रुपन्देही ४ मा को होला हिरो ?
###
|
बुटवल, कात्तिक २२ – पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले उम्मेदवारी दिएपछि चर्चाको शिखरमा पुगेको रुपन्देही क्षेत्र नं ४ मा अहिले देशकै ध्यान केन्द्रित छ । रुपन्देही ४ मा के हुन्छ भन्ने चर्चा चिया पसलदेखि ठूला समारोहमा समेत हुने गरेको छ ।
अघिल्लो चुनावमा ८६ हजार ४३९ मतदाता रहेकोमा अहिले ६३ हजार ८४७ मतदाताले मात्र फोटो सहितको मतदाता नामावलीमा नाम लेखाएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख छ । वुटवलको वडा नम्वर १३ जहाँ सुकुम्वासीको वस्ती छ, त्यहाँ मात्रै १३ हजार ३५७ मतदाता रहेका छन् ।
वुटवलको तिनाउ नदीको छेउछाउका वस्तीमा सुकुम्वासी बस्छन् । जहाँ एमाओवादी उम्मेदवार भट्टराईले त रात नै बिताउनुभयो भने एमाले उम्मेदवार पौडेल र कांग्रेस उम्मेदवार प्रधानको ध्यान पनि सुकुम्वासी वस्तीमै छ ।
अघिल्लो चुनावमा एमालेका पौडेललाई जिताउन सुकुम्वासीको भूमिका महत्वपूर्ण रहेको थियो । वुटवलको वडा नं १३ का साथै वडा नं ४ को मैनावगर तथा वडा नं ५ को चिडियाखोला लाइन र पर्रोहा अनि मोतिपुरमा गरी सुकुम्वासीका १२ हजारको हाराहारीमा मतदाता रहेको अनुमान यहाँका सबै दलहरुले गरेका छन् । सुकुम्वासीको मत जता जान्छ, त्यही उम्मेदवार यस क्षेत्रको विजेता बन्नेमा दलहरु पनि विश्वस्त छन् । त्यही भएर होला सुकुम्वासी वस्ती केन्द्रित कार्यक्रममा उनीहरु व्यस्त छन् ।
अघिल्लो चुनाव जितेको, घरदैलोमा देखिएको उत्साहजनक उपस्थिति अनि संगठन तुलनात्मक रुपमा मजबुत रहेकोले एमालेले यसपटक पनि बाजी मार्ने एमाले लुम्विनी अञ्चल सचिव खिमलाल भट्टराई दावी गर्नुहुन्छ । अघिल्लो चुनावमा प्रमुख प्रतिद्वन्द्वी रहेको एमाओवादी चुनावी दौरानमा कम देखिएको छैन । आफना उम्मेदवार राष्ट्रिय र बौद्धिक व्यक्तित्व, भोलिका प्रधानमन्त्री समेत रहेकाले वौद्धिक व्यक्तिहरुको उल्लेख्य बसोबास रहेको क्षेत्र नं ४ मा भट्टराईको पक्षमा परिणाम जाने चुनाव परिचालन समितिका संयोजक डिलाराम आचार्य बताउनुहुन्छ ।
संविधान सभाको पहिलो चुनावमा भन्दा यसपटक कार्यकर्तामा उत्साह देखिएको, उम्मेदवार स्थानीय समाजसेवी रहेको र एमाओवादी तथा एमालेका उम्मेदवारहरुबीच भिडन्त राम्रै हुने भएकाले यसको फाइदा कांग्रेसलाई हुने नेपाली कांग्रेसका बुटवल नगर सचिव प्रजापाल गिरीको भनाई छ ।
एमाओवादीका भट्टराई उम्मेदवार बलिया तर संगठन कमजोर, एमालेको संगठन बलियो तर उम्मेदवार पुराना तथा कांग्रेसको सांगठनिक निस्कृयता तर उम्मेदवार भने त्यागी रहेकोले रुपन्देही क्षेत्र नं ४ को ‘हिरो’ को बन्ला भनेर अहिल्यै अनुमान गर्न गाह्रो छ ।
####
.jpg)







0 comments
Write Down Your Comment