बहुमत ल्याएर सरकार चलाउँछौ
###

१ कार्तिक, विराटनगर । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले आगामी संविधानसभा निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याई सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । विराटनगरमा आज दिउँसो सञ्चारकर्मीसँगको भेटमा अध्यक्ष खनालले राष्ट्रिय हित एवम् जनताको चाहना अनुसार नै निर्वाचनमा कुनै पनि शक्तिले एमालेलाई बहुमत ल्याउनबाट रोक्न नसक्ने बताए ।


उनले शासकीय स्वरुप र सङ्घीयताबारेको विवाद निर्वाचनपछि संविधानसभाबाट सहमतिमा समाधान खोजिने धारणा व्यक्त गरे । अध्यक्ष खनालले तीन करोड नेपालीको संविधान बनाउन निर्वाचनमा सबै दलको सहभागिता अनिवार्य रहेको छ भन्दै जनताको मतदान गर्न पाउने अधिकार कोही कसैले पनि खोस्नु हुँदैन भने । उनले संविधानसभा निर्वाचनपछि छ महिनाभित्र संविधानको खाका तयार हुने र एक वर्षभित्र संविधान जारी हुने दाबीसमेत गरे ।

एक प्रश्नको जवाफमा अध्यक्ष खनालले नेकपा–माओवादीद्धारा आह्वान गरिएको संविधानसभा मतदान अगाडिदेखि मतदानका दिनसम्मको आमहड्ताललाई जनताले प्रतिकार गर्ने बताउँदै निर्वाचनलाई कसैको धाकधम्की र त्रासले कुनै असर गर्दैन भने । अध्यक्ष खनालले नेकपा–माओवादीलाई निर्वाचनमा सहभागी गराउन सरकार र दलहरुले पहल गरिरहेको जानकारी दिँदै संविधानसभा निर्वाचनपछि दलहरुबीचको सहमतिद्धारा गरिने २६ सभासद्को मनोनयनमा नेकपा–माओवादीलाई ल्याउने सकिने बताए ।
####

0 comments

Write Down Your Comment