###
|
बाँके, चैत्र ९ - एक वर्षीया छोरी र पत्नीलाई घरमै छाडेर परिवार पाल्न पति भारतको गोवामा छन्.। यता पत्नीलाई अपरिचत व्यक्तिको बारम्बार फोन आउँन थाल्छ । पहिले अनजान व्यक्तिले मोबाईलमा फोन गर्दा महिलालाई अनौठो लाग्थ्यो रे । तर दुई सातासम्म लगातार कुराकानी भएपछि बिस्तारै अपरिचत व्यक्तिसँग माया बस्यो । ती महिलाले छोरीलाई सुर्खेतस्थित माईतीमा छाडेर अपरिचत व्यक्तिलाई भेट्न बुधबार नेपालगन्ज आईन । एक रात नेपालगन्ज बसेपछि मोबाईलमा चिनजान भएका व्यक्तिसँग भारत हिडिन् । नेपालगन्ज सीमामा जाँचका क्रममा सोधपुछ गर्दा मोबाईलमार्फत गाँसिएकोे मायाप्रेमको रहस्या खुल्यो । महिलालाई भारत लैजान खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । एक छोरीकी आमालाई माईती नेपाल नेपालगन्जले आफ्नो जिम्मामा लिएको छ ।
सामाजिक सञ्जाल (फेसबुक) बाट चिनजान भएकै आधारमा भक्तपुरकी २२ वषर्ीया युवती अपरिचित व्यक्तिलाई भेट्न नेपालगन्ज आइन् । एक दिन लगाएर उनी अपरिचत व्यक्तीलाई भेटिन् । उनीहरु भारत जाने क्रममा सीमास्थित माईती नेपालका कर्मचारीले उद्दार गरेका छन् ।
पछिल्लो समयमा मोबाईल र सामाजिक सञ्जाल मार्फतमायाप्रेम गर्ने र महिलालाई भारत लैजान खोज्ने प्रबृत्ति बढेको छ । यी घटनाले मानव बेचबिखनमा संलग्न व्यक्तिहरुले मान्छे फकाउन प्रविधिको प्रयोग गर्न थालेको इंकित गर्छ ।
'मोबाईल र सामाजिक सञ्जालबाट चिनजान गर्ने र फकाएर भारत लैजाने घटना बढेका छन्,' जोखिम यात्रामा रहेका व्यक्तीलाई सीमाबाट उद्दार गर्दैर् आएको संस्था माईती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला भन्छन्,'अपरिचित व्यक्तीको प्रेममा पर्दा मानव बेचबिखन हुने खतरा अझ बढेको छ ।'
पछिल्लो दुई बर्षयता अपरिचित पुरुषसँग मोबाइल र फेसबुक मार्फत प्रेममा परेर भारत जान लागेका ५० महिलालाई सीमाबाट उद्दार गरिएको माईती नेपालको तथ्यांक छ । मोबाइलमा अपरिचित पुरुषसँग प्रेम बसेर भारत जान तयार हुनेहरु अधिकांश मध्यपश्चिमका पहाडी जिल्लाका महिला छन् । त्यसैगरी शहरी क्षेत्रका महिलाहरु भने फेसबुक सम्पर्कमा अपरिचितसँग नजिकिने गरेको पाइएको छ । सीमामा रोकिएपछि अपरिचत व्यक्तिले भारत लैजान खोज्ने कारणबारे महिलाले जानकारी पाउने गरेका छन् ।
'सुरुमा अपरिचत व्यक्तिले फोन गर्दा अनौठो लाग्थ्यो । मोबाईलमा पैसा पठाई दिने अनि बिहे गर्छु भनेपछि फोनमै माया बस्यो । उसले भारतमा गएर विवाह गर्ने भनेपछि पारी जान तयार भएका हौं,' सीमामा उद्दार गरिएकी एक महिलाले भनिन्, 'हामीलाई सीमामा रोकेपछि मात्रै बेच्न लैजान थालेको हो भन्ने जानकारी भयो ।'
मोबाईलको बढ्दो प्रयोगसंगै समुदायमा त्यसको नकारात्मक प्रभाव पनि बढ्दो छ । पहिले नपढेकाहरु बेचबिखनको जोखिममा परेपनि पछिल्ला घटनाले शिक्षित र आधुनिक युवती पनि बेचविखनको उच्च जोखिममा परेका छन् । उच्च शिक्षा अध्ययनरत यूवतीहरु समेत मानव दलालको जालमा फस्ने गरेको मानव बेचबिखनबिरुद्व कार्यरत संस्थाहरुको दाबी छ ।
####
.jpg)




0 comments
Write Down Your Comment