अस्पतालको चौरमै यसरी जन्मियो बच्चा
###

अस्पतालको चौरमा एक महिलाले रुँदै बच्चा जन्माइरहेको तस्वीरले अहिले विश्वभर नै तहल्का मच्चाइरहेको छ । मेक्सिकोको एक अस्पताल बाहिरको चौरमा रुँदै बच्चा जन्माइरहेकी यी महिलाको तस्वीरका कारण मेक्सिको सरकारले अनलाइनमा धेरै मानिसको आलोचना बेहोरिरहनु परेको छ भने ठूलो बेइज्जती समेत खप्नु परेको छ ।


उक्त तस्वीर इन्टरनेट हुँदै पत्रिकाको बाहिरी पृष्ठमा समेत प्रकाशित भएसँगै राष्ट्रिय बहसको सिर्जना भयो र अन्ततः मेक्सिको सरकारले महिलालाई चौरमा बच्चा जन्माउन बाध्य पार्ने उक्त अस्पतालका प्रमुखलाई निलम्बन गरेको छ । वास्तवमा त्यो दर्दनाक तस्वीर मेक्सिकोको एक आदिवासी समुदायकी महिलाको हो । २९ वर्षकी र्इमा लोपेज बच्चा जन्माउनका लागि ओआक्जाका राज्यस्थित सरकारी अस्पतालमा गइन् । तर अस्पतालका नर्शहरुले ती महिलालाई सुत्केरी गराउन अस्विकार गरे ।


अस्पतालमा भर्ना हुन नपाएपछि उनी अस्पतालको चौरमा गएर बच्चा पाइन् । उनले रुँदै बच्चा पाइन् । बच्चा चौरमा खस्यो तर त्यसलाई सम्हाल्ने कोही थिएन । त्यत्तिकैमा कसैले त्यो तस्वीर खिच्यो र त्यसलाई इन्टरनेटमा अपलोड गर्यो । यो घटना गएको अक्टोबर २ तारेखको हो । यो अमानवीय घटनाको पर्दाफास भएपछि ओआक्जाका राज्य सरकारले उक्त स्वास्थ्य केन्द्रका प्रमुखलाई निलम्बन गरी घटनाको छानविन सुरु गरेको छ । लोपेजले बच्चा पाउनका लागि अस्पतालमा जाँदा त्यहाँका नर्सले अझै बच्चा पाउने बेला भएको छैन भनि फर्काएका र आफुलाई सुत्केरी व्यथाले च्याँपेर चौरमै बच्चा जन्मिएको बताइन् । आफुले स्पेनिस भाषा नजान्ने भएकाले नर्सले बोलेका अरु कुरा नबुझेपनि हुँदैन भन्ने शव्द बुझेकाले आफु अस्पतालबाट बाहिरिएको उनको भनाइ छ ।



 सुत्केरी व्यथाले च्याँपेर अस्पताल पुगेकी महिलालाई जातियताकै आधारमा फिर्ता गरेका नर्सले भने आफ्नो बचाउ गर्दै भाषाकै कारणले त्यस्तो घटना भएको दाबी गरेका छन् । नर्स विभागकी प्रमुखले कर्मचारीहरुको संख्या कम भएको र आंशिक रुपमा काम समेत रोकिएकाले ती महिलालाई फर्काउन बाध्य भएको बताइन् । नर्सले फर्काएपछि घरतिर लाग्दै गर्दा व्यथा निकै बढेपछि उनी अस्पतालकै चौरमा टुक्रुक्क बसिन् र बच्चा त्यहीँ जन्मियो । उनका लोग्ने नर्सलाई बोलाउन जाँदा सुरुमा नर्सहरु आएनन् र पछि ठूलै भिड जम्मा भएपछि मात्र नर्सहरु आएर उनलाई भित्र लगे । स्मरण रहोस् ओआक्जा मेक्सिकोको सबैभन्दा गरीब प्रान्त हो । त्यहाँ शिशु तथा मातृ मृत्युदर उच्च रहेको छ । त्यो क्षेत्रमा आदिवासी समुदायको समेत बसोबास छ । लोपेजले चौरमा जन्माएको आफ्नो छोराको नाम साल्भाडोर राखेकी छिन् । त्यसको अर्थ रक्षक भन्ने हुन्छ । आफ्नो छोराले आफ्नो ज्यान आफै बँचाएकाले त्यस्तो नाम राखेको उनी बताउँछिन् । उनका अरु दुइ छोराछोरी पनि छन् ।
####

,

0 comments

Write Down Your Comment