एमालेका ‘डन’ले संघीय समाजवादीविरुद्ध गोली चलाए
###

सूर्यचिन्ह अंकित गाडी छाडेर कार्यकर्ता फरार
१४ कार्तिक, धरान । नेकपा एमालेको भातृ संगठन युवा संघका धरान नगर इञ्चार्ज दिवस राईले गोली प्रहार गरेको भन्दै संघीय समाजवादी पार्टीले प्रहरीमा ज्यान मार्ने उद्योग र अवैध हतियार प्रयोग विरुद्ध उजुरी दर्ता गराएको छ । गोली काण्डको विरोधमा संघीय समाजवादीले भानुचौकमा चक्काजाम गरेको छ ।
उजुरीमा विहीबार विहान साढे ४ बजे धरान ११ शान्तिचौकमा मासु पसलमा बसिरहेका संघीय समाजवादीका निर्वाचन परिचालन कमिटी उपाध्यक्ष मदन तामाङसँग विवाद भएपछि एमाले समर्थित युवा संघका दिवसले पेस्तोल निकालेर गोली प्रहार गरेको उल्लेख छ । मदनले अनलाइनखबरसँग कुरा गर्दै आफुलाई गोली हानिए पनि लाग्नबाट बचेको बताए ।




प्रहरीले नियन्त्रणमा लिएको गाडी
त्यसलगत्तै घटनास्थलमा आएका संघीय समाजवादीका जिल्ला उपाध्यक्ष पारस काङमाङलाई पनि कञ्चटमा ताकेर प्रहार गरे पनि पारसले छलेर बचेको उजुरीमा उल्लेख गरिएको छ ।
युवा संघका दिवसले संघीय समाजवादी पार्टीको झण्डा झिकेर जलाएपछि विवाद भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । घटनास्थल पुग्दा शान्तिचौकका रेगन राईले सुरुमा मासु पसलमा रहेको झण्डा झिकेर दिवसले जलाएपछि विवाद सुरु भएको बताए ।

भानुचौकमा चक्काजाम गर्दै समाजवादीका युवा
प्रहरीले घटनास्थलबाट दिवसले प्रयोग गरेको बा २ च ९७४५ नम्बरको सूर्यचिन्ह अंकित जीप बरामद गरेको छ । दिवस भने हतियारसहति फरार भएकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी टेकबहादुर तामाङले बताए । प्रहरीले दोषीलाई पक्राउ नगरेको भन्दै समाजवादीले धरानको भानुचौकमा चक्काजाम गरेको छ ।
यसअघि पनि धनकुटामा ठेकेदार अपहरणको आरोपमा पक्राउ परेका दिवस पूर्वलागुऔषध प्रयोगकर्ता हुन् । त्यसअघि धरानमा युवाहरुबीच तलबार हानाहानमा सक्रिय दिवसलाई एमालेले पार्टी प्रवेश गराएपछि उनी खुलेआम गाडीमा एमालेको चुनाव चिन्ह लगाएर हिँडिरहेका थिए ।
केही बर्षअघि धरान १८ शिवमार्गमा रिकोभरि युवासँग गोली काण्डमा मुछिएका उनलाई एमालेले बचाएको थियो । उनले क्लासिक नामको जीपमा गुण्डाहरुको समुह नै लिएर बजारमा हुक्याउने गरेका थिए । जीपमा समेत सुर्य चिन्ह, नेकपा एमाले जिन्दावाद, युवा संघको झण्डा लगायतका छाप बनाएका छन् । यो गाडी अहिले प्रहरीको नियन्त्रणमा छ ।
####

,

0 comments

Write Down Your Comment