काठमाडौंमा हल्का वर्षा, उच्च हिमाली भेगमा हिमपात
###

४ माघ, काठमाडौं । पश्चिमी वायु सक्रिय भएपछि काठमाडौंसहित पश्चिमी नेपालमा शनिबार वर्षा भएको छ । काठमाडौंका अधिकांश स्थानमा हल्का पानी परेको छ । उच्च हिमाली भेगमा शुक्रबारबाटै बाक्लो हिमपात भइहरेको छ ।


विहानैबाट धुम्म रहेको काठमाडौंमा पानी परेपनि चिसो भने खासै बढेको छैन । मौसविद शिव नेपालले हिजैबाट काठमाडौंमा हुस्सु लागेकाले चिसो नबढेको बताए ।

उनका अनुसार सामन्यतया काठमाडौंको न्यूनतम् तापक्रम २/३ डिग्री सेल्सियस रहेन भए पनि शनिबार विहानको न्यूनतम तापक्रम ७.८ मापन गरिएको छ । अधिकतम् तापक्रम भने घटेको छ ।

१६ देखि १८ अनुमान गरिएको अधिकतम तापक्रम १३ मापन गरिएको छ । ‘आज दिनभरीको मौसम धुम्म रहनेछ, पानी पर्‍यो भने भोलि चिसो बढ्ने छ ।’ मौसमविद नेपालले भने ।

यो वर्षको जाडोमा काठमाडौंको न्यूनतम् तापक्रम ०.५ सम्म पुगेको छ । पछिल्लो ३/४ वर्षदेखि काठमाडौंको तापक्रम माइनसमा भने झरेको छैन । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार काठमाडौंमा सबैभन्दा जाडो सन् १९७८ जनवरी ११ मा भएको थियो । त्यसबेला काठमाडौंको जाडो ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

उच्च हिमाली भेगमा हिमपात

यो वर्षको जाडो माघ पहिलो हप्तामा आइपुग्दा देशका उच्च हिमालीभेगमा बाक्लो हिमपात सुरु भएको छ । केही दिनअघि सम्म घामले रापिलो बनाइरहेका बेला अचानक मौसममा परिवर्तन भएर चिसो बढेको हो ।

शुक्रबार बेलुकाबाट सुरु भएको चिसोसँगै हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङ, कर्णालीका हिमाली जिल्ला र सुदूरपश्चिममा बाक्लो हिमपात भइरहेको छ ।

शुक्रबारबाट सुरु भएको हिमपातका कारण कर्णाली र सुदूरपश्चिम पहाडको सडक यातायात पनि ठप्प भएको छ । कर्णालीका हुम्ला, मुगु र जुम्ला तथा सुदूरपश्चिमका डढेल्धुरा, बझाङ, बाजुरा र दार्चुलामा ३ फिटसम्म बाक्लो हिउँ जमेको छ ।

अधिकांश क्षेत्रमा चिसोका कारण पसल र बजार पनि बन्द भएका छन् । सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा गत सातामात्रै भारी हिमपात भएको थियो । उच्च पहाडी तथा हिमाली जिल्लाको तापक्रम निकै तल झरेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयहरुले जनाएका छन् ।

वर्षातसँगै परेको हिमपातका कारण सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत पर्ने कालीकोट र जुम्लामा समेत ठाउाठाउामा बाटो भत्किएपछि यात्रुलाई कठिनाइ भएको छ । कालीकोटाको माथिल्लो उच्च हिमाली क्षेत्र तथा जुम्ला, मुगु र बाजुराका सिमाना नजिकमा पर्ने गाविसका स्थानीयवासीको जीवन कष्टकर भएको छ ।

शनिबार बिहान दिपायलमा सबैभन्दा बढी २८.८ मिलिलिटर वर्षा तथा सबैभन्दा कम तापक्रम डडेल्धुरामा ०.७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार वर्षा तथा हिमपात केही समय जारी रहने छ ।
####

0 comments

Write Down Your Comment