दलहरु कतारमा पनि भोट माग्दै, मतका लागि १० रियादको फोन
###
|
२४ कात्तिक, काठमाण्डौं । स्वदेशमा नजिकिँदै गएको चुनावी सरगर्मीलाई प्रवासमा बस्ने नेपालीले पनि निकै चासोका साथ हेर्न थालेका छन् । उनीहरू चुनावमा एउटा पार्टीलाई बहुमत दिनुपर्ने पक्षमा छन् । देशमा लम्बिएको संक्रमणकाल अन्त्य गर्न मतदाताका हातमा सही नेतृत्व चुन्ने अवसर आएकाले यसलाई सही सदुपयोग गर्नुपर्ने ओखरे गाविस, ओखलढुंगाका ३६ वर्षीय चेतनारायण श्रेष्ठले बताए । ‘हामी देशको चुनावी माहोललाई निकै नजिकबाट हेरिरहेको छौं,’ शुक्रबारे बिदाका दिन कतारमा नेपाली भेटघाट हुने स्थान जैद्दा टावरमा संविधानसभाको दोस्रो निर्वाचनमा दलहरूबीचको प्रतिस्पर्धाबारे साथीभाइसँग गफिइरहेका श्रेष्ठले भने, ‘अब एउटा दललाई बहुमत दिनुपर्ने बेला आएको छ ।
’ नेपालीको भेटघाट हुने स्थलहरूमा एमाओवादी, कांग्रेस र एमालेबीचको त्रिपक्षीय प्रतिस्पर्धामा कसले बाजी मार्छ भन्ने सुन्न प्रवासी नेपाली आतुर छन् । १४ वर्षदेखि कतारमा कार्यरत श्रेष्ठले प्रवासमा बस्नेहरूको भविष्यका लागि यो चुनाव निकै महत्त्वपूर्ण रहेको बताए । ‘कतारको बसाइ क्षणिक हो । देशमै गरिखानका लागि छिटो संविधान बन्नुपर्छ । बलियो सरकार बन्नुपर्छ,’ उनी भन्दै थिए, ‘त्यसका लागि यो संविधानसभाको चुनाव जसरी पनि सफल हुनुपर्छ ।’ स्वदेशमा रोजगार र लगानी गर्ने वातावरण नभएर आफू खाडीको रापमा बस्नुपरेको उनले बताए । भने, ‘कसलाई भोट हाल्ने विषयमा परिवारसँग निरन्तर छलफल भइरहेको छ । परिवारले पनि चुनावको गतिविधिबारे जानकारी गराइरहेका हुन्छन् ।’ प्रवासमा बस्नेले मताधिकार प्रयोग गर्न नपाए पनि यो अवसर नगुमाउन घरपरिवारलाई सम्झाउने पक्षमा रहेको बुटवलका ३८ वर्षीय सुन्दर भण्डरीले बताए ।
‘मेरो क्षेत्रमा एमालेका विष्णु पौडेल र एमाओवादीका बाबुराम भट्टराई भोट माग्दै घर आइसक्नु भएको श्रीमतीले सुनाउँदै थिइन्,’ भण्डारीले भने, ‘सही नेतृत्व चुन्न नभुल्नु भनेको छु । नेपालमा गइसकेपछि आफ्नै गाउँमा कुटो कोदालो खनेर खान पाओस्, फेरि काम खोज्दै यता आउन नपरोस् । हामीजस्ता युवा पटक-पटक विदेश हिँड्न नपरोस् । संविधान बनेपछि मात्रै देशको ढोका खुल्नेछ ।’ प्रवासी नेपाली जनताको मत हाल्न पाउन खोज्ने अधिकार कसैले बिथोल्न नहुने पक्षमा छन् । ‘गणतन्त्र पछि जनताले आफैं संविधान बनाउन मत हाल्न पाउने अवस्था आएको छ । यसलाई कसैले बिथोल्न, रोक्न हुँदैन,’ भण्डारीले भने, ‘चुनाव हुनैपर्छ । चुनाव नहुनु भनेको हाम्रो टाउकोमा झन् ऋण थपिदिनु हो ।’ रूपन्देही रामकेबल यादवले आफूले दुई छोरा, एक छोरी र श्रीमतीलाई मत प्रयोग गर्न १० रियालको फोन गरेको बताए । ‘
हामी नेपाली भएर पनि आफ्नो मतको प्रयोग गर्न पाउने मौलिक अधिकारबाट वञ्चित हुनुपर्यो । विदेशमा बस्नेका लागि केही वैकल्पिक व्यवस्था गरिदिएको भए हुन्थ्यो,’ ५० वर्षीय यादवले भने, ‘जीवनको एउटा महत्त्वपूर्ण अवसरबाट वञ्जित हुनुपर्यो । यो हाम्रो दुर्भाग्य हो ।’ कतारमा पनि नेपालका राजनीतिक दलसम्बद्ध संगठनहरू क्रियाशील छन् । एमाओवादी, कांग्रेस, एमाले र संयुक्त जनमोर्चाको एरिया तहसम्म इकाई निर्माण गरेका छन् । उनीहरूले आआफ्ना पार्टीको घोषणा पत्रबारे कामदारलाई बुझाई पार्टीलाई भोट दिन परिवारलाई सम्झाउन आग्रह गरिरहेको कान्तिपुर दैनिकमा खबर छ । ती संगठनहरूले समानुपातिक उम्मेदवारका लागि नाम सिफारिस गरेका थिए । त्यसमध्ये संयुक्त जनमोर्चा निकट कतार नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष टुकनाथ शर्मा समानुपातिक उम्मेदवार बनेका छन् । उनी पनि आफ्ना लागि भोट माग्दै हिँडेका छन् ।
####
.jpg)





0 comments
Write Down Your Comment