मुटुका कुरा
###

मुटुको काम भनेको शरीरका विभिन्न अंगमा रगत आपूर्ति गर्नु हो। यसका लागि मुटुमा हाम्रो जीवनभर एक मिनेटमा ८० पटक रगत पम्प गर्ने क्षमता भएका शक्तिशाली मांसपेशीहरू छन्। यी मांसपेशीलाई चाहिने अक्सिजन र पोषण तत्त्वका लागि रगत आपूर्ति हुनु जरुरी छ। हाम्रो मुटुमा रगत आपूर्ति गर्ने तीनवटा धमनी हुन्छन्।


यदि यी धमनीमा ८० देखि ९० प्रतिशत रोकावट भयो भने शारीरिक मेहनत गर्दा असजिलोपन महसुस हुन्छ, जसलाई एनजाइना भनिन्छ। धमनीमा एक सय प्रतिशत रोकावट भएमा हृदयाघात हुन्छ। मुटुको धमनीका रोगहरूको कारक तत्त्व उच्च रक्तचाप, मधुमेहको रोग, सुर्तीबाट बनेका कुनै पनि वस्तुको प्रयोग र उच्च कोलेस्टेरोल हुन्। मुटुको धमनीको रोगलाई चिकित्सकीय भाषामा क्याड भनिन्छ। धमनीमा बोसो जम्दा यो रोग हुन्छ।

हृदयाघात
हाम्रो मुटु विशेष प्रकारका मांसपेशीहरूले बनेको प्राकृतिक पम्प हो। यो हाम्रो शरीरको अत्यन्तै महत्त्वपूर्ण अंग हो। यसले हाम्रो शरीरका विभिन्न भागबाट आएको फोहोर रगतलाई फोक्सोमा पठाउँछ। फोक्सोमा पुगेको रगत त्यहाँ अक्सिजनसित घुलमिल भएर शुद्ध र सफा हुन्छ।

शरीरका अन्य भागहरूलाई अक्सिजनसहित पौष्टिक पदार्थले भरिएको रगत चाहिन्छ। यही अक्सिजन घुलमिल भई सफा भएको रगतलाई मुटुले आफूकहाँ ल्याएर त्यसलाई पुन: शरीरका अन्य अंगप्रत्यंगमा पम्प गर्छ। रगतको आपूर्ति पूर्णतया नभएको अवस्थामा मुटुको विशेष मांसपेशी मर्छ र हृदयाघात हुन्छ। एस्पिरिन नामका औषधि दुई चक्की (जम्मा तीन सय मिलिग्राम) बिरामीलाई तत्कालै खुवाउनु हृदयाघातको प्राथमिक उपचार हो।

मुटुको स्थिति मूल्यांकनका लागि सुरुमा ईसीजीद्वारा अनुसन्धान गरिन्छ। यसले तत्कालै मुटुको चाल ठीक छ/छैन र हृदयाघात भएको छ/छैन भन्ने जानकारी तुरुन्त दिन्छ। मुटुको चाल ज्यादै छिटो भएमा, छाती दुखेमा वा सास फेर्न गाह्रो भएमा बिरामीले तुरुन्त ईसीजी गराइहाल्नुपर्छ।

बिरामीमा के कुराको हेक्का रहनुपर्छ भने ईसीजीले मात्रै मुटुको सबै रोग पत्ता लाग्दैन। त्यसैले मुटुको रोग हो कि होइन भन्ने जानकारी पाउन मुटुको इको वा स्ट्रेस टेस्ट गराउनुपर्ने पनि हुनसक्छ।




मुटुको इको
इको भनेको मुटुको बनोट र यसको कार्यक्षमता सही ढंगमा छ कि छैन भनी कष्ट नदिएर शरीर चिरफार नगरीकन जाँच गर्ने प्रक्रिया हो। अर्को शब्दमा भन्ने हो भने इकोकार्डियोग्राफी भनेको मुटुको अल्ट्रासाउन्ड गर्नु हो। इकोकार्डियोग्राम गराएमा हामीले हाम्रो मुटुमा भएका त्रुटि वा खराबी जन्मँदादेखिकै हुन् वा पछि पैदा भएका हुन् भन्ने सबै जानकारी पाउन सक्छौं।

मुटुसम्बन्धी परीक्षणहरूमा इकोकार्डियोग्राम अनिवार्यजस्तै भएको छ। यसका कमीकमजोरी पनि छन्। यसले मुटुका धमनीहरूलाई देखाउन सक्दैन। तसर्थ सामान्य इकोकार्डियोग्रामले मुटुका सबै रोग पत्ता लगाउन सक्दैन।

टे्रडमिल परीक्षण
मुटुका धमनीहरू खुला छन् वा छैनन् भनी थाहा पाउन ट्रेडमिल परीक्षण गरिन्छ। यो परीक्षण गर्न बिरामीलाई ईसीजीको सुपरीवेक्षणसहित टे्रडमिलमा हिँड्न लगाइन्छ। यो परीक्षण गर्दा बिरामीलाई टे्रडमिलमा मुटुको गति एक आवश्यक बिन्दुसम्म नपुगुन्जेल हिँड्न लगाइन्छ र त्यो बेला ईसीजीमा कुनै परिवर्तन हुन्छ कि हुँदैन भनी हेरिन्छ।

यो परीक्षण शतप्रतिशत पक्का हुँदैन। यो ८० प्रतिशतजति पक्का हुनसक्छ। ईसीजीमा कुनै उल्लेखनीय परिवर्तन भएको पाइएमा कोरोनरी एन्जियोग्राफीजस्ता रोग निश्चित गर्ने परीक्षण गराइन्छ।

कोरोनरी एन्जियोग्राफी
कोरोनरी एन्जियोग्राफी भनेको एक्सरे गर्ने एक विशेष प्रविधि हो। यस प्रविधिअन्तर्गत एक विशेष रंगीन तरल पदार्थ मुटुमा जाने धमनीमा पठाइन्छ। यो परीक्षणद्वारा चिकित्सकहरूले साँघुरिएका अथवा बन्द भएका धमनीहरूको अवस्था, प्रकृति र मात्रा तथा तिनका संख्या निक्र्योल गर्न सक्छन्।

यो प्रक्रिया गर्न अन्दाजी १५-२० मिनेटको समय लाग्छ। कोरोनरी एन्जियोग्राफी नेपालमा नियमित रूपमा हुने गर्छ र यसबाट धेरै बिरामी लाभान्वित भएका छन्।

कोरोनरी एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण
कोरोनरी एन्जियोप्लास्टी भनेको बिनाचिरफार शरीरभित्र गरिने उपचारको एक प्रक्रिया हो। यसलाई प्राविधिक भाषामा एन्जियोप्लास्टी भनिन्छ। यस प्रक्रियामा एक विशेष प्रकारले तयार पारिएको बेलुन क्याथेटर साँघुरिएको वा बन्द भएको धमनी खोल्न प्रयोग गरिन्छ।

यो प्रविधि मानिसमा सन् १९७७ मा पहिलोपटक प्रयोग गरिएको थियो। बेलुन एन्जियोप्लास्टी गरिएको रक्तनली वा धमनी फेरि बन्द हुने सम्भावना हुन्छ। चिकित्सकहरू यसलाई रिस्टेनोसिस भन्छन्। त्यसैले पछि आएर रक्तनली वा धमनी खोल्न वा साँघुरोपन हटाउन धातुको नली (स्टेन्ट्स्) प्रयोग हुन थाल्यो। स्टेन्ट प्रत्यारोपण गरिएपछि धमनी पुन: रोकावट वा अवरोध हुने सम्भावना निकै रहन्छ।

धमनीमा बोसो जम्नबाट रोक्न अहिले औषधियुक्त स्टेन्ट प्रयोग गरिन्छ। यो महँगो भए पनि नेपालमा यसको निकै प्रयोग हुने गरेको छ।

कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ
शल्यक्रिया अर्थात् चिरफारद्वारा मुटुमा रगतको आपूर्ति चालू राख्ने प्रक्रियालाई कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ भनिन्छ। एन्जियोप्लास्टीको प्रक्रियाद्वारा धमनीले रगत आपूर्ति जारी राख्ने सम्भावना नभएमा मुटुको बाइपास शल्यक्रिया गरिन्छ।

साधारणत: अलि धेरै ठाउँमा धमनी बन्द भएमा वा धमनीका शाखाहरू छुट्टिने ठाउँमा वा धमनीको लामो भागमा रोकावट भएमा वा मुख्य धमनीको सुरुमै रोकावट भएमा बिरामीको कोरोनरी बाइपास शल्यक्रिया गर्नुपर्छ। यस प्रक्रियाअन्तर्गत बिना कुनै रोकावट मुटुमा रगतको प्रवाह होस् भनेर बन्द भएको धमनीको सट्टा अर्को वैकल्पिक बाटो बनाइन्छ।

यसका लागि चाहिने नली बिरामीको शरीरबाट नै लिइन्छ। सामान्यत: बिरामीको छातीभित्र रहेको कुनै धमनी यस प्रयोजनका लागि प्रयोग गरिन्छ। विकल्पका रूपमा पाखुराको धमनी वा खुट्टाको रक्तनली (शिरा) पनि प्रयोग गर्न सकिन्छ।

मुटुको बाइपास शल्यक्रिया विभिन्न तरिकाबाट गरिन्छ। जस्तै कहिले मुटु-फोक्सो यन्त्र प्रयोग गरी चिरफारको अवधिभरि मुटुलाई पूर्ण रूपमा रोकेर गरिन्छ भने कहिले मुटुलाई चालू नै राखेर गरिन्छ। हाल यी सबै प्रकारका शल्यक्रियाका विधिहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालमै उपलब्ध हुन्छन्।

सबैले हेक्का राख्नुपर्ने कुरा के हो भने न मुटुको बाइपास शल्यक्रिया न एन्जियोप्लास्टी तथा स्टेन्टिङले रोगलाई निको पार्छ। रोग निवारण वा कम गर्न र धमनीहरू फेरि बन्द हुने अथवा रोकावट पैदा हुने सम्भावना कम गर्न बिरामीले जीवनशैलीलाई एकदम बदल्नुपर्छ र नियमित औषधि सेवन गर्नुपर्छ।

कार्डियाक पेसमेकर
यो एउटा सूक्ष्म यन्त्रहरूको समूह हो, जुन मुटुको गतिलाई स्थिर राख्न प्रयोग हुन्छ। मुटुको गतिलाई स्थिर राख्नु मुटुको व्यवस्थापनमा अति नै जरुरी विषयहो। साधारणत: हाम्रो मुटु एक मिनेटमा ६० देखि सयपटकसम्म चल्छ।

एक मिनेटमा ४० पटकभन्दा कम चल्नु भनेको मुटुबाट हुने उत्पादन मगजलाई काम गर्न चाहिनेभन्दा कम छ भन्ने हो। यस्तो भएमा बिरामीमा बेहोश हुने, वाकवाकी लाग्ने, अत्यन्त कमजोर हुनेजस्ता लक्षण देखिन थाल्छन्। अनि यातायातका साधन चलाइरहेका बेला वा एकदम व्यस्त सडक पार गर्न लाग्दा वा पहाड अथवा भर्‍याङ चढिरहेका बेला यस्तो भयो भने ठूलो दुर्घटना हुनसक्छ। पेसमेकरले हाम्रो मुटुको चाललाई एक मिनेटमा ६० पटकभन्दा कम हुन दिँदैन।

अचेल मुटुको असामान्य चाल र रक्त सञ्चालन कम भएर रोकिन गएका मुटु (कन्जेस्टिभ हर्ट फेलर) लाई उपचार गर्न शरीरमा प्रत्यारोण गरिने विशेष यन्त्रजस्ता विभिन्न प्रकारका विशेष सामग्री विकसित भएका छन्। ती उपकरण महँगा हुन्छन् तर मुटुका मांसपेशीहरू धेरै कमजोर भएका बिरामीको ज्यान बचाउन र जीवन लम्ब्याउन सहायक सिद्ध हुन्छन्।

रावत नर्भिक अस्पतालका मुटुरोग विभाग प्रमुख हुन्।
####

0 comments

Write Down Your Comment