###
![]() |
२४ कात्तिक, काठमाडौं । ट्वान्टी-२० विश्वकप क्रिकेटमा नेपाल छनोट भए उत्कृष्ट खेलाडीलाई टोयटा कार दिने घोषणा गरिएको छ । ट्वान्टी-२० विश्वकप छनोट क्रिकेट खेल्न आइतबार राति यूएई जाने नेपाली टोलीको विदाई कार्यक्रममा निजी क्षेत्रमा विभिन्न पुरस्कारको घोषणा गरेका हुन् । पि्रज्मा एडभरटाइजिङको पहल र नेपाल क्रिकेट संघ क्यानको सहयोगमा भएको विदाई कार्यक्रममा भोइथ ग्रुप, एस ट्राभल्स्, एचएच बजाज, मेगा बैंक, एफवान सफ्ट, गोल्ड स्टार जुत्ता, युनिलिभर र किङ्स कलेजले संयुक्त रुपमा विदाइ कार्यक्रम गरेका हुन् । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष एवं भोइथ ग्रुपका अध्यक्ष सुरज बैद्यले विश्वकपमा छनोट भएमा उत्कृष्ट खेलाडीलाई कार दिने घोषणा गर्नुभयो ।
साथै ७ कम्पनीले २/२ र किङ्स कलेजले १ खेलाडीलाई २ वर्षसम्म व्यक्तिगत प्रयोजन गर्नेछन् । जस अनुसार खेलाडीले प्रतिमहिना १५ हजार रुपैयाँ पाउनेछन् । कार्यक्रममा पञ्चकन्याका प्रवन्ध निर्देशक प्रदीपकुमारले कप्तान पारस खड्का र युवा उद्यमीहरुको संस्था एनवाइइफले उपकप्तान ज्ञानेन्द्र मल्ललाई १-१ लाख प्रदान गरेको छ । नेपाल विश्वकपका लागि छनोट भए नसोचेको पुरस्कार दिने प्रदीपकुमारको घोषणा छ । यस्तै मोडल भिसा कन्सलटेन्सीले समूह चरणमा म्यान अफ दिन म्याच चुनिने नेपाली टोलीका प्रत्येक खेलाडीलाई २५ हजार दिने घोषणा गरेको छ ।
कार्यक्रममा कप्तान खड्काले नेपाली टोलीले मेहनत गरेको भन्दै विश्वकपका लागि छनोट हुने विश्वास व्यक्त गरे । उनले भनेका छन्–‘यो त्यस्तो समय हो जसको हामी प्रतिक्षा गरिरहेका छौं । हाम्रा लागी विश्वकप बच्चादेखिको सपना हो । यो जीवनभरका लागि पाएको अबसर हो । जसलाई सदुपयोग गर्दै विश्पकपमा पुग्ने आश छ ।’ पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली राति ११ बजे यूएई प्रस्थान गर्ने कार्यक्रम छ । १६ टिम सहभागी रहेको प्रतियोगितामा नेपाल समूह बीमा छ ।
जुन समूहमा डेनमार्क, केन्या, स्कटल्याण्ड, पपुवा न्यूगिनी, नेदरल्याण्डस्, बर्मुडा र अफगानिस्तान छन् । जसमा स्कटल्याण्ड, नेदरल्याण्ड र अफगानिस्तान एक दिवसीय मान्यता प्राप्त देश हुन् । समूह एमा आयरल्याण्ड, क्यानडा,यूएई, नामिभिया, हङकङ, युगान्डा, अमेरिका र इटली छन् । शीर्ष ६ मा पर्ने टिमले अर्को वर्ष बंगलादेशमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । प्रतियोगिताको पहिलो खेलमा कात्तिक २९ गते नेपालले डेनमार्कको सामना गर्नेछ । त्यसअघि वार्मअप खेलमा नेपालले कात्तिक २५ गते युएई र २७ गते अमेरिकासंग खेल्नेछ ।
####
0 comments
Write Down Your Comment