###
![]() |
हिन्दू संस्कारमा हुर्किएका मानिसहरु धेरैजना ‘बाबा’ हरुको शरणमा पुग्छन् । झन् राजनीति, व्यापार र प्रशासनिक क्षेत्रमा त झनै बाबाको ‘कृपा’ अनिवार्य नै ठान्नेहरु पनि छन् । देशकै अग्रणी व्यक्तित्वमा प्रभाव फैलाउन सफल ‘बाबा’ हरु जति ठूला नेताका शीरमा हात राख्न सक्यो, त्यति नै आफूलाई सफल ठान्छन् । सार्वजनिक पहिचान बनाएका नेता, उद्योगी, प्रशासनिक क्षेत्रका दर्जनौं व्यक्तिले कतिपय बाबाबाट ‘सिद्धी’ प्राप्त गरिसकेका छन् । नेपाली समाजमा हावी भएका बाबाहरु अधिकांश भारतीय छन् । उनीहरु हिन्दूत्व र सनातन धर्मको जगेर्नाका नाममा शीतलनिवासदेखि सिंहदरबारसम्म हावी भएका हुन् । मुक्तिनाथ बाबा नेपाली राजनीतिमा निकै छाएका ‘बाबा’ मा पर्छन् उनी । कतिपयले उनलाई आफूखुसी पदवी घोषणा गरेको पनि बताउँछन् । निवर्तमान अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उनको आश्रमलाई करोडौं रुपैंयाँ राज्यकोषबाटै दिएपछि झन् चर्चामा आएका छन् । उनी कोइरालाका निकट ‘गुरु’ हुन् । उनको पूरा पदवी र नाम बडो ताजुबको छ । उनको खास नाम कमल नयनाचार्य हो ।
तर, उनी आफूलाई ‘अनन्तश्री विभूषित मुक्तिनाथ पिठाधीश्वर स्व्ाामी कमलनयनाचार्य श्रीजी महाराज मुक्तिनाथ बाबा’ भन्न रुचाउँछन् । छोटकरीमा उनलाई मुक्तिनाथ बाबाको नामले चिनिन्छ । उनले काठमाण्डौ, भक्तपुर र नवलपरासी गरी तीन ठाउँमा आश्रम खोलेका छन् । तर, मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरका आधिकारिक पुजारी र पदाधिकारीहरु उनले गुथेको पथरी आधिकारिक नभएको बताउँछन् । उनी शाही शासनकालमा मुक्तिनाथ मन्दिरमा ओहोर-दोहोर गरे पनि अहिले खासै पुग्दैनन् । उनले मुक्तिनाथ मन्दिरको केही जमीन कब्जा गरेको समेत पदाधिकारीहरु बताउँछन् । राजा र ठूला नेताहरुसित सम्बन्ध भएको कारण प्रतिवाद गर्न नसकेको उनीहरुको भनाइ छ । उनले शाही सरकारको पतनपछि माओवादी नेताहरुसित पनि सम्बन्ध विस्तार गरेका थिए । श्री श्री रविशंकर उनी पनि भारतीय बाबा हुन् । जीवन जिउने कला -आर्ट अफ लिभिङ) सिद्धान्त प्रतिपादन गरेका उनी नेपालका दर्जनौं नेता, व्यापारी र प्रशासनिक व्यक्तिहरुका गुरु हुन् ।
उनी नेपाल आउँदा वरिष्ठ उद्योगीका लागि उनले काठमाण्डौ, पोखरा र बुटवलमा गरी त्रिकोण पारी हवन गराएको स्रोत बताउँछ । सो हवनलगत्तै ती उद्योगीले एउटा अन्तर्राष्ट्रिय सफलता हासिल गरेका थिए । गत वर्ष नेपाल आउँदा उनले राजनीतिक दलका नेता तथा आफ्ना साधकहरुसँग देशको राजनीति र चुनावका बारेमा चर्चा गरेका थिए । त्यस्तै, धर्म परिवर्तनको क्रम निकै बढेको चिन्ता व्यक्त गर्दै उनले युवा समुदायलाई हिन्दू धर्म रक्षा गर्न आव्हान गरेका थिए । उनले राष्ट्रपति डा. रामबरण यादव, राजनीतिक नेताहरु झलनाथ खनाल, केपी ओली, रामचन्द्र पौडेल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, कृष्णबहादुर महरा र प्रधान सेनापति गौरव शमशेर राणालगायतसँग भेट गरेका थिए । जसमा उनको चासो हिन्दू एवं सनातन धर्म रक्षा तथा राजनीतिक संक्रमणको अन्त्य गर्नुपर्नेमा थियो ।
पायलट बाबा पायलट बाबा पनि निकै प्रभावशाली भारतीय योगीमा पर्छन् । उनको प्रभाव नेपाली राजनीतिदेखि उद्योगी, व्यवसायी र प्रशासनिक क्षेत्र सबैमा छ । पूर्व विमान चालक भएको हुँदा उनी सिद्धीपछि पायलट बाबाको नामले परिचित भए । औपचारिक नाम कपिल अद्वैत भएका उनी वल्र्ड पिस फाउन्डेसनका संस्थापक पनि हुन् । क्रियायोगको माध्यमबाट ध्यान साधना गर्न उनले सुझाएका छन् । उनको संस्थाले भक्तपुरको गुण्डूमा पायलट बाबा कायाकल्प पीठ निर्माण गरेको छ । उनका साधक एवं चेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की समेत रहेका छन् । तीव्र विवादका बीच पनि कार्कीले अख्तियार आयुक्तमा नियुक्ति पाउनुमा पायलट बाबाको कृपा रहेको बताउने गरेका छन् ।
पायलट बाबा पनि नेपालमा हिन्दू धर्म संरक्षण हुनुपर्ने चाहना राख्छन् । खासगरी भारतमै साधनारत रहने उनी भारतीय राजनीतिक तहमा पनि सम्बन्ध राख्न सफल छन् । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पनि उनका भक्त थिए । भट्टराईकी पूर्वसहयोगी अमिता कपालीले उनीसित सिद्धी लिएको बताइन्छ । कृपालुजी महाराज ध्यान साधनाले आध्यात्मसित जोड्ने अभियान भारतीय कृपालुजी महाराजले सुृरु गरेका हुन् । उनका नेपाली प्रचारक स्वामी हरिदासजी महाराज हुन् । उनको भक्तपुर, ठिमीमा श्री राधा माधव समिति नेपाल नामक संस्था छ । त्यहाँ श्यामा श्यामा धाम आश्रम छ । काठमाण्डौलगायत देशका दर्जनौं ठाउँमा यो संस्थाको सत्सङ्ग केन्द्रहरु छन् ।
आमसञ्चार माध्यमबाट हरिदासजी महाराज धर्म जगेर्नाको अभियानमा सक्रिय छन् । क्रिपालुजी महाराजको केही महिनाअघि निधन भएको छ । स्वामी रामदेव योग र आयुर्वेदलाई मुख्य नारा बनाएका भारतीय योग गुरु स्वामी रामदेव पनि एक हुन् । नेपालको सबै जिल्लामा योग संचालन गर्दै आएको उनको संस्था पतञ्जली योगपीठ तथा त्यसद्धारा प्रवर्द्धित आयुर्वेदिक औषधि, सौन्दर्य प्रशाधन र खाद्य पदार्थको लोकपि्रयता पनि निकै छ । सर्वधर्मको मान्यता लिएको भएपनि यसको संस्कार हिन्दू धर्मको सम्बर्द्धनमा बढी केन्दि्रत छ ।
काठमाण्डौमा यसको आफ्नै भौतिक संरचना छ । अहिलेसम्म दुई पटक नेपाल आइसकेका उनी नेपाली राजनीतिक, उद्योगी, व्यवसायी र समाजका सबैजसो वर्गका प्रतिष्ठित व्यक्तिहरुको समीपमा छन् । उनको अभियानलाई सफल पार्न जग्गादान, आर्थिक सहयोगलगायतको देन दिने नेपालीहरु निकै छन् । काभ्रेको साँगामा जमीन किन्ने विषयमा केही वर्षअघि निकै विवाद पनि भएको थियो । नेपाल भ्रमणका क्रममा दुवैपटक उनी राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक दलका नेताहरूसँगका भेटमा सक्रिय देखिएका थिए । वरिष्ठ उद्योगी र व्यवसायीहरु पनि उनको निकटतामा छन् । भेटमा अन्य आध्यात्मिक गुरुजस्तै उनले पनि नेपालमा भइरहेको धर्म परविर्तनप्रति चिन्ता प्रकट गरे भने नेपाललाई हिन्दु राष्ट्र घोषणा गरेर विश्वकै हिन्दुहरूको केन्ऽ थलो बनाउन सकिने बताएका थिए । यस अभियानमा सहभागीहरु भने आफ्नो संगठनले हिन्दु धर्मको प्रचारलाई मुद्दा नबनाएको दाबी गर्छन् । योगको साधना पद्घति हिन्दु धर्मकै वैदिक परम्परा, वेद, उपनिषद्, गीताजस्ता शास्त्रमा आधारित भएकोले हिन्दू धर्मको मात्र वकालत गरिएजस्तो देखिएको उनीहरुको भनाइ छ ।
रामदेव नेपालमा आश्रम खोल्ने भन्दा पनि नेपाललाई औषधिको राम्रो बजार बनाउने कार्यमा सफल देखिन्छन् । कालीबाबा पूर्वप्रधानसेनापति गडुलशमशेर जबरा अध्यक्ष रहेको काठमाडौँको कालोपुलस्थित श्री कालिका साधना आश्रम हिन्दू धर्मको जगेर्नामा लागेको छ । यसका संरक्षक कालीबाबा हुन् । ०६२ सालमा दर्ता भएको यो संस्थाका प्रमुख कालीदास दाहाल हुन्, जसलाई कालीबाबाबाको नामले चिनिन्छ । कालीबाबा नेपाली मूलका योगी हुन् । भारतको आसाम, तीनसुकियामा धेरै समय बस्ने उनको हरियाणामा शिवशक्ति बाबा कालीदास धाम ट्रस्ट सञ्चालन रहेको बताइन्छ । सो संस्थाको नेपालका विभिन्न भागमा सञ्जालसमेत छ । विगत ०६६ मंसिरमा नेपालका विभिन्न सहरमा पुगी हिन्दू धर्म र राजतन्त्रको पक्षमा वकालत गरेका थिए । उनले ०६६ मंसिरमा पशुपतिनाथ मन्दिरमा सहस्र रुद्रचण्डी अखण्ड महायज्ञ पनि गरेका थिए । ०६८ मा उनले गरेको अर्को यज्ञ राप्रपा नेपालका अध्यक्ष कमल थापाबाट उद्घाटन भएको थियो । उनले हिन्दूत्व र राजतन्त्रको लागि यज्ञ, हवन गरेका थिए ।
सतपालजी महाराज सतपालजी महाराज नेपालको हिन्दू धार्मिक अभियानका अर्का भारतीय बाबा हुन् । सतपाल राउत औपचारिक नामका उनी आध्यात्मको माध्यमबाट राजनीतिक चेतना विस्तार अभियानमा सहभागी रहेको बताइन्छ । उनको नेपालस्थित कार्यालय काठमाण्डौमा छ । भारतमा कांग्रेस आई पार्टीमा सहभागी उनी मानव धर्म तथा उत्थानको नामबाट अभियान चलाइरहेका छन् । नेपालको तराई क्षेत्रको सबैजसो जिल्लामा उनको अभियान चलिरहेको बताइन्छ । जगतगुरु बालसन्त महाराज सुनसरी जिल्लास्थित बराहक्षेत्र, चतराधाममा बस्दै आएका जगतगुरु बालसन्त महाराज नेपालको सामाजिक र राजनीतिक क्षेत्रमा पहिचान बनाएका धेरैजनाका गुरु हुन् ।
उनी नेपालकै नागरिक हुन् । तीन वर्षअघि उनलाई सुरक्षा गार्ड, चालकसहित सरकारी गाडी उलव्ध भएपछि निकै आलोचना भएको थियो । चतराधामले ०५५ सालदेखि ३५ विगाह जमीन ओगेटेको छ । अहिलेसम्म झण्डै २० करोड रुपैंयाँ भौतिक पूर्वाधार निर्माणमा खर्च भइसकेको जनाइएको छ । उनीसित कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेसवादी पार्टीका नेतालगायत प्रशासनिक, व्यावसायिक र सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाएकाहरुको सान्निध्य छ । सरकारले उनका नाममा पनि बजेट निकासा गर्दै आएको छ ।
####
0 comments
Write Down Your Comment