###
![]() |
धादिङ, कात्तिक ३ - प्रधानमन्त्री भएको बेला डा. बाबुराम भट्टराईले हरेक महिना नागरिकसँग अन्तक्रिया गर्नुहुन्थ्यो ।
जनतासँग प्रधानमन्त्री भन्ने अन्तक्रियात्मक कार्यक्रममा धादिङका एकजनाले जिज्ञासा राखेका थिए ‘धादिङ आरुघाट जोड्ने सडकको अवस्था दयनीय छ । धादिङको उत्तरी भेग र गोरखा जोड्ने यो बाटोको मर्मतसम्भारमा प्रधानमन्त्रीज्यूले ध्यान दिनुपर्यो ।’
जिज्ञासा सुन्ने बित्तिकै भट्टराईले भन्नुभएको थियो, ‘यो बाटो हुँदै म पनि ओहोरदोहोर गरेको छु । साँच्चै धादिङ र गोरखाकाका बासिन्दाको सुविधासँगै यो बाटो सामरिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । यो बाटोको स्तरोन्नतिका लागि सरकारले पहल गर्छ ।’
भट्टराईले यसो भनेको पनि वर्षदिन भैसक्यो । अहिले उहाँ सरकारमा हुनुहुन्न । सरकारमा नभएपछि फेरि बनाउँछु भन्ने कुरा पनि भएन । त्यसमाथि चुनावको तयारीमा व्यस्त भएकाले अरुलाई जस्तै उहाँलाई पनि यो बाटोको विषयमा सोच्ने फुर्सद छैन ।
तर यो बाटो भएर ओहोरदोहोर गर्ने भट्टराईको चुनावी क्षेत्रका बासिन्दा र अरु यात्रुले सधैं हैरानी र सास्ती खेप्नुपरेको छ । अलिअलि पानी पर्ने बित्तिकै बाटो हिलाम्मे हुन्छ ।
बाटो हिलो भएपछि गाडी चल्नै मुश्किल पर्छ । दशैंमा ओहोरदोहोर गर्ने गाडीवाला र यात्रुले यस्तै हैरानी खेप्नुपर्यो । पाल्पाभञ्ज्याङ र गोलाभञ्ज्याङमा बाटो सबैभन्दा धेरै बिग्रिएको छ । गोलाभञ्ज्याङदेखि टारीबेसीसम्म ग्राभेल गरेकाले त्यति खाल्डाखुल्डी नभएपनि अरु ठाउँमा मुश्किलले गाडी ओहोरदोहोर गर्छन् । एकताका आधीभन्दा बढी बाटोमा पिच भैसकेको थियो । तर त्यो पिच उप्किसकेको छ ।
बेलाबेला बाटो मर्मतको योजना परिरहन्छ । मर्मतको काम पनि हुन्छ । तर खाल्डाखुल्डीको समस्या उस्तै छ । खाल्डाखुल्डीमा गाडी फस्छ भन्ने जानेर गाडीवालाले साबेल, कोदालो, बालुवा लगायतका सरसामग्री गाडीमै राखेर हिँड्छन् ।
अलिकति उकालोमा गाडी फस्नु, साबेल र कोदालोले माटो पन्छाउनु, हिलोमा बालुवा राख्नु, पछाडिबाट धकेलेर बल्लतल्ल गाडी निकाल्नु सामान्य भैसकेको छ । चुनावमा भोट माग्न भट्टराई लगायत कांग्रेस, एमाले र राप्रपाका नेताहरुले हिँड्ने बाटो पनि यही हो । स्मरण रहोस् आरुघाट घर भएका अहिलेका मन्त्री रामकुमार श्रेष्ठ पनि कयौं पटक झण्डा हल्लाउँदै यही बाटो ओहोरदोहोर गरिसक्नुभएको छ ।
####
0 comments
Write Down Your Comment