प्रहरी भर्तीमा म्यादीलाई प्राथमिकता
###

काठमाडौं,  - दोस्रो संविधानसभा निर्वाचनमा विशेष योगदान पुर्‍याएको ठहर गर्दै सरकारले ४५ हजार म्यादे प्रहरीहरुलाई सुरक्षा निकायमा सहज भर्तीको अवसर दिने भएको छ ।
गृह प्रशासन सूत्रका अनुसार यसपटकका म्यादे प्रहरीहरुको व्यवस्थित अभिलेख राखी उनीहरुलाई आगामी भर्तीका लागि नीतिगत रुपमै प्राथमिकता दिने तयारी भइरहेको छ । त्यसका लागि आवश्यक कानुनी संशोधन र प्रशासनिक निर्णय निम्ति गृहकार्य सुरु हुने बताइन्छ । 'म्यादे प्रहरीहरुलाई रोस्टरमा राख्न लागिएको हो । ताकि ऐतिहासिक निर्वाचन सम्पन्न गर्नमा उनीहरुले पुर्‍याएको योगदानको उचित कदर होस्,' एक गृहका अधिकारीले भने ।
सरकारले चुनाव हुने माहौल बनेपछि दशैंलगत्तै म्यादे प्रहरीहरुको भर्ती खोलेको थियो । एउटा प्रहरी जवानबराबर डेढ महिनाको तलव, तयारी भत्ता, खाजा खर्च र लत्ताकपडासहित म्यादे प्रहरीहरुले प्रतिव्यक्ति २५ हजार रुपैयाूबराबरको सुविधा पाएका छन् ।
अघिल्ला चुनावहरुमा पनि म्यादे प्रहरीहरु भर्ति गरिएकामा उनीहरुको भुमिका मतदानकेन्द्रमा सामान्य व्यवस्थापननिम्ति सघाउनेमै सीमित थियो । विभिन्न दलहरुको प्रभावमा नियुक्त भएकाले उनीहरुको भुमिका विवादास्पदसमेत बनेको थियो । यसपटक म्यादे प्रहरीहरुले अभूतपूर्व हिसावले काम गरेको मूल्याकंन गृह प्रशासनले गरेको छ । चुनावकै दिन सार्वजनिक अभिव्यक्ति दिंदै गृह मन्त्री माधवप्रसाद घिमिरेहरुले पनि म्यादे प्रहरीहरुको प्रशंसा गरेका थिए ।
भर्तीपछि मात्रै एक हप्ताको तालिम पाएका म्यादे प्रहरीहरुले चुनावको १० दिनअघिदेखि सडक ड्यूटी गरेका थिए । वहिष्कारवादी एमाओवादी लगायत दलहरुले आह्वान गरेको वन्दलाई निष्फल पार्न सरकारले बनाएको विशेष सुरक्षा योजनमा म्यादेहरुलाई पनि मिसाइएको थियो । उनीहरुले बन्दभर सडक गस्ती, निगरानीका साथै तलासीको काम पनि गरेका थिए ।
म्यादे प्रहरीहरुले देखाएको यो क्रियाशिलताका कारण अरु सुरक्षा निकायलाई पनि सजिलो भएको थियो । 'देशभर बनेको चुनावी माहौल र देशको भविष्यका चिन्ताका कारण पनि उनीहरुले विशेष मेहनत गरेका हुन्,' एक अधिकारी भन्छन् ।
नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले म्यादे प्रहरीहरुले निर्वाचन सम्पन्न गर्नमा विशेष भुमिका निर्वाह गरेको बताए । 'हामी यस पटक उनीहरुको व्यवस्थित हिसावले अभिलेख राख्दैछौं,' उनले भने ।
प्रतक्ष्य तर्फको मतगणना सकिएपछि अब विस्तारै म्यादे प्रहरीहरु घर र्फकने तयारीमा छन् । जिल्लास्तरका प्रहरी प्रमुखहरुबाट उनीहरुलाई सेवाको प्रमाणपत्र धमाधम वितरण गरिंदैछ ।
खास गरी २० देखि ३० वर्षसम्मका युवाहरुको वाहुल्य रहेको म्यादे प्रहरी भर्तीको प्रमाणपत्र वैदेशिक रोजगारीका अवसरका निम्ति पनि उपयोगी हुने मानिन्छ । 'तर हामीले नै यहाँ उनीहरुलाई नोकरीको व्यवस्था गर्नसके उनीहरु विदेशिनबाट रोकिन्छन्,' अधिकारीहरु भन्छन् ।
राजधानी काठमाडौंका लागि भर्ती भएका १७ सय म्यादे प्रहरीहरुलाई विहीबार विहान प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । 'उनीहरुलाई हामी कार्यक्रमका बीच नै प्रमाणपत्र वितरण गर्दैछौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुवोध घिमिरेले भने ।
घिमिरेले आफ्नो कार्यक्षेत्रमा खटिएका म्यादे प्रहरीहरुमाझ प्रश्नावलीका आधारमा अनुभव सर्वेक्षणसमेत गरिन लागेको बताए । 'उनीहरुको यो अनुभव सर्वेक्षण पछि पछि धेरै खाले अध्ययन अनुसन्धानलाई काम लाग्छ,' उनले भने । 'म्यादे प्रहरीहरुलाई उत्कृष्ट राष्ट्र सेवावापत भविष्यमा राम्रा अवसरका लागि प्राथमिकता दिइयोस् भन्नाका लागि हामीले आ आफ्नो स्तरबाट सुझाव पेश गरेका छौं,' उनले थपे ।



####

0 comments

Write Down Your Comment