नेकपा–माओबादीद्वारा भट्टराईलाई कारबाहीको धम्की
###

नेकपा–माओवादी गोरखाले पूर्वप्रधानमन्त्री, एमाओवादी नेता तथा गोरखा क्षेत्र नंबर १ का प्रत्यक्षतर्फका उम्मेद्वार डा. बाबुराम भट्टराईलाई कारबाही गर्ने जनाएको छ। सोमबार राती करीब नौ बजेतिर 'गोप्य शैलीमा' पत्र दिई बिभिन्न सात वटा कारणले भट्टराईलाई कारबाही गर्न लागेको जनाएको छ। तर पत्रमा कारबाहीको प्रकार, समय र स्थान भने तोकिएको छैन।



पत्रमा उत्पीडित, जनसमुदाय र नेपाली क्रान्तिलाई भट्टराईले धोका दिएको, साम्रज्यवादी तथा विस्तारबादी शक्तिको योजना र निर्देशनमा राष्ट्रिय सहमति विना असंवैधानिक र अलोकतान्त्रिक ढंगले राजनीतिक प्रक्रिया अगाडि बढाएको आरोप लगाइएको छ।


 साथै सर्बहारा बर्गको प्रतिनिधि भएर सुकुम्बासी जनताको बस्तीमा क्रुर ढंगले डोजर लगाएको, संबिधान सभाको कथित दोस्रो निर्बाचन गर्ने बहानामा नेपाली जनसमुदायमाथि सेना परिचालन गर्न मतियार बनेको, सेना समायोजनको नाममा हजारौ सहिदको बलिदानीबाट निर्माण भएको जनमुक्ति सेनालाई बिघटन गराएको, भारतीय बिस्तारवादसंग नांगो दलाली गर्दै 'मैले जुवा खेलें' भन्दै भारतसँग राष्ट्रघाती बिप्पा सम्झौता गरेको र राष्ट्रिय स्वाधिनतालाई तिलाञ्जली दिँदै देशलाई सिक्किमीकरणको दिशामा लगेको, गृहयुद्धमा धकेलेको आरोप पत्रमा लगाइएको छ। पार्टीको आधिकारिक लेटरप्याडमा नलेखिएको भूमिगत शैलीमा आएको सो पत्र पार्टीले नै तयार गरेको नेकपा–माओवादीले जनाएको छ।

 नेकपा–माओवादीका जिल्ला सेक्रेटरी नारायण अधिकारीले यसलाई यसरी नै बुझिदिन आग्रह गरे। 'अहिलेको अवस्थामा हाम्रो कार्यशैलीको बारेमा सबै कुरा नभनौं, यसलाई यसरी नै मात्र बुझिदिनु होला' अधिकारीले भने। यसबारेमा बाबुराम भट्टराईसँग बुझ्न खोज्दा उनका सहयोगी विश्वदीप पाण्डेले यसको बारेमा राम्ररी बुझेर मात्रै प्रतिक्रिया दिने बताए।
 हेर्नुहोस् बाबुरामलाई कारबाही किन भनेर नेकपा-माओवादीले पठाएको पत्र


####

0 comments

Write Down Your Comment