उम्मेद्वारले एकैपटक मागे दक्षिणा र भोट, नेताले यसरी गर्दैछन् तिहारलाई उपयोग
###

१८ कात्तिक, काठमाडौ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई पनि मंसिर ४ को संविधानसभाको चुनावी माहोलले छाडेन । चुनाव हुने मिति अब दुई हप्तामात्रै बाँकी रहँदा विभिन्न दलका उम्मेदवारहरु देउसी भैली खेलेरै भए पनि भोट फकाउन व्यस्त देखिएका छन् । मतदाता फकाउन खेत, खला र बारीसम्म पुगिरहेका उम्मेदवारहरु तिहार लागेपछि देउसी भैली खेल्दै मतदाताका घर आँगनमा पुगिरहेका छन् । देउसी भट्याउँदै भोट भाग्न उम्मेदवार आएपछि तिहारमा थप रमाइलो थपिएको छ ।

 नेकपा एमाले काठमाडौं क्षेत्र नं. ३ का उम्मेदवार रामेश्वर फुयाँलसहितको चुनावी प्रचार टोली सोमबार विहानैदेखि सो क्षेत्रअन्र्तगतको बौद्धका विभिन्न स्थानमा द्यौसीभैलो खेलिरहेको छ । द्यैसीभैलो खेलेर दक्षिणासँगै मंसिर ४ को संविधानसभा चुनावका लागि एमालेको पक्षमा भोट पनि मागिएको एमाले कार्यकर्ताहरुको भनाइ छ । ‘यसपालिको संविधानसभाको निर्वाचनमा सूर्यमा भोट माग्ने उद्देश्यले खेलिएको द्यौसीभैलो उत्साहजनक र फलदायी भएको छ ।’ काठमाडौ क्षेत्र नंं. ३ का एमाले कार्यकर्ता मोहन गौतमले भन्नुभयो, ‘दक्षिणा दिएर भोट पनि दिने समर्थक, सुभेच्छुक र आम जनसमुदायको प्रतिवद्धताले हामीलाई जितको नजिक पुर्‍याएको छ ।’

 देशको सुदुरपश्चिमी जिल्ला दार्चुलामा पनि उम्मेदवाररहको भोट माग्ने माध्यम द्यौसीभैलो भएको छ । दार्चुलास्थित विभिन्न दलका उम्मेदवारहरु कार्यकर्ता लिएर गाउँगाउँमा पुगेर द्यौसीभैली खेलेर भोट मागिरहेका छन् । एउटामात्र निर्वाचन क्षेत्र रहेको यो जिल्ला उम्मदेवारहरु भोट तान्न द्यौसी खेलिरहेका हुन् । एकीकृत माओवादीका उम्मेदवार ललितसिंह ठगुन्ना उत्तरी क्षेत्र एरकोट क्षेत्रमा घरदैलो अभियानमा जुटेर द्यौसी भैलो खेल्दै भोट मागिरहनुभएको छ । त्यसैगरी एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना कार्यकर्ता र समर्थकहरुसँग जुटेर द्यौसीभैलो खेलेर भलाकुसारी गर्दै भोट मागिरहेको बताउनुहुन्छ । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूलाई पनि चुनाव र तिहार सँगै लागेको छ ।

उहाँले आइतबारदेखि सदरमुकाम खलङ्गालगायतका आसपासका गाविस कार्यकर्तासँग मतदताको घरमा पुगेर द्यौसी भैलो खेल्दै भोट मागिरहनुभएको छ । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ५ का उम्मेदवार नरहरि आचार्य कार्यकर्तासँग द्यौसीभैलो खेल्दै चुनावी अभियानमा जुट्नु भएको छ । वहाँले आफनो निर्वाचन क्षेत्रमा चुनावी अभियानसँगै द्यौसी भैलो कार्यक्रमलाई पनि अघि बढाउनुभएको छ । कतिपय उम्मेदवारहरुले द्यौसीभैलो खैल्दै दक्षिणा पनि लिइरहेका छन् भने कतिपयले चाँहि भोट मात्रै फकाइरहेका छन् । एमाले चितवन क्षेत्र नं. २ का उम्मदेवार कृष्ण खनाल कार्यकर्तासँग द्यौसी भैलो कार्यक्रममा आइतबार देखि नै जुट्नुभएको छ । वहाँले दक्षिणा भन्दा आफूलाई भोट दिन मतदातालाई आग्रह गरिरहनुभएको छ ।
####

,

0 comments

Write Down Your Comment