हैजा फैलाउन जिम्मेवार नरहेको सेनाको भनाइ
###

नेपाली सेनाले झण्डै तीन वर्ष अघि हेइटीमा फैलिएको हैजाका लागि त्यहाँ तैनाथ गरिएका आफ्ना शान्तिस्थापक सैन्यहरु जिम्मेवार रहेको भन्ने आरोपको फेरि खण्डन गरेको छ।
संयुक्त राष्ट्रसंघले गरेको अनुसन्धानले आफुहरु जिम्मेवार नरहेको देखाइसकेकाले फेरि उक्त विवाद चर्काउन आवश्यक नरहेको पनि सेनाले जनाएको छ।
हेइटीमा फैलिएको हैजाबाट गएको तीन वर्षमा ज्यान गुमाएका आठ हजार भन्दा बढी पीडितहरुका परिवारका तर्फबाट संयुक्त राष्ट्र संघ विरुद्ध बुधबार न्यूयोर्कमा एउटा मुद्दा दायर गरिँदै गर्दा सेनाको त्यस्तो भनाइ आएको हो।
मुद्दा
"हेइटीमा तत्कालिन समयमा तेनाथ नेपाली शान्ति सैनिकबाट हैजा फैलिएको भन्ने आरोपका संबन्धमा अनुसन्धान पहिले नै भैसकेको छ। विशेषज्ञसहितको उक्त अनुसन्धान टोलीले सो आरोप पुष्टि हुननसकेको प्रतिवेदन तत्कालै बुझाईसकेको छ"
ब्रिगेडियर जनरल जगदीश चन्द्र पोखरेल, नेपाली सेनाका प्रवक्ता
हालैको इतिहासमा सबैभन्दा ठूलो हैजाको महामारीका पीडितहरुको तर्फबाट संयुक्त राष्ट्र संघ विरुद्ध अरबौ डलर क्षतिपूर्तिको माग गर्दै न्यूयोर्कस्थित एउटा अदालतमा मुद्दा दायर गर्न लागिएको हो।
सन् दुई हजार दशको अन्त्यतिर फैलिएको हैजाको महामारीबाट ज्यान गुमाएका आठ हजार भन्दा बढी पीडित तथा बिरामी भएका एकलाख भन्दा बढी मानिसहरुको तर्फबाट उक्त मुद्दा दायर गर्न लागिएको हो।
उनीहरुका वकीलले त्यहां तैनाथ नेपाली शान्तिस्थापक सैन्यले अन्जानमा त्यो महामारी फैलाएको दावी गरेका छन्।
तर नेपाली सेनाले ती आरोपहरुको कडा खण्डन गरेको छ। बीबीसीसँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीश चन्द्र पोखरेलले भने, “हेइटीमा तत्कालिन समयमा तेनाथ नेपाली शान्ति सैनिकबाट हैजा फैलिएको भन्ने आरोपका संबन्धमा अनुसन्धान पहिले नै भैसकेको छ। विशेषज्ञसहितको उक्त अनुसन्धान टोलीले सो आरोप पुष्टि हुननसकेको प्रतिवेदन तत्कालै बुझाईसकेको छ।”
गत फेब्रुअरी महिनामा संयुक्त राष्ट्र संघले ती आरोपहरु औपचारिक रुपमै खण्डन गरेको थियो।
उसले यस्ता कानुनी कारवाहीबाट संयुक्त राष्ट्र संघले ऐतिहासिकरुपमै उन्मुक्त‌ि पाउँदै आएको पनि जनाएको थियो।
खतरा
तर पीडितका वकीलहरुले शान्तिस्थापक सैन्यहरुले उनीहरुको शिविरको ढल सिधै स्थानीय नदीमा मिसाएको र त्यसबाट जनस्वास्थ्यमा गम्भीर खतरा उत्पन्न गरेको बारे राष्ट्रसंघ जानकार रहेको बताएका छन्।
उनीहरुले नेपालमा हैजा व्यापक रुपमा पाइने भएकाले हेइटीमा फैलिएको हैजाको जीवाणु पनि नेपाली शान्ति स्थापक सैन्य बाटै फैलिएको बढी संभावना रहेको बताएका छन्।
सन् दुईहजार दशको जनवरी महिनामा हेइटीमा गएको शक्तिशाली भूकम्पबाट एकलाख भन्दा बढीको ज्यान जानुका साथै झण्डै तीसलाख मानिसहरु प्रभावित भएका थिए। भूकम्प पछि फैलिएको हैजाबाट थप हजारौंको ज्यान गएको थियो।
नेपाली सेनाले शान्ति स्थापक नियोगमा पठाइनु अघि सबै सैनिकहरुको स्वास्थ्य परीक्षण गर्नेगरिएको दोहोराएको छ।
गएको पचपन्न वर्षदेखि नेपालले संयुक्त राष्ट्र संघ अन्तर्गत शान्तिस्थापक सैन्य तथा प्रहरीहरु खटाउँदै आएको छ।
अहिले पनि हेइटी, दक्षिणी सुडान, आइभोरी कोस्ट लगायतका झण्डै एक दर्जन मुलुक तथा द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली सैनिकहरु तैनाथ रहेको अधिकारीहरु बताउंछन्।
####

0 comments

Write Down Your Comment