ र ‘अलपत्रकार’ हुन्छ नै ।

सूचनाको स्रोत सबैभन्दा पहिले पत्रकारले पत्तो पाउँछ । सूचनाको स्रोत कुनै आसमान या पातालमा हुँदैन । समाज, व्यक्ति र घरदैलोमै ती सूचनाहरु हुन्छन् । मात्रै त्यो सूचना सार्वजनिक चासोको विषय हुनसक्छ कि सक्दैन चिन्ने काम पत्रकारले गर्छ । कुनै व्यक्तिसँग रहेको सूचनालाई सो व्यक्तिले सूचना भनेर चिन्दैन । त्यसको महत्वलाई महुशस गर्न सक्दैन । जब पत्रकारले त्यसलाई सञ्चारमाध्यम मार्फत् सार्वजनिक गर्छ, दुईचार पाठकले सो व्यक्तिलाई सम्पर्क गरेर बधाई अथवा टिप्पणी गर्छन्, अनि उसले सूचनाको महत्वलाई महशुस गर्नथाल्छ । पत्रकार त्यही हो जसले सामान्य लागेको सूचनालाई वजनदार र सबैको चासोको विषय सावित गरिदिन्छ । पत्रकारले आफ्नो जिम्मेवारी पूरा गर्‍यो कि गरेन भन्ने कुरा उसको समाचारकोको प्रभावले प्रष्टिन्छ । समाजमा सूचनाले सकारात्मक प्रभाव पार्‍यो कि नकारात्मक । त्यसले पत्रकारको क्षमता, दक्षता र सूचनाको प्रभावकारीतालाई तौलन्छ ।

अहिले ‘पत्रकार’लाई कतिपयले ‘पर्चाकार’ ‘अलपत्रकार’को संज्ञा दिन्छन् । उचित दक्षता, सीप र कौशलता नभएपछि पत्रकार ‘पर्चाकार’ र ‘अलपत्रकार’ हुन्छ नै । जोकोहीले गर्नसक्ने होइन पत्रकारिता । अदक्ष, ट्यापे, मुन्द्रेले गर्ने पेशा पनि होइन । यो सम्मानित पेशा हो । केही अलपत्रकारहरु र पर्चाकारहरुको घुसपैठले यो पेशालाई बदनाम गरिने दुस्प्रयास भने भएकै छ । ‘न्याय नपाए गोर्खा जानु’ भन्ने पुरानो उखानझैं ‘जागीर नपाए पत्रकार हुनु’ जस्तै भएको छ अहिले । यो मनसाय घुसपैठ गर्ने व्यक्ति र देशकै निम्ति घातक हो । यसले समाजलाई सही दिशाबोध गर्न सक्दैन । जो आफू कहाँपुग्ने विषयमा स्पष्ट हुँदैन, उसले समाजलाई बाटो कसरी देखाउन सक्छ ? आफ्नै भविष्यको पहिचान गर्न नसक्नेले देश र नागरिकको सुन्दर भविष्यको परिकल्पना कसरी गर्नसक्छ ? त्यसैले पनि यो दक्षहरुको पेशा हो । सकारात्मक सोच राख्नेको पेशा हो र समाज रुपान्तरणका निम्ति ओतप्रोतहरुको पेशा हो । यो पेशालाई त्यहीरुपले सम्मानजनक र मर्याद्धित बनाउनुपर्छ । जो अहिले हुन सकेको छैन ।
पत्रकारिता चुनौतिले भरिएको छ । समाज रुपान्तरणका निम्ति धेरै कठिनाई र चुनौतिको सामना गर्नुपर्ने नै हुन्छ । केही गलत प्रबृत्ति भएकाहरुले आफ्नो गलत कामको वर्चस्व कायम राख्न अनेक हथकण्डा अपनाउँछन् । जुन काम समाजकोनिम्ति उपयोगी छैन, देश र नागरिकको हकहितमा छैन भने त्यसको विरुद्धमा ‘घुँडा टेकेर’ कलम चल्नुपर्ने हुन्छ । त्यस्तो बेलामा अनेक डर, धाक, धम्की र प्रलोभन पनि आउनसक्छ । पत्रकार आफ्नो मिसनमा दृढरहन सक्नुपर्छ । ज्यानको बाजीलगाउनु परेपनि गलत कामलाई प्रश्रय दिनेखालको सूचना सम्प्रेषण गर्नबाट सधैं टाढा रहन सक्नुपर्छ । पत्रकारिता त्यही हो जसले समाजलाई सही बाटोमा डोर्‍याउन सकोस् । एउटा पत्रकारको ज्यान गए सयौं पत्रकार जन्मिन्छन् । ‘ज्यान गए जाला’ तर सही कदमबाट पछि हट्दैन भन्ने दृढसंकल्पित हुन सक्नैपर्छ । त्यस्तो पत्रकार र पत्रकारिता समाजकानिम्ति उपयोगी सावित हुनसक्छ । समाजले पनि पत्रकारिताको सही मूल्याङ्कन गर्ने वातावरण निर्माण हुन्छ । समाज र पत्रकारिता एक-अर्काको पूरक हुन् भन्ने प्रष्टिन्छ ।
तर यसो भनिरहँदा त्यसलाई व्यवहारमा उतार्न कम समस्या छैन । दुर्भाग्य ! भन्नुपर्छ पत्रकारकानिम्ति राज्य सकारात्मक कहिल्यै बनेन । ‘चौथोअङ्ग’को संज्ञा दिएर पत्रकारलाई जिउँदैमार्ने काम गरिरहेको छ । पत्रकारले देश र नागरिककानिम्ति जिम्मेवारी निर्वाह गर्छन् भने त्यस्तो पत्रकारको सुरक्षा र जीवन जिउने सुनिश्चित्ता राज्यले गरिदिनुपर्छ । भोकोपेट लिएर कस्ले के नै गर्नसक्छ र ! नेपाली पत्रकारहरु ग्याष्टिक रोगका खानी भएका छन् । न समयमा खानु छ न सुत्नु छ । जतिबेला पनि समाचारकानिम्ति दौडिनु छ । त्यसो नगरिए जिम्मेवारी पूरा हुँदैन । जिम्मेवारी पूरा गरौंभने स्वास्थ्यको समस्या आईपर्छ । पत्रकारकानिम्ति कामगर्ने समयको सीमा हुँदैन । निजामती कर्मचारीलेजस्तो ‘टेनटुफाइभ’ भन्न पत्रकारिताको धर्मले दिंदैन । जहिले, जतिबेला पनि पत्रकार ‘अलर्ट’ बस्नैपर्छ । समाजलाई नयाँ कुरा दिनैपर्छ । एकठाउँमा भएको कुनै समाचारलाई अर्को ठाउँमा पुर्‍याउनैपर्छ ।

पत्रकारिता पेशा अङ्गाल्नेका निम्ति राज्यले उचित मापदण्ड बनाउनुपर्छ । कति योग्यता पुगेकालाई पत्रकार मान्ने, पत्रकारले के-के काम गर्नपाउने या नपाउने । पत्रकार हुन कुनै परीक्षा पास गर्नु नपर्ने हुनुहुँदैन । मापदण्डलाई व्यवहारमा लागुगर्ने कडाई गरिनुपर्छ । पत्रकार भनेका ‘जे पनि हुन्’ भन्ने सोचाई गलत हो । पत्रकार छाडा हुनुहुँदैन । आफ्नो जिम्मेवारी र अनुशासनमा बस्नैपर्छ । त्यसकानिम्ति उचित ऐन र कानून चाहिन्छ । गल्ती गर्नेलाई कडाईकासाथ सजायको भागीदार बनाउनुपर्छ । कामगर्ने वास्तविक पत्रकारलाई सोहीअनुसार पेन्सन, अनुदान र राज्यकोतर्फबाट सहुलियतको व्यवस्था गरिदिनुपर्छ । त्यसो भयो भने जो पायो त्यही पत्रकारितामा आउनबाट बन्चित हुन्छ र देखिएको विकृति र विसंगतिहरु स्वतः समाप्त हुनेछन् । जीवन लगाएर पत्रकारिता पेशामा लाग्नेहरु बुढेसकालमा शरीरले साथदिन छाडेपछि खालीहात पत्रकारिताबाट बाहिरिनु परिरहेको छ । घरमा श्रीमती बच्चाको कचकच सुन्नुपर्छ । सबै श्रीमती र बच्चालाई राम्रो लाउने, मीठो खाने रहर हुन्छ नै ।

पत्रकारितालाई ‘तेस्रोआँखा’ भनेर पनि चिनिन्छ । ज्ञानरुपी आँखाले समाजको सही र गलत चिजलाई पर्गेल्नुपर्ने हुन्छ । तर त्यसको सही मूल्याङ्कन हुनसक्दा यो पेशाप्रति आमनागरिकको सोचाई नै नकारात्मक हुँदैगएको छ । उसो त अहिलेको समाज र राजनीतिमा पनि व्यापक विकृति बढेको छ । त्यसको छायाँ पत्रकारिता र नागरिकमा पर्नु अस्वाभाविक होइन । राजनीतिमा प्रवेश गर्नेले पनि कुनै परीक्षा पासगरेर जानु पर्दैन । कुनै तालिम र प्रशिक्षण लिनुपर्दैन । पैसा भएपछि जस्तोसुकै पद ‘हातपार्ने’ गलत परिपाटी बसिसकेको छ । त्यसैले पनि नागरिकमा जे गरेर हुन्छ, ‘पैसा कमाउ’ भन्ने गलत प्रबृत्ति झाङ्गिदै गएको छ । अहिलेको पत्रकारिता पनि राजनीतिक दलबाट टाढा छैन । दलीयअनुसार पत्रकारका संगठनहरु बन्नेगरेका छन् । पार्टीकै ‘क्याडर’ नै पत्रकारिता क्षेत्रमा हावी हुने परिपाटी बढेको छ । त्यसैले पनि गलत राजनीतिक प्रबृत्तिको रोग पत्रकारितामा प्रवेश नगर्ने त कुरै भएन । त्यसकै शिकार अहिले नेपाली पत्रकारिता राजनीतिक दलभन्दा फरक देखिएन । पत्रकारहरुको संगठमा निर्वाचन हुँदा सिधैं राजनीतिकदलको हस्तक्षेप भएको महुशस हुनु त्यसकै परिणम हो ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिदैगएको छ । जिल्ला र प्रतिष्ठान शाखामा नयाँ कार्यसमिति र निर्वाचन प्रतिनिधि निर्वाचित भइसकेका छन् । कुनैबेला पत्रकारिता शुरु गरेर पेट पाल्नकै निम्ति अन्य पेशा अङ्गालेकाहरु अझै पत्रकारकै सदस्यतामा छन् । उनीहरुको मताधिकार कायमै छ । जसलेगर्दा सही पत्रकारले महासंघमा स्थान सुरक्षित गर्न सक्दैन । गैरपत्रकार भइसकेकाहरुको शुद्धिकरण हुन सकेको छैन । महासंघ स्वयम्ले यो अभियानलाई अगाडि बढाउनुपर्ने हो तर दलीय सोच र प्रबृत्तिकैकारण सो काम हुनसकेको छैन ।

आगामी वैशाखमा हुने महासंघको निर्वाचनमा विगतझैं ‘पत्रकार’लेभन्दा ‘भोटर’ले महासंघको नेतृत्व छान्नेमा प्रवल देखिएका छन् । पत्रकारिता पेशा त्यागिसकेकाहरुले आफैबाट सकारात्मक सोचाईको शुरुवात् गर्ने हो कि !
####

0 comments

Write Down Your Comment