मैले ‘नेपाल’ नराखौं भनेकै हो
###

देशको नाम ‘सगरमाथा’ गरौं भन्ने मेरो प्रस्ताव
काठमाडौं उपत्यकामा सीमित ‘नेपाल’ राज्य को इतिहास लगभग ११ हजार वर्ष पुरानो छ।
नेपाल राज्यको सभ्यता, भाषा, संस्कृति अर्थतन्त्र विकासमा वैशाली, मगध बज्र, हालको बंगाल तथा दक्षिण भारतको कर्नाट वंश, तिरूपति को शैविक धर्मसंस्कृित र मध्यदेशमा जन्मेका सपूत बुद्वको प्रमुख योगदान रहेको इतिहास पनि छ।

त्यो इतिहास मधेश र मधेशीको हो ।
‘नेपाल’ शब्द सँग मधेशीको सम्बन्ध र आत्मीयता धेरै पुरानो छ । गोर्खाली या कर्णार्ली संस्कृतिसँगको सम्बन्ध भन्दा धेरै शताब्दी पुरानो।
पृथ्वीनारायाण शाहले उपत्यका जिते पश्चात गोर्खाली समुदायले ‘नेपाल’ नाम आफनो बनाए ।
तर समस्या कहाँनेर छ भने यो शब्द एउटा समुदाय विशेषले कब्जा गरेको छ ।
‘नेपाल’ शव्दलाई सबैको पहिचान, भाषा, सभ्यता र संस्कृितको साझा शब्द बन्न दिइएको छैन ।
‘नेपाल’ नाम र ‘नेपाली’ भाषा आम बुझाइमा जाति वा समुदाय विशेषको भइसकेको छ ।
म नेपाली नागरिक हुँ । नेपाली पासपोर्ट बोक्छु । मेरो अनुहार वा लवज हेरेर ‘इण्डियन’ वा ‘मधेशी’ भनिन्छ । मेरो जस्तै पीडा भोग्ने लाखौं छन् ।
त्यसैले यो विभेद अन्त्यका लागि पहल थाल्ने थलो संविधान सभा हो । भारतकै संविधान सभामा पनि तीन/चारवटा नाममा छलफल भएको इतिहास हामीले पढेकै छौं ।
संविधान सभा संवैधानिक समितिमा मैले ‘नेपाल’को नाम फेरौं भनेर प्रस्ताव दर्ता गरेकै हो ।
समितिको काम नै यस्तै विषयमा छलफल गरेर निर्क्यौलमा पुग्नु थियो । त्यो कुनै अस्वभाविक काम वा अपराध हैन ।
सभासद् एवं त्यतिबेलाका गृहमन्त्री भीम रावलले ‘नेपाल’ को नाम फेर्न खोजेको ‘जस’ मलाई मात्र दिएपनि त्यो मेरो मात्र प्रस्ताव थिएन ।
बृहद् मधेशी मोर्चा (सत्तारुढ मधेशी मोर्चा होइन) र एमाओवादी सभासद्हरुको तीन दिनसम्म चलेको संयुक्त बैठकले नेपालको नाम फेर्न प्रस्ताव तयार गरेको थियो ।
एमाओवादीको केन्द्रीय नेता एवं सभासद् प्रभु साहको नेतृत्वमा एमाओवादीहरु छलफलमा भाग लिइरहेका थिए ।
‘भाषा भन्दा भूगोलको आधारमा नाम राख्यो भने सर्वमान्य हुन सक्छ,’ हामीले निश्कर्ष निकाल्यौं ।’
यतिले मात्र भएन नेपालभित्र वसोवास गर्ने सबै समुदायलाई स्विकार्य हुनुपर्ने खालको नाम पनि चाहियो ।
मैले नै हाम्रो र माओवादीको बैठकमा देशको नाम ‘सगरमाथा’ राखौं भन्ने प्रस्ताव राखे ।
संयुक्त बैठकमा उपस्थित साथीहरुलाई यो नाममा सहमति गराउनु आफै चुनौतीपूर्ण थियो ।
‘सगरमाथा’ भन्नाले ‘माउन्ट एभरेष्ट’ मात्र हैन । सागरको मुकुट भनिएको हो । समुन्द्रसतहबाट हाम्रो तराईसम्म आइपुग्दा नै जमिनको उचाइ उठिसकेको छ ।
तराईबाट चुरे, महाभारत, हिमाल हुँदै भु–भाग चुलिदै सगरमाथामा पुग्छ ।  ‘सगरमाथा’ले हिमालको टुप्पोलाई मात्र जनाउँदैन सबैलाई समेट्छ भनेर तीन दिनमा बल्ल सभासद्हरुलाई ‘कन्भिन्स’ गर्न सकियो ।
‘सगरमाथा’ नाम संविधान सभाका पहाडी नेताहरुले पनि ठाडै आपत्ति जनाउन नमिल्ने खालको थियो ।
बृहद मोर्चा र एमाओवादी सभासद्हरुको वैठक सकिएपछि नेपालको नाम फेरौं भन्ने प्रस्ताव मैले नै लगेर संवैधानिक समितिमा दर्ता गराएकै हुँ ।
जनताको सार्वभौम थलोमा मैले यो मुद्दाबारे छलफल गरौं भने त के बिराए ?
यत्तिका वर्षपछि रावलजीले त्यो प्रस्तावबारे अर्धसत्य कुरा बाहिर ल्याउनुभयो । मैले देशको नाम ‘सगरमाथा’ राखौं भनेर सोही प्रस्तावमा लेखेको कुरा उहाँले जानीजानी लुकाएको देखियो ।
म संवैधानिक समितिमा हुँदाको अर्को सत्य पनि बाहिर आएन । राष्ट्रिय झण्डामा भोटिङ् भयो । मैले नेपालको अहिलेको झण्डाको पक्षमा भोट दिए । एमाओवादी र सरकारी मधेशी मोर्चा झण्डा पनि फेर्नुपर्छ भन्ने पक्षमा थिए ।
हामीले त्यसलाई विफल बनाइदियौं ।
राष्ट्रिय झण्डाबारे मेरो स्पष्ट धारणा छ, ‘यो विशिष्ट आकारप्रकारको छ । युवा र वालवच्चाहरुको मानसपटलमा पनि यो झण्डाप्रति प्रेम गढिसकेको छ ।
झण्डामा कुनै आपत्ति नदेखेकैले मैले पनि अहिलेकै पक्षमा भोट हालेको हुँ । हामीलाई तल्लो दर्जाको नागरिक र आफूलाई राष्ट्रवादको ठेकेदार ठान्ने नेताले यस्तो तथ्य त बाहिर ल्याउँदैनन् ।
माओवादी र केही जनजाती साथिले झण्डामा अंकित चन्द्रसूर्य हिन्दूको प्रतिनिधित्व हो भनेर बिरोध पनि गर्नुभयो ।
तर त्यो तर्कमा पनि मैले दम देखिन । मतदानमा अहिलेकै राष्ट्रिय झण्डाका पक्षमा मत हाले ।
(कुराकानीमा आधारित)
####

0 comments

Write Down Your Comment