फेसबुक विज्ञापनबाट २ करोड बाहिर
###

काठमाडौं - नेपाली कांग्रेसका नेता तथा काठमाडौं ४ का उम्मेदवार गगन थापाले सामाजिक सञ्जाल 'फेसबुक'लाई चुनावी प्रचारको एक प्रमुख थलो बनाएका छन्। आफ्नो र निर्वाचन लक्षित अन्य पेजहरूमा उनले विज्ञापन गरिरहेका छन्। युवा मतदातासम्म पुग्न फेसबुक प्रभावकारी हुने उनको भनाइ छ।


एमालेका नेता तथा कास्की ३ का उम्मेदवार रविन्द्र अधिकारी पनि आफ्नो निर्वाचन गतिविधिबारे जानकारी गराउन फेसबुक विज्ञापन प्रयोग गरेको बताउँछन्।
सामाजिक सञ्जालको बढ्दो क्रेजका कारण प्रमुख दलका नेतासहित सानाठूला सबै दलका उम्मदेवारहरूमा आक्रामक रूपले फेसबुकमा विज्ञापन गर्ने होड चलेको छ।
कांग्रेसका रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, नरहरि आचार्यदेखि एमालेका ईश्वर पोखरेल, नारायण मरासिनी, योगेश भट्टराई, एकीकृत माओवादीका हिमाल शर्मा र राप्रपा नेपालका कमल थापा, भरत जंगमसम्मले फेसबुकमा विज्ञापन गरेका छन्।
चुनावी प्रचार निम्ति भित्ता रंगाएर सहर कुरुप पार्नुभन्दा अत्याधुनिक प्रविधि रोज्नुलाई धेरैले रुचाए पनि यसबाट ठूलो रकम अवैधानिक रूपमा बाहिरिएको छ।
फेसबुकमा गरिने विज्ञापनको पैसा 'पेपाल' वा अन्तर्राष्ट्रिय क्रेडिट कार्डमार्फत बुझाउनुपर्छ। दुवै नभएका नेताहरूले विदेशमा रहेका साथीभाइबाट चन्दा उठाएर विज्ञापन गरेको बताएका छन्। थापा र अधिकारी दुवैले आफ्नो पेपाल र अन्तर्राष्ट्रिय क्रेडिट कार्ड नभए पनि विदेशमा रहेका शुभेच्छुकहरूमार्फत् विज्ञापन गराएको जानकारी दिए।
पेपाल अकाउन्ट र फेसबुक विज्ञापनमा परामर्श दिने आउटसोर्सिङ व्यवसायी जीवन तामाङका अनुसार हालसम्म ५० भन्दा बढी उम्मेदवारले ६ लाख रुपैयाँभन्दा बढी रकम फेसबुक विज्ञापनमा खर्च गरिसकेका छन्। 'पछिल्लो समय व्यक्तिगत 'पेज'मा पनि चुनावी विज्ञापन गर्ने चलन बढेको छ,' उनले नागरिकसँग भने।
नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने नेपाली रकम घुमाउरो बाटो विदेश पुर्‍याउने कार्य अवैधानिक भएको बताए। सञ्चार मन्त्रालयका उपसचिव यदु पन्थीले अनलाइनको विषयमा स्पष्ट कानुन ल्याउने तयारी भइरहेको र फेसबुक विज्ञापनको भुक्तानी प्रक्रियाबारे विज्ञहरूसँग बसेर छलफल गरिरहेको जानकारी दिए।
दुई करोड बाहिरियो
संविधानसभा निर्वाचनका उम्मेदवारको चुनावी विज्ञापन पछिल्लो समय देखिएको 'ट्रेन्ड' मात्र हो। फेसबुकमा पैसा तिरेर विज्ञापन गर्ने चलन व्यावसायिक क्षेत्रमा पनि उत्तिकै बढेको छ। जति यो ट्रेन्ड बढ्दो छ, फेसबुक विज्ञापनमार्फत् विदेशिने रकम पनि उति बढ्दै छ।
आउटसोर्सिङ व्यवसायीहरूका अनुसार नेपालबाट हालसम्म २ करोड रुपैयाँभन्दा बढी रकम फेसबुक विज्ञापनमा खर्च भइसकेको छ। करिब १ हजार ६ सयजनाले फेसबुकमा विज्ञापन गरिरहेको उनीहरू बताउँछन्। फेसबुकमा सशुल्कदेखि निःशुल्क विज्ञापनको सुविधासम्म छ। विज्ञापन शुल्क कम्तीमा १० डलरबाट सुरु हुन्छ। विभिन्न प्याकेजअन्तर्गत महिनाको ५० देखि ४ सय डलरसम्मका विज्ञापन गर्न पाइन्छ।
आफ्नो विज्ञापनमा प्रायोजित ढंगले 'लाइक' बढाउने सुविधा पनि फेसबुकले दिएको छ। आउटसोर्सिङ व्यवसायी तामाङका अनुसार सय लाइक पाउन १० डलर र हजार लाइक निम्ति ९० डलर खर्चिनुपर्छ।
लक्षित वर्गले सामाजिक सञ्जाल बढी प्रयोग गर्न थालेपछि आफ्नो बजार र ब्रान्ड प्रबर्द्धनका निम्ति फेसबुकमा विज्ञापन गर्ने चलन बढेको उनले बताए। 'होटल, रेस्टुरेन्ट, अटोमोबाइल्स, सपिङ मल, विभिन्न ब्रान्ड, कलेज, कल्सल्टेन्सी लगायतले धेरै विज्ञापन गरिरहेका छन्,' उनले भने, 'अचेल व्यक्तिगत पेजमा लाइक बढाउन पनि पैसा तिरेर विज्ञापन गर्ने चलन छ।'
कसरी जान्छ पैसा?
सामान्यतया आउटसोर्सिङ गर्ने व्यवसायीहरूमार्फत् पेपाल वा क्रेडिट कार्ड प्रयोग गरेर फेसबुक विज्ञापनको पैसा तिर्ने गरिन्छ। विदेशमा रहेका नेपालीहरूले आफ्नो पेपाल वा क्रेडिट कार्डबाट पनि पैसा तिरिदिन सक्छन्। संविधानसभा निर्वाचनका उम्मेदवारले विदेशमा रहेका शुभेच्छुकमार्फत् पैसा तिरेको दाबी गरेका छन्।
नेपालबाटै पेपाल अकाउन्ट खोल्ने हो भने त्यसको निम्ति सहयोग र परामर्श दिने आउटसोर्सिङ व्यवसायी थुप्रै छन्। पेपालले नेपालको निम्ति छुट्टै सुविधा नदिएकाले विदेशमा रहेका साथीभाइको सहयोग पनि लिन सकिन्छ। तामाङका अनुसार नेपालमा झन्डै हजारजनाको पेपाल अकाउन्ट छ। पाँच सयभन्दा बढीको आफैंले खोलिदिएको उनी बताउँछन्।
'नाम, जन्ममिति र इमेल ठेगानाका आधारमा विदेशको बैंकमा खाता खोल्ने र त्यसलाई नेपालबाट प्रमाणित गरी पेपाल वा अन्तर्राष्ट्रिय क्रेडिट कार्ड लिन सकिन्छ,' उनले भने।
####

0 comments

Write Down Your Comment