बाबुरामले मागे दाहालको राजीनामा
###

शीर्ष नेताहरुलाई राजनीतिबाटै अवकास लिन सुझावः
काठमाडौं, माघ ४ । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष पुष्पकमल दाहालको राजीनामा मागेका छन् । आज पार्टी केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्दै भट्टराईले लामो समयसम्म पार्टीमा एउटै नेतृत्व रहन नहुने भन्दै घुमाउरो भाषा शैलीमा दाहालको राजीनामा मागेका हुन् ।



बैठकमा सहभागी एक सदस्यका अनुसार स्टालिनकालीन नेतृत्वले अब कम्युनिष्ट पार्टी नचल्ने भन्दै भट्टराईले प्रत्यक्ष निर्वाचनबाट पार्टीको नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका थिए ।

दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका अधिकांश विषयमा आफ्नो सहमति भएपनि कतिपय विषयमा दोहोरो अर्थ लाग्ने भाषा प्रयोग गरिएको भट्टराइको भनाइ थियो ।

बैठकमा भट्टराईले सरकारमा जाने–नजाने र राष्ट्रपतिको चुनाव गर्नुपर्ने–नपर्नेबारे दाहालको प्रतिवेदनले स्पष्ट नपारेको उल्लेख गरेका थिए ।

आजको बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य हेमराज भण्डारीले पार्टीका सबै शीर्ष नेताहरुलाई राजनीतिबाटै अवकास लिन सुझाव दिएका थिए । अहिलेको नेतृत्वबाट क्रान्ति र परिवर्तन सम्भव नहुने भन्दै उनले अवकास लिन सुझाएका थिए ।

आजको बैठकमा आफ्नो भनाई राख्दै अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीमा सकारात्मक रुपान्तरणका लागि नेतृत्वबाटै पहल थालिनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

एमाओवादी केन्द्रीय समिकिो अर्को बैठक माघ ६ गते बस्ने छ ।
####

0 comments

Write Down Your Comment