###
|
म । म त्यति कमजोर मान्छे होइन । यो पार्टीको निर्माण हामीले गरेका हौं । त्यसमध्ये म पनि एक हुँ । यो पार्टीलाई गलत बाटोमा जान दिने कुरा मेरो मनले स्वीकार गर्न सक्दैन । हेर्दाहेदै यो पार्टीलाई विसर्जनको अवस्थामा लाने कुरालाई मेरो हृदयले स्वीकार गर्न सक्दैन । ० पार्टीभित्र तपाईं र झलनाथ खनाल प्रधानमन्त्री पनि हुनुभयो, पार्टी प्रमुख पनि हुनुभयो, एकचोटि केपी अेालीलाई मौका दिए हुन्छ भन्ने सहानुभूति पनि त छ नि ? - अरू पार्टीमा एउटा मान्छेलाई उपप्रधानमन्त्री बन्नै दिएनन् । तर, म त्यस्तो मान्छे हुँ म धेरैलाई उपप्रधानमन्त्री बनाइदिएँ । पार्टीभित्र म मात्र उपप्रधानमन्त्री हुँ भन्ने मलाई कहिल्यै भएन । पार्टीमा म मात्र प्रधानमन्त्री होऊँ अरू नहोउन् भन्ने मलाई कहिल्यै भएन । फेरि एउटा कुर्सीमा गएपछि छाड्दै छाड्दैनन् । म त त्यस्तो मान्छे नै होइन । राजीनामा दिएर नैतिकताको जिम्मेवारी बोक्ने मै हुँ । आफैंले मैले अरूलाई कार्यबाहक महासचिव बनाएको हुँ । अरू अध्यक्ष पनि भए, महासचिव पनि भए । मैले बनाएकै हुँ नि !एउटा लगातारै हुनुपर्छ भन्ने मान्यता पनि मेरो छैन । ७०-७५ वर्षभन्दा बढी सक्रिय राजनीतिमा नेताहरू रहनुहुँदैन भन्ने मेरो मान्यता हो । एउटा सीमाभित्र त बस्नुपर्यो नि !
सुरु गरेको कालमा नेता बढी उमेरका थिए होलान्, त्यसपछिका नेताहरू मध्यम उमेरमा ‘रिटायर्ड’ हुनुपर्छ । यो स्थिति बनाउँदै जानुपर्छ । ० तपाईंमाथि अर्काे आरोप छ- केपी ओलीले तपाईंलाई सधैं सघाउनुभयो, तर तपाईंले केपी ओलीलाई कहिल्यै सघाउनुभएन ? - यस्ता कुनै कुरा पनि सत्य होइन । मैले १९ वर्षदेखि गुटबन्दी झेल्दै आएको छु । म महासचिव भएको केही महिना पछिदेखि नै मेरा विरुद्धमा अभियान सुरु भयो । ० तर, महासचिव हटाउ प्रकरणमा केपी ओलीले तपाईंलाई साथ दिनुभयो नि ? - अनि कसैले नचाहेको बेलामा उपप्रधानमन्त्री कसले बनायो ? पटक-पटक मन्त्री कसले बनायो ? पटक-पटक देश दुनियाँमा कसले परिचित गरायो ? त्यो पनि त हेर्नुपर्यो नि ! राम्रो गरेको जति सबै आफूले गरेको, अनि नराम्रो जति सबै मैले गरेको रे ! यस्तो विश्लेषण कहीँ हुन्छ ? मलाई अगाडि बढाउनका निम्ति भूमिका खेल्नुभएको हो भनेर जस त दिनुपर्यो नि !पटक-पटक को-को मन्त्री भए ? कसले प्रंस्ताव गर्यो ? कसले जिम्मेवारी दियो ? सबैको विरोधको बीचमा पनि मैले एक्लो अडान लिएको छु कि छैन ? हेर्नुपर्यो नि ! उपप्रधानमन्त्री बन्ने पटक-पटक बेला आउँदा पनि मलाई प्रस्ताव हुँदा मैले अस्वीकार गरेको हो कि होइन ? म एकचोटी भइसकेको छु, म नै बारम्बार भइरहनुहुँदैन भनेर अस्वीकार गरेको छु । त्यसो हुनाले जब पार्टी निर्माणको सवाल आउँछ, राष्ट्र निर्माणको सवाल आउँछ, यस्तो कुरालाई खेलाँची गर्नुहुँदैन । पद भनेको मिठाईजस्तो वितरण गर्ने चिज होइन । नेतृत्व भनेको अवश्य पनि गतिशील कुरा हो । झन् ज्यादा क्रान्तिकारी दृष्टिकोण भएकाहरूको हातमा हामीले हस्तान्तरण गर्नुपर्छ । त्यस्ता नेताहरूको पंक्ति पार्टीमा तयार गर्नुपर्छ । पालैपालो कहीँ पनि गर्दैनन् । चीनको पार्टीमा के पालैपालो गर्छन् ? ० तपाईं र झलनाथले ३० वर्ष पालैपालो चलाउनुभयो ….. - कहाँ पालैपालो भयो ? सातौंमा प्रतिस्पर्धा भएको होइन ? छैटौंमा प्रतिस्पर्धा भएको होइन ? पाँचौंमा प्रतिस्र्पा भएको होइन ? आठौंमा प्रतिस्पर्धा भएको होइन ? प्रतिस्पर्धाका आधारमा भएको हो । आठौंमा त मतदान नै भएको हो । पाँचौं, छैटौं र सातौंमा विचारको आधारमा प्रतिस्पर्धा भएकै हो । छैटौंमा त प्रतिस्पर्धाकै बीचबाट पार्टी विभाजनसम्म भयो । पाँचौंमा प्रतिस्पर्धाबाटै मदन भण्डारी आउनुभएको हो । ० पहिलोचोटि पार्टीमा तपाईं अहिले अल्पमतमा देखिनुहुन्छ नि ? - यस्ता कुराहरू त भइरहन्छन् । म अल्पमतमा छु कि बहुमतमा भन्ने कुरा त समयले देखाउँदै जान्छ । ० गुटबन्दी गर्नुहुन्न, कार्यकर्तालाई संरक्षण गर्नुहुन्न भन्ने आरोप छ तपाईंलाई ? - होइन, कार्यकर्तालाई विभिन्न तहमा पुर्यायो कसले ? राष्ट्रिय राजनीतिमा आजसम्म नेकपा -एमाले)लाई जुन उचाइमा पुर्याउने काम गरियो, यसले सबैको शिर ठाडो भएको छैन र ? सबैको संरक्षणमात्र होइन, सबैको व्यक्तित्व निर्माण गर्ने काममा भूमिका खेलिएन र ? विभिन्न पदमा पुर्याउने काम गरिएन र ? त्यो कसले गर्यो ? ० ज-जसको संरक्षण गरियो, तिनीहरू तपाईंभन्दा टाढा छन् आज ? - तर, जो-जो को संरक्षण गरियो, उनीहरूमध्ये साथमा पनि त छन् । मानिलिऊँ, अहिले पछिल्लो संख्या भन्नुहुन्छ भने पनि ७५ जना त सिधै साथमा देखिए नि ! ० ईश्वर पोखरेललाई धेरै नै बोक्नुभयो, अहिले…. - अरु पनि धेरै नै होलान् नि ! तर, ती-ती व्यक्ति जसलाई मैले संरक्षण दिएँ, उनीहरूले वास्तवमा त्यसलाई गुण मानेका छन् कि छैनन् ? त्यो मलाई थाहा छैन । ती व्यक्तिहरूले आफ्नो मुटुमा हात राखेर भन्नुपर्छ, उनीहरूलाई अगाडि बढाउनका निम्ति मैले कति भूमिका खेलेको छु । अघि बढेकाजति सबै आफूले गर्दा नै बढेको हो । अघि बढ्न नसकेका बेलामा सबै दोष माधव नेपालको, चुनाव जित्दा आफैंले जितेको, चुनाव जित्न नसक्दा माधव नेपालले हराएको, उम्मेदवारको नाम पास हुँदा आफैंले भएको हुने, उम्मेदवारमा नपर्दा सबै माधव नेपालले गर्दा नपरेको भन्ने कुरा के न्यायोचित मूल्यांकन हुनसक्छ ?
० प्रतिवाद गर्ने संयन्त्र नै छैन तपाईको ? - अब विस्तारै मैले पनि सिक्नुपर्ने भएको छ । जब जालझेलको राजनीति हुन थाल्छ, त्यसका विरुद्ध कसरी जुध्नुपर्छ भन्ने कुरा मैले पनि सिक्नुपर्ने भएको छ । म अझै पनि सिक्ने प्रक्रियामा नै छु । राजनीति भनेको निरन्तर सिकिरहने प्रक्रिया हो । कसरी गोयबल्स शैलीको सामना गर्नुपर्दछ भन्ने कुरा मैले सिक्न जरुरी छ । ० माओवादीले धोका नदिएको भए पाँच वर्ष पहिला नै राष्ट्रपति भइसक्नुहुन्थ्यो, तर पाँच वर्षपछि आएर ‘म राष्ट्रपतिका लागि योग्य छैन’ भन्नुभयो नि ? - कस्तो विडम्बना भने, त्यो बेलामा जुन साथीहरूले मलाई पटक-पटक ‘राष्ट्रपतिमा जानुपर्छ’ भने, उनीहरूले नै ‘माधव नेपाल राष्ट्रपति भन्नेबित्तिकै चुनाव हारे पनि तयार भयो’ भन्न थाले । लाज नभएका त्यस्ता व्यक्तिहरू, जो ‘राष्ट्रपति भइदिनुपर्यो’ भनेर आग्रह गर्नेहरू नै मेराविरुद्ध लागे । त्यो शब्द मेरो कानमा गुन्जिरहेको छ । ‘यो राष्ट्रपति भनेको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हो, तपाईंले यसलाई कार्यकारी अधिकार नभएको ठान्नुभएन, तपाईंको उचाइ भएको मान्छेको यहाँ आवश्यकता छ, त्यसैले तपाईं जसरी भए पनि गइदिनुस्, स्वयम् माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गर्दैछन्, यो सबैका निम्ति गौरवको कुरा हो’ भनेर अनेक तर्क गरेर मलाई ‘कन्भिन्स’ गर्न आउने व्यक्तिहरूको पनि मैले विश्वास नगरेर म कहिले ब्राजिल घुम्न गएँ, विश्वका अरू मुलुक पनि गएँ । त्यति विश्वास नभएकैले म यो राष्ट्रपतिको खेलमा लागिनँ । तर, अहिले आएर ‘उहिल्यै यो राष्ट्रपतिको खेलमा लागेको थियो’ भन्दैछन् । ० तपाईंलाई जहिले पनि पद चाहिन्छ भनेर आलोचना हुन्छ नि ? - केही गर्दा पनि सुख नपाइने भयो । प्रधानमन्त्री पदबाट मैले स्वेच्छाले राजीनामा दिएँ तर ‘किन राजीनामा दिनुभयो ?’ भनियो । महासचिवबाट राजीनामा दिएँ, ‘किन दिनुभयो ?’ भनियो । ‘उहाँमा त्यागको भावना छ’ पनि भनिएन । ‘उहाँले पदलाई महत्त्व दिनुभएन’ पनि भनिएन । केही गर्दा पनि खोटबाहेक केही नदेख्ने प्रवृत्ति छ । मान्छेमा जब खोटपूर्ण दृष्टिकोण हावी हुन्छ, ऊ द्वन्द्वात्मक हुँदैन, उसमा एकांगीपन, आग्रह र पूर्वाग्रहमात्र हावी हुन्छ । मान्छेका सकारात्मक, नकारात्मक दुवै पाटो देख्दैन । कि चाकडी मात्रै जान्दछ, कि समर्पण मात्रै जान्दछ । यस्तो असंगत र एकांकी दृष्टिकोण कसैले पनि राख्नु हुँदैन र म यस्तो दृष्टिकोणमा विश्वास पनि गर्दिनँ । समाजका निम्ति गलत भूमिका खेल्नेहरूलाई संरक्षण गर्नु हुँदैन भन्ने पनि मेरो मान्यता छ ।
####
.jpg)




0 comments
Write Down Your Comment