###
|
पाँचथर, कार्तिक १४ - लिम्बुवान आन्दोलन सुरु भएको जिल्ला पाँचथरमा जातीय पहिचान र बहुपहिचानसहितको संघीयता चाहने दलहरू चुनावी मैदानमा छन् । माओवादी र लिम्बुवान कार्यकर्ताको अवरोधबीच उम्मेदवारहरू आ-आफ्नो मुद्दा लिएर गाउँ-गाउँ पुगेका छन् ।
जातीय पहिचानसहित संघीयताको मुद्दा लिएर एमाओवादी र संघीय समाजवादी चुनावी मैदानमा छन् भने बहुपहिचानको मुद्दा कांग्रेस र एमालेले बोकेका छन् । संघीयताको विषयमा ती पार्टीहरूको फरक-फरक धारणा रहे पनि मत माग्ने बेलामा सबै उम्मेदवारले पहिचानको मुद्दा उठाएका छन् । सबै उम्मेदवारको ध्यान जनजाति मतदाता तान्न केन्दि्रत छन् ।
फरक यत्ति हो कि एमाओवादी र समाजवादीले 'लिम्बुवान' प्रदेशको मुद्दा उठाएका छन् भने कांग्रेस, एमालेले लिम्बुलाई समेट्ने गरी बहुपहिचान अर्थ दिने प्रदेशको कुरा लिएर गएका छन् । २०६८ को जनगणनाअनुसार पाँचथरमा लिम्बुको जनसंख्या ८० हजार तीन सय -४१ प्रतिशत) छ । यो जिल्लामा प्रमुख दलका उम्मेदवारहरू लिम्बु छन् । ब्राह्मण, छेत्रीको जनसंख्या करिब २१ प्रतिशत छ ।
उम्मेदवारहरू पहिचानको मुद्दामा विवाद गरिरहेका बेला मतदाताले उनीहरूको ध्यान विकास निर्माणतिर तानेका छन् । एउटा विशेष जातिको बाहुलता भए पनि उनीहरू मिलेर बसेकाले विकासमा जोड दिनुपर्ने उनीहरूको माग छ ।
जातीय पहिचान र बहुपहिचानबीच टकराव हुँदा राजनीतिले 'जातीय' रूप लिने स्पष्ट संकेत देखिएको छ । प्रमुख दलबीच एकल र बहुपहिचानबीच फरक मत भए पनि अब बन्ने प्रदेशमा सबै जातिको सम्मान हुनेमा सबै सहमत छन् । कान्तिपुरसँगको कुराकानीमा उम्मेदवारहरूले पहिचानविरोधी नगरे पनि आ-आफ्नो ढंगले व्याख्या गरेका छन् । उम्मेदवारहरू मतदातासमक्ष पुग्दा सबैको पहिचान हुने भन्दै जित्ने रणनीतिमा लागेका छन् ।
पाँचथर १ का एमाओवादी उम्मेदवार आइन्द्रकुमार केरुङ 'लिम्बुवान' हुँदैमा अरू जातिको असम्मान नहुने बताउँछन् । 'यो विगतदेखि नै राज्यसत्ताबाट उत्पीडित क्षेत्र हो, त्यसैले लिम्बुवान प्रदेश चाहिएको हो,' उनले भने, 'लिम्बुवान हुँदैमा अरू जातिको अधिकार हुँदैन भन्ने सोचाइ गलत हो ।'
कांग्रेस, एमालेका उम्मेदवारले जातीय पहिचानको मुद्दाबारे मतदाताले विस्तारै बुझ्दै गएको दाबी गर्दै बहुपहिचानमा समर्थन जुट्दै गएको बताउँछन् । एमाओवादी, समाजवादीको जातीय पहिचान जातिसँग मात्र गाँसिएको नभई 'राष्ट्रियता' को भएको दाबी छ ।
त्यही क्षेत्रका कांग्रेस उम्मेदवार नरेन्द्रकुमार कुरुङले एकल पहिचानभन्दा बहुपहिचानले सबै जातजातिबीच एकता मजबुत गर्ने तर्क गर्छन् । 'हामीले पहिचान हँुदैन भनेको होइन, बहुपहिचानसहितको संघीयता राखेपछि एकता मजबुत हुन्छ भनेका हौं,' उनले भने, 'ं-५ प) पहिचान, प्रतिनिधित्व, पहुँच, प्रतिष्ठा र प्रगति हुनुपर्छ । हामी पहिचानको विरोधी हुन सक्दैनौं ।'
त्यही क्षेत्रका एमाले उम्मेदवार गणेशकुमार काम्बाङ जातीय पहिचानको नाममा विभिन्न जातजातिबीच द्वन्द्व बढ्ने जातीय राजनीति गर्न नहुने तर्क गर्छन् । 'यहाँ जातीय पहिचानको नाममा जातजातिबीच द्वन्द्व बढाउने जातीय राजनीति भइरहेको छ, जातको नाममा राजनीति गर्नु गलत हो,' उनी तर्क गर्छन्, 'लिम्बुवान राख्दैमा सबै कुरा ठीक हुने होइन, बहुपहिचानले पो बरु सबैलाईर् समेट्छ । त्यसमा सबैले सम्मान पाउँछन् भनेका हौं ।'
संघीयताको मुद्दामा चर्को विवाद भएपछि अलग भएको अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टीका पाँचथर १ का उम्मेदवार राजेन्द्र जवेगुले जातीय मुक्तिका लागि पहिचान आवश्यक परेको बताए । 'जातीय पहिचान लिम्बुवानले दिन्छ, त्यसकारण प्रदेशको नाम यही हुनुपर्छ,' उनको भनाइ छ, 'लिम्बुवानमा सबै जाति, भाषी, संस्कृति रहन्छ, सबै सम्मानपूर्वक बस्न पाउँछन् । लिम्बुवान हुनेबित्तिकै डराउने कारण छैन ।'
उनले कांग्रेस एमालेले बहुपहिचानका नाममा जातीय पहिचानलाई मेटाउन खोजेको आरोप लगाए । 'बहुपहिचानका नाममा अलमल्याउन खोजिएको छ, लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई मेटाउन खोजिएको छ ।'
पाँचथर २ का एमाओवादी उम्मेदवार दिनेश लावतीले पहिचानसहितको संघीयतालाई मूल एजेन्डा लिएर निर्वाचन अभियानका लागेको बताए ।
'लिम्बुवान राख्दैमा त्यसलाई साम्प्रदायिक ढंगले हेर्न हुँदैन,' उनले भने, 'यसमा अरूको पहिचान पनि हुन्छ ।' त्यही क्षेत्रका एमाले उम्मेदवार डम्बर सम्बाहाम्फे सामाजिक संरचना मिश्रति भएकाले एक पहिचानको विरोध गरेको जनाए । 'हाम्रो सामाजिक संरचनाअनुसार बहुपहिचान आवश्यक हुन्छ भनेको हो,' उनले भनाइ छ ।
२०६३ पछि पाँचथरबाट लिम्बुवान आन्दोलन चर्किएको थियो । युद्धका बेला माओवादीले जातीय पहिचान मुद्दा उठाएको थियो ।
स्थानीय विश्लेषक तेजमान आङदेम्बे भोटका लागि मात्र जातीय पहिचानको कुरा गरेको हो भने गलत हुने बताउँछन् । 'लिम्बुवान प्रदेश भए ठूलो पदमा पुग्न सकिन्छ र भोटका लागि जातीय पहिचानको कुरा गरेको हो भने गलत हो,' उनले भने ।
पाँचथरमा राप्रपा नेपालबाट बाबुछोराले प्रमुख दललाई चुनौती दिएका छन् । क्षेत्र नम्बर १ बाट छोरा सगुन र २ नम्बरबाट पूर्वमन्त्री पद्मसुन्दर लावती प्रतिस्पर्धामा उत्रिएका छन् ।
'म घोडाजस्तै तीव्र गतिमा चुनाव प्रचारमा छु,' उनले भने, 'मैले नै यस जिल्लाको विकासका आधार बसालेको हुँ, जित्छु ।' उनले जातीय आधार राज्य बनाउने पक्षमा नभएको भन्दै त्यसले जातजातिबीच बिग्रह ल्याउने तर्क गरे ।
यसअघि कांग्रेसले जितेको पाँचथर १ मा कांग्रेस, एमाले, एमाओवादी र समाजवादीबीच मुख्य प्रतिस्पर्धा छ । कांग्रेस र एमालेका उम्मेदवारले एक आपसमा प्रतिस्पर्धा भएको उल्लेख गरे । अघिल्लोपटक एमालेले जितेको पाँचथर २ मा एमाले, कांग्रेस, एमाओवादी, राप्रपा नेपालबीच कडा प्रतिस्पर्धा हँुदैछ ।
ताप्लेजुङ पहिचानभन्दा विकासको कुरा धेरै
जिल्लाको ढुंगेसाँघु गाउँ विकास समितिमा आयोजित आमसभामा भेला भएका जनतालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले यसपटकको निर्वाचनमा एकल पहिचानकी बहुपहिचानको फैसला गर्न अपिल गरे ।
उनले भनेजस्तै पहिचानको विषयलाई जिल्लाका कुनै पनि ठूला दल र उम्मेदवारले भोट माग्ने आधार बनाएका छैनन् । पाथीभरा बहुमुखी क्याम्पसका प्रमुख मोहन राई जिल्लाका आधा गाविसमा आमसभा छिचोलिसकेका ठूला दलले विकास र संविधान निर्माणको कुरालाई प्राथमिकतामा राखेको बताउँछन् । 'पहिचानको कुरालाई त मौसमी रूपमा मात्रै उठाएका छन्,' उनले भने ।
ताप्लेजुङमा जनजाति मतदाता ६६ प्रतिशत छन्, त्यसमा ४० प्रतिशत लिम्बु छन् । प्रमुख दलले लिम्बु उम्मेदवार उठाएका छन् । उम्मेदवारले विकासका साथै जातीय पहिचानको मुद्दालाई आ-आफ्नो ढंगले व्याख्या गरेका छन् ।
क्षेत्र नम्बर १ का एमाओवादी उम्मेदवार सञ्चपाल मादेनले पार्टीको अवधारणाअनुसार पहिचान र संघीयतासहितको संविधान र अधुरा विकासका कामलाई पूरा गर्ने मुद्दा आफूले उठाएको बताए । 'मैले पहिला धेरै विकासका काम थालेको थिएँ, तिनलाई पूरा गर्छु भन्ने कुरा पनि उठाएको छु,' उनलेे भने ।
क्षेत्र नं २ का टंक आङवोहाङले जितपछि क्याबिनेट मन्त्री हुने पक्का भएकाले पिछडिएको जिल्लाको विकासमा सहयोग पुर्याउने भन्दै मत मागेका छन् । कांग्रेस १ की लीला बोखिमले महिला उम्मेदवार भएको र महिलाका मुद्दालाई उठाउन आफ्नो जितमा सहयोग गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेकी छन् ।
२ कै उम्मेदवार प्रताप हाङगामले संविधान निर्माणलाई प्राथमिकता दिएका छन् । एमाले १ का भूपेन्द्र थेवेले संविधान निर्माण र विकासका कुरा तथा २ का डम्बरध्वज तुम्बाहाम्फेले विगतमा सुरु भएका क्षेत्रीय सडक, बिजुली, खानेपानी र संविधान निर्माणलाई प्राथमिकतामा राखेको बताए ।
पहिचानको मुद्दामा सबैले पार्टीको धारणा सुनाएका मात्रै छन् । यसअघि नम्बर १ मा कांग्रेसका सूर्यमान गुरुङ र २ बाट एमालेका डम्बरध्वज तुम्वाहाम्फेले पुरानै प्रतिस्पर्धीहरू एमाओवादीका टंक आङबोहाङ र कांग्रेसका प्रताप प्रकाश हाङगामसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
तेह्रथुममा पहिचान र विकासको मुद्दा तेह्रथुममा पनि दलहरूले पहिचानको मुद्दालाई केन्दि्रत भएर उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । कांग्रेस, एमालेले जनजाति उम्मेदवार उठाए पनि एमाओवादीले ब्राह्मण उम्मेदवार उठाएको छ । रोचक कुरा के छ भने कांग्रेस, एमालेका जनजाति उम्मेदवारभन्दा एमाओवादीका ब्राह्मण उम्मेदवारले जातीय पहिचानको मुद्दा उठाएका छन् ।
जिल्लाका ५२ हजार ४ सय ६ मतदातामध्ये आदिवासी जनजातिको संख्या करिब ४५ प्रतिशत छ । १८ दलको मनोनयनमा आठजना उम्मेदवार आदिवासी जनजाति छन् । एउटामात्रै निर्वाचन क्षेत्र भएको तेह्रथुममा संविधानसभाको अघिल्लो निर्वाचन जितेकी कांग्रेसका तुलसी सुब्बा यसपटक पनि उम्मेदवार छन् ।
अघिल्लोपटक दोस्रो स्थानमा रहेका भवानी खापुङलाई नै एमालेले यसपटक पनि उठाएको छ भने एमाओवादीले दुर्गा चापागाईंलाई उठाएको छ । प्रमुख तीन दलबाहेक यसपटक खस समावेशी राष्ट्रिय पार्टी, फोरम लोकतान्त्रिक र संघीय समाजवादी पार्टी पनि प्रतिस्पर्धामा छन् ।
चुनावमा पहिचानसहितको संघीयताको कुरा उठे पनि आफू सबैलाई सहज हुने समावेशी व्यवस्थाको पक्षमा रहेको कांग्रेस उम्मेदवार सुब्बाले बताए । 'पहिचानको मुद्दाभन्दा जनता विकासका कुरा उठाउँछन् । त्यसैले भोट माग्न पहिचानका खरा कुरा गर्नुपरेको छैन,' उनले भने । पहिचानसहितको संघीयताका सवालमा पार्टीले लिने नीतिमै बल पुर्याउनुको विकल्प नभएको उनले बताए ।
एमाले उम्मेदवार खापुङ जनजातिका भोटभन्दा पार्टीले लगानी र क्रियाशीलतालाई ध्यानमा राख्दै उम्मेदवार चयन गरेको बताउँछन् । 'आदिवासी जनजाति भएकाले वा यो क्षेत्रमा जनजाति मतदाता बढी भएकाले आदिवासी जनजाति उम्मेदवार दिएको होइन,' उनले भने, 'क्रियाशीलता र इमानदारितालाई पार्टीले हेरेको भन्नुपर्छ ।'
संखुवासभामा त्रिपक्षीय
संखुवासभाका दुवै क्षेत्रमा प्रमुख प्रतिस्पर्धा एमाओवादी, कांग्रेस र एमालेबीच हुने देखिएको छ । यस जिल्लामा आदिवासी जनजातिको संख्या ४८ प्रतिशत छ । क्षेत्र नं. १ मा एमाओवादीका इन्द्रहाङ राई, कांग्रेसका तारामान गुरुङ, एमालेका हेमराज घिमिरे, राप्रपा नेपालका रोषण रोक्का, संघीय समाजवादी पार्टीका नारद राईसहित १८ जना चुनावी मैदानमा छन् भने २ नम्बर क्षेत्रमा एमाओवादीका राजेन्द्र किराँती, कांग्रेसका दीपक खड्का, एमालेका राजेन्द्र गौतमसहित १३ उम्मेदवार छन् ।
अघिल्लो पटक १ नम्बर क्षेत्रमा माओवादीका पूर्णप्रसाद राई र २ मा एमालेका डम्बर खड्काले जितेका थिए । 'जनयुद्ध र जनआन्दोलनको अग्रणी मोर्चा हामी हौं,' एमाओवादीका जिल्ला संयोजक भवेन्द्र अधिकारीले भने, 'संविधानसभाको नारा र एजेन्डा भनेकै एमाओवादीको हो, त्यसैले जनतालाई त्यही कुरा बुझाउँदैछौं, जित्छौं ।'
कांग्रेसले भने विकासे मुद्दालाई अघि सारेर घरदैलो गरिरहेको छ । 'कांग्रेसले संविधानसभामा काम गर्न पाएन भनेर जनताले बुझेका छन्,' कांग्रेसका स्थानीय नेता दीपनकुमार श्रेष्ठ भन्छन्, 'त्यसैले मौका दिनका लागि जनलहर बढेको छ ।'
प्रमुख दललाई चुनौती दिन यसपटक संघीय समाजवादी पार्टी र राप्रपा नेपालले पनि प्रचारलाई तीव्रता दिएको छ । एमालेको दुवै क्षेत्र सजिलै जित्ने दाबी गरेको छ । प्रचार विभाग प्रमुख नारायण कटुवाल २ नम्बर क्षेत्रमा ०४८ सालबाटै चुनाव जितेर बर्चस्व कायम गर्दै आएको बताउँछन् ।
भीम घिमिरे, लवदेव ढुंगाना/पाँचथर आनन्द गौतम/ताप्लेजुङ, चन्द्र कार्की/तेह्रथुम र दीपेन्द्र शाक्य/संखुवासभाको सहयोगमा
####
.jpg)




0 comments
Write Down Your Comment