###
|
सल्लेटार (नुवाकोट) : माथिल्लो त्रिशूली थ्री'ए' जलविद्युत आयोजनाको ड्याममा शनिबार खोला थुनेर पानी प्रवाह गराइएको छ। ड्याममा पानी पठाइएपछि आयोजनाको काम ३५ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ।
निर्माणको जिम्मा पाएको चिनिया गेजुवाले शनिबार नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूको उपस्थितिमा आयोजनाको मुख्य ड्याममा त्रिशूली खोला थुनेर पानी पठाएको हो।
पानीलाई खोला थुनेर आयोजनाको ड्याममा लगिएपछि आयोजनाको सुरुङ र विद्युत गृहको निर्माणको काम बाँकी रहेको आयोजना कामु प्रमुख उत्तम अमात्यले जानकारी दिए।
सम्झौता अनुसार आगामी दुई महिनाभित्र आयोजनाको काम सम्पन्न गर्नुपर्छ। तर, निर्माण कार्यको ठेक्का लिएको चीनको गेजुवा कम्पनीले समयावधि भित्र काम नसकिने संकेत दिइसकेको आयोजनाले जनाएको छ।
नुवाकोटको मनकामना गाविस ९ र रसुवाको डाडागाउँ गाविस ७ मा निर्माण भइरहेको सो आयोजना साढे १० अर्ब नेपाली रुपैयाँ ऋण सहयोगमा ३५ महिनामा सम्पन्न गरिसक्ने गरि २०११ जूनदेखि सुरु भएको थियो।
आयोजनाको लागि समय थप्नु पर्ने निर्माण पक्षको माग रहेको छ। गेजुवाले दुई वर्ष समय थप्नु पर्ने माग गरेपनि नेपालले समय थपेको छैन।
सन् २०१४ को अप्रिलसम्ममा काम सम्पन्न गरिसक्नु पर्ने ६० मेगावाट क्षमताको आयोजनाको केही दिन अगाडि विद्युतीय लाइनको टावर र पोल राख्ने जग्गाको विषयमा स्थानीयसँग विवाद भएको थियो। स्थानीयले आयोजना तथा निर्माण पक्ष गेजुवाको गाडी आवतजावत नै गर्न रोक लगाएपछि आयोजनाको काम प्रभावित भएको थियो।
####
.jpg)




0 comments
Write Down Your Comment