माओवादीले भत्काएको पृथ्विनारायणको सालिक ठड्याइयो
###
|
गोरखा, माघ १९ - तत्कालिन माओवादीले नष्ट गरेको गोरखा सदरमुकामको गोरखा दरवार संग्रहालयमा अवस्थित पृथ्विनारायण शाहको शालिक पुनस्थापना गरिएको छ ।
पुरातत्व विभागले ललितपुरमा तयार पारेको शालिक सदरमुकाम गोरखा ल्याएर आइतबार स्थापना गरिएको हो ।
अष्टधातुको प्रयोग गरिएको झण्डै ८ फिट अग्लो शालिक बनाउन झण्डै ५ महिना लागेको मूर्तिकार विष्णुप्रसाद बरालले बताउनुभयो । शालिक निर्माणका लागि विभागले १५ लाख रुपैयाँ छुट्याएको थियो । यसअघि २०६४ सालमा शालिक राखिएकै ठाउँको स्तम्भमै नयाँ शालिक राखिएको हो ।
त्यतिबेलाको शालिक तत्कालीन नेकपा माओवादी कार्यकर्ताले भत्काईदिएका थिए । गोरखा संग्रहालयले शालिक स्थापनासँगै जतिसक्दो छिटो यसको अनावरण गर्ने जनाएको छ । पुरातत्व विभागसँग छलफल गरि अनावरणको मिति तय गरिने संग्रहालय प्रमुख करुणा राईले बताउनुभयो । शालिक बनाएका मूर्तिकारहरुको टोली र पुरातत्व विभागका अधिकारीहरु पनि जडान कार्यमा सघाउन गोरखा आएका छन् । गोरखा संग्रहालयमा स्थापना गर्न लागिएको पृथ्विनारायण शाहको शालिकको संरक्षणमा सबैले चासो दिनुपर्ने पुरातत्वविद् र नगरवासीहरुले बताएका छन् ।
संग्रहालय परिसरमा शालिक पुनस्र्थापनाको काम भैरहेका बेला त्यहाँ जम्मा भएका संरक्षणकर्मी र नगरावासीले शालिक संरक्षणमा जोड दिएका हुन् । पुरातत्व विभागकी अधिकृत मञ्जुसिं भण्डारीले शालिक राखेपछि गोरखाको गौरव बढेको बताउनुभयो । शालिक राख्ने क्रमसँगै स्थानीयबासिन्दाले देखाएको चासोले विभागलाई समेत उर्जा थपेको उहाँले बताउनुभयो । विभागले राम शाहको शालिकको पनि मर्मत गरि पुरानै ठाउँमा स्थापना गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै गोरखा संग्रहालय प्रमुख करुणा राईले पृथ्विनारायण शाहको शालिक स्थापनासँगै यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउने बताउनुभयो । शाहवंशीय इतिहासबारे जान्नका लागि गोरखा घुम्न आउनेहरुले आफूलाई पटक पटक शालिकका बारे सोध्ने गरेको भन्दै उहाँले त्यस्ता पर्यटकलाई शाहको शालिकले आकर्षित गर्ने दावी गर्नुभयो ।
####
.jpg)






0 comments
Write Down Your Comment