नेपाल बंगलादेशसँग ८ विकेटले पराजित
###
![]() |
काठमाडौं, ४ फागुन । आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नेपाल बङ्गलादेशसँग आठ विकेटले पराजित भएको छ । बङ्गलादेशको चटगाउँस्थित जहुर अहमद चौधरी स्टेडियममा भएको खेलमा नेपालले पाँच विकेट गुमाउँदै १२७ रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको आयोजक राष्ट्र बङ्गलादेशले १५ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा सो लक्ष्य पहिल्याउन सफल भएको थियो । पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेलेको नेपालले अन्तिम समयसम्म पनि जितका लागि प्रयत्न गरेपनि त्यो सफल हुन सकेन ।
आजको खेलमा नेपालका तर्फबाट शक्ति गौचन र बसन्त रेग्मीले एक/एक विकेट लिन सफल भए । यो विकटसँगै यी दुई खेलीडीले यो प्रतियोगितामा ४/४ विकेट लिन सफल भएका छन् । यसअघि आइतवार भएको खेलमा यी दुवै खेलीडीले ३/३ विकेट लिएका थिए ।
गौचनले अनुमल हक र रेग्मीले तमिम ईकवालको विकेट लिन सफल भएका थिए ।
बङ्गलादेशका प्रारम्भिक ब्याट्सम्यान हक र ईकवाल क्रिजमा जमेर खेल्न सफल भएपछि नेपाली टोली दवाबमा परेको थियो । हकले ४२ रन र ईकवालले ३० रन बनाएका थिए । नेपालले टस हारेर पहिले व्याटिङ गरेको थियो ।
आगामी खेल नेपालले अफगानिस्तानसँग खेल्नेछ ।
खेलको पहिलो पालिमा नेपालका तर्फबाट कप्तान पारस खड्काले ३५ बलमा पाँच चौका प्रहार गर्दै ४१ रन तथा ब्याट्सम्यान शरद भेषवाकरले ४३ बलमा पाँच चौका सहित ४० रन जोडेका थिए । कप्तान खड्का र व्याट्सम्यान शरद भेषवाकरको जोडीले नेपाली टोलीलाई सम्हालिएर व्याटिङ गर्दै सम्मानजनक योगफल निकाल्न सफल भएपनि खेल जित्नका लागि त्यो पर्याप्त हुन सकेन ।
नेपाली टोलीका कप्तान खड्काले आजको खेलमा १ सय ४० रन कटाउन सकेको भए आफूहरुले खेल जित्ने सम्भावना रहको बताउँदै त्यो पूरा नहुँदा हार भएको बताए । उनले आजको खेलका कमजोरी सच्याउँदै आगामी खेलमा जित हात पारिछाड्ने विश्वास व्यक्त गरे ।
यो प्रतियोगितासँगै यो समूहबाट पहिलो दश टोलीमा पर्ने बङ्गलादेशको सम्भावना बढेपनि नेपालको समभावना अझै समाप्त भएको छैन ।
####
0 comments
Write Down Your Comment