एमालेको भातृ संगठन युवा संघको बैठकमा कुटाकुट, महेश बस्नेतले गुण्डा लगाएको आरोप
###

२४ चैत, काठमाडौं । काभ्रेको धुलिखेलमा जारी एमालेको भातृ संगठन युवा संघ नेपालको पूर्ण बैठकको समापन कुटाकुटबाट भएको छ । बैठकको समापनको दिन सोमबार शेरबहादुर तामाङसहितका नेताहरुलाई कारबाहीको घोषणा गरेपछि विवाद सुरु भएको थियो ।


युवा संघले गुण्डागर्दी तथा अराजक गतिविधि गरेको भन्दै केन्द्रीय सचिवालय सदस्य शेरबहादुर तामाङ र अर्जुन गुरुङसहितलाई कारबाही गरिएको घोषणा गरको छ । तामाङले बस्नेतविरुद्ध संगठनको कार्यालयमा तालाबन्दी गरेका थिए ।
युवा संघले शब्दमा विदाइ गरिएकाहरूमा मोतिकला डाँगी, मनोहर बुढाथोकी, गणेश थापा, मुस्लिम खाली, प्रकाश सारू, जोग गुरूङ, सुस्मा कटेल, राजकुमार थापा रहेका छन् । साथै माओवादीमा प्रवेश गरेका पूर्वान्चल उपप्रमुख रुपेश शाक्यलाई कारबाही गरेको छ ।
बैठकको निर्णयप्रति आपत्ति जनाउँदै शेरबहादुर तामाङ समूहले विरोध गरेपछि हात हालाहालको स्थिति आएको हो । ‘किन कारबाही गरेको भन्दै आएपछि स्वयंम सवेक साथीहरुले सम्झाएर पठाउनु भएको हो । कुटाकुट नै भएको होइन’ सचिव रमेश पौडेलले अनलाइनखबरसँग भने । झपड रावल आयोगले समेत कारबाहीका लागि सिफारिस गरेको र पटक पटक सम्झाउँदा पनि नसच्चिएकाले कारबाही गरेको भन्दै उनले भने-’युवा संघ नेपालमा गुण्डागर्दी चल्दैन ।’
कारबाहीमा परेका सचिवालय सदस्य शेरबहादुर तामाङले भने कारबाही गर्नुको कारणबारे आवाज उठाउन खोज्दा अध्यक्ष महेश बस्नेतसहितले पेस्तोल नै देखाएर आफूहरुमाथि कुटपिट गरेको बताए । ‘हिजो चुनावमा पार्टीलाई हराउनेहरुलाई कारबाही भएन, अध्यक्ष महेश बस्नेतले गुण्डागर्दीमा उत्रन दिएको निर्देशन नमान्दा हामीमाथि कारबाही भएको हो’, तामाङले भने-’संगठनको हितविपरित काम गरेको हो भने छानविन गरौं । त्यसो गर्दा पहिले महेश बस्नेत नै पर्छन् ।’
कारबाहीको नाममा अध्यक्ष बस्नेतले गुण्डाको शैली देखाएको उनले आरोप लगाए । बस्नेतले बैठकका क्रममा आदिबासी जनजातिलाई अपमान गर्दै बोलेको पनि आरोप लगाएका छन् ।
उपाध्यक्ष वामदेव गौतमले उद्घाटन गरेको युवा संघको पूर्ण बैठकको समापन वरिष्ठ नेता माधवकुमार नेपालले गरेका थिए ।
####

0 comments

Write Down Your Comment