###
|
गैरआवासीय नेपालीको छैटौं विश्व सम्मेलनको चौथो दिन मङ्गलबार सम्मेलन स्थल आर्मी क्लब, भद्रकालीमा ‘सशस्त्र युद्धकालीन कालमा मारिएका १७ हजार नेपालीको रगतको मूल्य खोज्दै’ माओवादी अध्यक्ष पुष्पकमल दाहालका विरुद्ध हुटिङ भएको छ। सम्मेलनको एउटा सेसनमा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूलाई ‘इकोनोमिक एजेण्डा फर पोर्सपरस नेपाल’ विषयमा बोल्न बोलाइएको थियो।
माओवादी अध्यक्ष दाहालले पूर्वनिर्धारित कार्यक्रम अनुसार बोलिसकेर प्रश्नोत्तर कार्यक्रम सुरु भएपछि सुरुमा अमेरिकाबाट सम्मेलनमा सहभागी दर्शन रौनियारले प्रश्न गरे, ‘प्रचण्डजी तपाईंको नेतृत्वमा हाम्रो देशका १७ हजार गरिब जनता मारेर पावरमा आउनुभयो।
त्यसको जिम्मेवारी लिनु हुन्छ कि लिनुहुन्न? त्यो रगतको मूल्य कति? देशले के पायो?’ अमेरिकी कंग्रेसका लागि पार्टीभित्रै प्रारम्भिक उम्मेदवारी दिएका दर्शनले अब दलहरुले नेपाल बन्द कहिल्यै गर्दिन भनेर प्रतिवद्धता व्यक्त गर्नुपर्ने, मेचीदेखि महाकालीसम्मका सबै मोटर बाटोलाई शान्ति क्षेत्र घोषणा गर्नु पर्ने, स्कूल र क्याम्पसमा राजनीति बन्द गर्नु पर्ने र सबै उद्योग कलकारखानामा र सरकारी निकायमा ट्रेड यूनियन बन्द गर्नालेमात्र देशमा आर्थिक स्थिति मजवुत बन्ने उल्लेख गर्दै के तपाईं यी काम गर्न प्रतिवद्धता व्यक्त गर्न सक्नुहुन्छ भनेर प्रचण्डलाई सोधेका थिए।
त्यसपछि गैरआवासीय नेपाली सम्मेलनमा हल्लीखल्ली सुरु भयो। त्यस्तै बेल्जियमबाट सम्मेलनमा सहभागी हुन आएकी कांग्रेस कार्यकर्ता सीता सापकोटाले माओवादी ‘जनयुद्ध’ कालमा रगतको मूल्य चर्कै भएको र माओवादी लडाकूको नाममा अर्बौ रकम हिनामिना भएको कुरा जोडदार रुपमा उठिरहेको छ ? प्रचण्ड, तपाईं त्यो हिसाव देखाउन सक्नु हुन्छ? गरिब जनताका छोराछोरी मारेर राष्ट्रको ढुकटीबाट अवौं रकम हिनामिनाको विषय जनतालाई जवाफ दिनु पर्छ कि पर्दैन? त्यसको नैतिक जिम्मेवारी तपाईंले लिनुपर्छ कि पर्दैन भनेर प्रश्न तेस्र्याएपछि सम्मेलनको वातावरण एकाएक चर्किन पुगेको थियो।
दाहालका समर्थक एनआरएनहरू कराउन थाले, ‘यसरी व्यक्तिगत लाञ्छना लगाउने किसिमका प्रश्न नगर्न र यदि गर्ने हो भने हामी पनि अनेकौं प्रश्न गर्न सक्छौं।’
त्यतिकैमा अष्ट्रेलियाबाट आएका प्रतिनिधिले ‘माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाललाई तपाईं कहिलेसम्म छाडा छाड्नु हुन्छ? दुनियाँका छोराछोरीले दुइटा विवाह गर्दा कारबाही हुन्छ, तपाईंका छोरा प्रकाश दाहाल यहीँ छन्। तपाईं उनलाई किन कारबाही गर्नु हुन्न? उल्टै प्रकाशले जनतालाई खिल्ली उडाउँदै छन्’ भने। यो प्रश्नसँगै माहौल धमिलिन पुग्यो। प्रचण्डविरुद्ध हुटिङ सुरु भएको थियो भने प्रचण्डका समर्थकहरुले समेत होहल्ला सुरु गरे। यतिबेलासम्म एनआरएनका अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष उपेन्द्र महतो स्थिति साम्य पार्न सक्रिय भए।
यो सेसनका सञ्चालक कुलचन्द्र गौतम चुपचाप रहे।
त्यतिकैमा महतोले माइक लिएर सम्मेलनमा सहभागी नेपालीलाई संयमित हुन पटक पटक आग्रह गरे। अनि उनले ‘तपाईंहरुलाई यो संस्थाको माया छ कि छैन? छ भने यस्तो राजनीतिक विषयमा नलाग्नुस्। छैन भने तपार्इंहरु यहाँबाट निस्केर जानुस्। तपाईंहरू यदि राजनीतिक दलको भ्रातृ संगठनका कार्यकर्ता हुनुहुन्छ भने तपाईंहरु यो कुरा पार्टीको फोरममा गर्नुस् भन्दै उनले पटकपटक शान्त हुन आग्रह गरेपछि स्थिति सामान्य बनेको थियो। यतिञ्जेलसम्म प्रचण्ड अत्यन्तै निन्याउरो अनुहार लगाएर रमिता राम्ररी हेर्न पनि सकेनन्। झोक्राएझैं बसिरहेमात्र। स्थिति होहल्ला र वादविवादमा परिणत भएपछि प्रचण्डको सुरक्षामा आएका सादा पोशाकधारीहरुले सञ्चारकर्मीहरुलाई दृष्य नखिच्न र बाहिर निस्कन दबाब दिएका थिए ।
सुरक्षाकर्मीहरु निकै सक्रिय भएका थिए। उपेन्द्र महतोको प्रयासपछि स्थिति सामान्य भएको थियो। त्यसपछि प्रचण्ड आफैले मञ्चको माइक लिएर प्रश्न कर्ताहरुलाई अत्यन्तै आक्रामक ढंगले जवाफ दिएका थिए। ‘जुन परिस्थितिबाट म आएको छु । त्यसमा पक्कै पनि माओवादीले निक्कै ठूलो बलिदानी दिएको र त्यसबाट आजको परिवर्तन संभव भएको हो। त्यसमा मैले निक्कै नै ठूलो जाखिम मोलेर यो परिवर्तन संभव तुल्याएको हो। त्यसैले इतिहासका कुरा नदोहो¥याउँ? सकारात्मक कुरातर्फ तपाईंहरू किन लाग्नुहुन्न? किन नकारात्मक कुरामात्रै गर्नुहुन्छ? एकले अर्कालाई आक्षेप लगाएर शान्ति प्रयास अन्तिम चरणमा नपुग्ने भएकाले होसका साथ कुरा गरौं । यहाँ कसले कति मान्छे मा¥यो भनेर खोज्ने हो भने काँग्रेसले कहिले कति मार्यो? राजामहाराजाले कति मारे? सुरक्षाकर्मीहरुले कति मारे? खोज्नपट्टि लाग्यो भने शान्ति प्रक्रिया फेरि भाँडिन सक्छ। हिजोका घटनाबारे टिआरसी (सत्य निरुपण तथा मेलमिलाप आयोग) बनाएर छानबिन गरौं भनेर हामीले नै प्रस्ताव गरेका हौं ।
भोलि मैले नै गल्ती गरेको प्रमाणित भएमा म फाँसीमा पस्न तयार छु। तर हिजो मैले जे जे गरे त्यसको सबै कुराको नैतिक जिम्मेवारी लिन म तयार छु,’ प्रचण्डले भने। त्यस्तै उनले थपे, ‘तपाईंहरु विदेशमा बस्ने? देशमा वलिदानी गर्ने बेलामा पलायन हुने? अहिले आएर ठूला ठूला कुरा गर्ने? यो नेपालको वर्तमान अवस्थासँग सुहाउदो कुरा भएन।’ यसअघि बोल्ने क्रममा दाहालले आर्थिक सम्वृद्धिका लागि राजनीतिक स्थिरता कायम हुनु पर्ने र नयाँ संविधान जारी भएपछि शान्ति प्रक्रिया एउटा निष्कर्षमा पुग्ने त्यसपछि आर्थिक एजण्डाले प्रमुखता पाउने र त्यसमा एनआरएनको महत्वपूर्ण भूमिका हुने बताएका थिए। सम्मेलनमा कांग्रेस सभापति सुशील कोइराला, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, मधेसी जनअधिकार फोरमका उपाध्यक्ष भरत विमलले आ–आफनो पार्टीको धारणा राखेका थिए। एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सभापति विजयकुमार गच्छदार अन्तिम समयमा आएर आउन नसक्ने जानकारी गराएका थिए।
####
.jpg)




0 comments
Write Down Your Comment