प्रचण्ड मिनेटमा हजार सक्ने, नारायणकाजी पर्चा बेच्ने
###
|
फिस्टेल एयरको हेलीकोप्टरको भाडा प्रतिमिनेट एक हजार
१४ कात्तिक, काठमाडौं । यी दुबै तस्वीर विहीबार अन्नपूर्ण पोष्टमा छापिएका हुन् । एउटा तस्वीरमा काभ्रेको पाँचखालमा अवतरण गरिएको फिस्टेलको हेलिकोप्टरभित्र एमाओवादी अध्यक्ष प्रचण्ड खैरो कोट लगाएर बसिरहनुभएको छ भने अर्को तस्वीरमा सोही पार्टीका पूर्वउपाध्यक्ष एवं बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ मकवानपुर २ स्थित आफ्नो निर्वाचन क्षेत्रमा चुनाव खर्चका लागि १० रुपैयाँ गोटा चुनावी पर्चा बेचिरहनुभएको छ ।
धेरैलाई लाग्न सक्छ नारायणकाजीले पर्चा वितरणबाट १० रुपैयाँ उठाउनु अनौठो कार्य हो । तर, यो कुनै नयाँ अभियान भने होइन । मकवानपुरका चर्चित राजनीतिज्ञ रुपचन्द्र विष्ट ‘थाहा’ले चलाएको चलन हो यो । पर्चा छाप्दा खर्च लाग्ने र सो पर्चा निशुल्क बाँड्दा नेताले भ्रष्टाचार गर्नुपर्ने या व्यापारीसँग पैसा माग्नुपर्ने भएकाले जनतामै भर पर्नका लागि पर्चा निशुल्क बाँड्न नहुने तत्कालीन राष्ट्रिय पञ्चायतका जननिर्वाचित सदस्य स्व. रुपचन्द्र विष्टले बताउने गरेका थिए । त्यसो त रुपचन्द्र विष्टले कुनै बनावटी रुवरुप देखाउनका लागि यस्तो कार्य गरेका थिएनन् ।
०३७ साल र ०४३ सालमा मकवानपुरमा विष्टले दुईपटक चुनाव जितेका थिए । पञ्चायतकालमा २ सीट रहेको मकवानपुरबाट ०४३ को चुनावमा पञ्चायतका तर्फबाट कमल थापा जनपक्षीय उम्मेद्वारका रुपमा रुपचन्द्रले दोस्रोपटक चुनाव जितेका थिए । चर्चित र आदर्श राजनीतिक विष्टको निधन बहुदल आएपछि भएको हो । हाल मकवानपुरमा विष्टको सम्झनामा गाहा गाविस घर र पूर्णकदको शालिगसमेत बनेको छ । शुरुमा गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएपछि रुपचन्द्रले गाविस कार्यालयमा दिनभरिको आम्दानी र खर्च भित्तामा लेखेर सर्वसाधारणलाई जानकारी गराउँथे ।
आर्थिक पारदर्शिता र आत्मनिर्भरता उनको मुख्य आदर्श थियो । लवाइ-खवाइमा तडक-भडक र फजुल खर्चको उनी कडा विरोधी थिए । तिनै आर्दश व्यक्तित्व विष्टको गृह एवं कर्मक्षेत्रमा चुनाव लड्न पुग्नुभएका नारायणकाजी श्रेष्ठले विष्टको सिको गर्दै चुनाव खर्च जुटाउन र पर्चाको छपाइ खर्च उठाउन प्रतिपर्चा १० रुपैयाँ लिन थाल्नुभएको हो । विष्टले भोट माग्न जाँदा मतदातानको घरमा काम सघाउने, मल बोकिदिने, गोबर सोहोर्ने र घाँस काटिदिने गरे पनि एमाओवादी नेता नारायणकाजीले त्यसरी कामै सघाउन चाहिँ भ्याउनुभएको छैन ।
प्रचण्डको हेलीकोप्टर खर्च एक मिनेटको एक हजार
यसैवीच एकीकृत एमाओवादी अध्यक्ष प्रचण्डले देश दौडाहामा प्रयोग गर्ने फिस्टेल एयरको हेलिकोप्टरको भाडा प्रतिमिनेट १ हजार रुपैयाँ पर्ने गरेको स्रोतले बतायो ।
यो हिसावले हेर्ने हो भने नारायणकाजीले सय जनासँग बेचेको पर्चाको पैसा प्रचण्डबाट एक मिनेटमा सकिन्छ । कहाँको रुपचन्द्र, कहाँको प्रचण्ड भनेजस्तो अहिलेका नेताहरुले चुनावमा गर्ने यथार्थ खर्चसमेत जनतालाई देखाउने गरेका छैनन् । अब नारायणकाजीले चुनावी खर्च जनतासमक्ष सार्वजनिक गरे भने उनले रुपचन्द्रको पदचाप पछ्याएको टहरिने छ । अन्यथा आर्थिक रुपमा पारदर्शी र सादगी नभएसम्म रुपचन्द्रको सिको गर्न खोज्नु भनेको नाटकमात्रै ठहरिने छ ।
कुकुरलाई लगाउने माला नेताले सिध्याए
यसैवीच शनिबार कुकुर तिहार परेको छ ।उक्त दिन टेलिभिजनमा या जनताको घर-आँगनमा उम्मेद्वारहरु सयपत्री फूलको माला लगाएर मुसुक्क मुस्कुराउँदै झुल्किए भने अनौठो नमान्दा हुन्छ । तर, कुकुरतिहारका दिन आफूले लगाउने मालामा नेता सजिएको देख्दा कुकुरहरु भने पक्कै छक्क पर्ने छन् । निर्वाचन नहुँदै र हारजीत नहुँदै सयपत्री फूल र अवीरमा सजिने कुप्रथा यसपालिको चुनावमा सबै दलका नेताहरुमा देखिएको छ । तिहार अघि नै नेताहरुले सयपत्री फूल चुँडेर सकेको हुनाले कुकुर, गाई र भाइलाई फूलको अभाव हुने सम्भावना छ । चसनावै नजिती माला लगाउने र सडकबाट अग्ला घरको छततिर चिहाएर दुई हात हल्लाउँदै उम्मेद्वारहरु हिँडिरहेको देख्दा चुनावमा प्रशस्तै विकृति भित्रिन थालेको प्रष्ट हुन्छ । चुनाव प्रचार-प्रसारमा तडक-भडक, रंगीन पोष्टर र ब्यानर छपाइ लगायतका विकृति एकातिर बढेका छन् भने अर्कोतर्फ भोट माग्न हिँडेको हो कि विजय जुलुस मनाएको हो भनेर छुट्याउन गाह्रो भएको छ ।
####
.jpg)





0 comments
Write Down Your Comment