###
|
एमाओवादीको मेची–काली अभियानः विपक्षीमाथि चर्को दबाव -
२० कात्तिक, झापा । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले झापाको काँकडभिट्टामा बुधबार बिहान मेची–महाकाली राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै आफ्नो पार्टीलाई बहुमत दिलाए नयाँ बन्ने सरकारले झापामा भइरहेको हात्ती आतंक नियन्त्रण गर्ने बताउनुभएको छ । आफ्नो पहाडदेखि तराईसम्म आफ्नो दलप्रति जनलहर उर्लिएको भन्दै प्रचण्डले दुई तिहाइ बहुमत पाए सहजै संविधान बन्ने बताउनुभएको छ ।
अघिल्लो चुनावमा एमाओवादीले बहुमत नपाएकाले आफ्नो सरकारले बजेट ल्याउन नपाएको भन्दै दुई तिहाई बहुमत दिए सहजै संविधान बन्ने प्रचण्डले बताउनुभयो । झापाको बाहुनडाँगी, मेचीनगर र शान्तिनगर लगायतका स्थानमा भारतीय सीमाबाट आएका हात्तीले दुःख दिने गरेको र आफ्नो सरकार बनेको खण्डमा भारतसँग कुटनीतिक कुरा गरेर हात्ती नियन्त्रण गरिने उहाँले झापावासीलाई आश्वासन दिनुभयो । मधेसमा आफ्नो चुनावी प्रभाव विस्तारका लागि शुरु गरिएको अभियानको पहिलो दिन एमाओवादीका शीर्षनेता सम्मिलित सभामा प्रचण्डले स्थानीय एजेन्डालाई समेत सम्बोधन गर्ने प्रयास गर्नुभयो ।
उहाँले चिया मजदुरहरुको समस्या, सुकुम्वासीहरुको समस्या र काँकडभिट्टाको शहरीकरणबारे आफ्नो सरकार बनेमा काम गरिने बताउनुभयो । झापाका एमाओवादीका सातै क्षेत्रका उम्मेद्वार र केन्द्रीय नेताहरु सहभागी कार्यक्रममा अर्का नेता डा. बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा बन्ने सरकारले वृद्धभत्ता बढाएर मासिक २ हजार पार्ने बताउनुभयो ।
मेचीकाली अभियानः विपक्षीलाई चुनौती एमाओवादीले झापादेखि कञ्चनपुरसम्म ५० भन्दा बढी सभाहरुको आयोजना गर्ने गरी तय गरेको यो अभियानले मधेसमा एमाओवादीको पक्षमा चुनावी लहर ल्याउने सो पार्टीका नेताहरुले अनुमान गरेका छन् । एकैदिनमा पार्टीका शीर्ष नेताको सहभागितामा एकै दिन ८ वटा सभाहरुको आयोजना गरेर एमाओवादीले आफूलाई आक्रमकरुपमा प्रस्तुत गरेको छ । झापा क्षेत्र नं १ का उम्मेद्वार रविन कोइरालाको गृहनगर काँकडभिट्टामै पुगेर एमाओवादीका शीर्षनेताले पूर्व एमाले कलाकार जेबी टुहुरेलाई समेत साथमा लिएर सुकुम्बासी, चिया मजदुर र हात्ती पीडित जनतालाई सम्बोधन गरेपछि यसबाट विपक्षीलाई, विशेष गरी नेकपा एमालेलाई निकै ठूलो दबाव पुगेको महसुुस झापाबासीले गरेका छन् । झापाको काँकडभिट्टा, बिर्तामोड र दमक गरी तीनवटा शहरमा आयोजित कार्यक्रमका कारण झापामा बिग्रँदै गएको एमाओवादीको अवस्थामा सुधार आउने र एमाओवादीले झापामा विगतको विरासत कायम गर्न सक्ने एमाओवादी कार्यकर्ताको दाबी छ ।
एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीको चुनाव क्षेत्र दमकमा आयोजित आमसभाले गोपाल किरातीको पक्षमा माहौल बनाउने र केपी ओलीमाथि चर्को दबाव दिने अनुमान धेरैले गरेका छन् । त्यस्तै मोरङको उर्लाबारीमा आयोजना गरिएको सभाले वर्षमान पुनलाई र पथरी बजारमा गरिने सभाले केन्द्रीय सदस्य कुमार पौडेललाई जित्ने वातावरण बनाउने अनुमान गरिएको छ । बेलबारीको सभाले मोरङ ३ का एमाओवादी सभासद खेमराज भट्टराई र बिराटचौकको सभाले मोरङ ८ का गोपी अछामीको पक्षमा चुनावी माहौल बनाउने दाबी गरिएको छ ।
इटहरीको सभाले रामकुमारी चौधरी र अन्य उम्मेद्वारलाई सहयोग पुग्ने बताइएको छ । बिराटनगरको सभाले समग्र मोरङ जिल्लामा एमाओवादीको पक्षमा जनमत आकर्षित गर्ने एमाओवादी लक्ष छ । यस्तो छ अभियान निर्वाचनको प्रचारका लागि एमाओवादीले तय गरेको मेची महाकाली अभियान बुधबारदेखि काँकडभिट्टाबाट सुरु भएको हो ।
अभियानको सुरुवात झापाको का“करभिट्टाबाट गरिएको छ । बुधबार एकै दिन झापाको काँकडभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम तय गरिएको छ भने मोरङको उर्लाबारी, पथरी, बेलबारी र सुनसरीको इटहरीमा कोणसभा गरी मोरङको सदरमुकाम बिराटनगरमा बास बस्ने कार्यक्रम छ । अभियानको उद्घाटनमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको उपस्थितिमा उद्घाटन गर्नुभएको छ । अभियानका क्रममा देशका विभिन्न ५० भन्दा बढी स्थानमा सभा हुनेछ । उक्त सभालाई एमाओवादीका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुनेछ । अभियानमा सांस्कृतिक टोली पनि रहेको र उनीहरुले मनोरञ्जन प्रदान गर्ने कार्ययोजना बनाइएको छ । प्रत्येक ठाउ“मा हुने सभाअघि मोटरसाइकल ¥याली गरिने कार्यक्रम छ । सभा क्षेत्रमा भएको खर्च तथा सहभागीलाई खान बस्नको व्यवस्था सम्बन्धित राज्य समितिले बेहोर्ने बताइएको छ । अभियानको समापन कात्तिक २७ गते धनगढीमा पत्रकारसम्मेलन मार्फत गरिनेछ ।
####
.jpg)




0 comments
Write Down Your Comment