एमाओवादी, कांग्रेस र एमालेका आआफ्नै दाउ
###
|
तम्घास (गुल्मी): लुम्बिनी अञ्चलको राजनीतिक महत्त्व राख्ने जिल्लामध्ये गुल्मीमा पनि केन्द्रीयस्तरका नेताहरूबीचको प्रतिस्पर्धाले संविधानसभा निर्वाचन रोचक बनेको छ। तीन निर्वाचन क्षेत्र भएको जिल्लामा चुनाउको वातावरण तातेको छ।
गुल्मीमा एमाओवादी, कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। उनीहरूले प्रचार कार्यक्रम तीव्र बनाएका छन्।
क्षेत्र २ मा एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली, कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी र एमाओवादी राज्य समिति सदस्य अशोक थापा प्रतिस्पर्धामा छन्। तर मुख्य प्रतिस्पर्धा ज्ञवाली र भण्डारीबीच हुने देखिएको छ। अघिल्लो संविधानसभामा यस क्षेत्रबाट ज्ञवाली विजयी भएका थिए। भण्डारी थोरै मतअन्तरले पराजित भएका थिए। राष्ट्रियस्तरमा स्थापित ज्ञवाली र भण्डारी स्थानीय तहमा पनि लोकप्रिय छन्।
पहिलो संविधानसभा निर्वाचनमा ज्ञवालीले २३,२५३, भण्डारीले २१,१०१ र एमाओवादीका निमबहादुर पाण्डेले ७,३२१ मत प्राप्त गरेका थिए। अहिले क्षेत्र २ मा ६०,३८४ मतदाता छन्। त्यस्तै क्षेत्र १ मा ३९,२७० र ३ मा ५१,०१० मतदाता छन्।
क्षेत्र ३ मा पनि रोचक प्रतिस्पर्धा छ। यस क्षेत्रमा एमालेका केन्द्रीय सदस्य गोकर्णराज बिष्ट, एमाओवादी केन्द्रीय सदस्य वामदेव क्षेत्री र कांग्रेस गुल्मीका पूर्वसभापति त्रैलोक्यप्रताप सेन विशेष चर्चामा छन्। बिष्टले ऊर्जामन्त्री हुँदा गरेको कामको विशेष चर्चा यस क्षेत्रमा छ भने सेन लामो समयदेखि जिल्लाको राजनीति बुझेका जुझारू नेता मानिन्छन्। क्षेत्री पनि द्वन्द्व कालमा लामोसमय जिल्लामा बसेर जनतासँग भिजेर काम गरेका व्यक्ति हुन्। यसअघि यस क्षेत्रबाट एमाओवादीका चन्द्रबहादुर थापाले १६,५८१ मत ल्याएर विजयी भएका थिए। एमालेका बिष्ट र कांग्रेसका सुरेशचन्द्र भुसालले क्रमश: १४,५४३ र ९,१५३ मत ल्याएका थिए।
क्षेत्र १ मा पनि चुनाउ वातावरण तातेको छ। यस क्षेत्रमा एमाओवादी गुल्मी जिल्ला संयोजक सुदर्शन बलाल, कांग्रेस महासमिति सदस्य कृष्णबहादुर छन्त्याल र एमाले अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य मैना भण्डारीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन छ। यसअघि एमाओवादीका बलाल १४,१६५ मत ल्याएर विजयी भएका थिए। कांग्रेसकी सुवर्ण ज्वारचनले ९,७०१ र एमालेकी भण्डारीले ९,०६७ मत ल्याएका थिए।
चुनाउ मिति नजिकिँदै जाँदा एकातिर हारजितको जोडघटाउ सुरु भएको छ भने अर्कोतिर प्रचारप्रसारले जिल्लाका सबै क्षेत्र रंगिएका छन्। राजनीतिक पार्टी र तिनका उम्मेदवार आफ्नो पक्षमा जनमत बटुल्न मतदाताको घरदैलोमा केन्द्रित छन्। यसले मतदातासमेत उत्साहित बनेका छन्। लामो समयपछि नेताहरू आफ्नो घरदैलोमा आएर मत माग्न थालेपछि उनीहरू उत्साहित बन्न थालेका हुन्।
एमाओवादीले आफूलाई घरदैलोमा केन्द्रित गरेको छ। मतदातासँग संविधान निर्माण गर्नेदेखि जिल्लाको विकास निर्माणलाई प्रमुख प्राथमिकता दिने आश्वासन एमाओवादीले दिएको छ।
एमाओवादी जिल्ला संयोजकसमेत रहेका बलालले विगतमा आफूले प्राप्त गरेको मत सुरक्षित रहेको तथा कांग्रेस र एमालेबाट आफ्नो पार्टी प्रवेश गर्ने लहर बढेकोले तीनवटै क्षेत्रमा चुनाउ जित्ने दाबी गरे।
कांग्रेस पनि सभा र घरदैलोमै केन्द्रित छ। संविधानमा शिक्षा, स्वास्थ्य, रोजगार जस्ता मौलिक अधिकारलाई ग्यारेन्टी गरी जनातालाई विकासको प्रत्यक्ष अनुभूति गराउने कांग्रेसको दाबी छ। कांग्रेस सभापति चन्द्र केसीले पनि जिल्लाका तीनवटै क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी गरे। ‘यसपालि संविधान बनाउन पनि कांग्रेसलाई बहुमत दिनु आवश्यक छ’, केसीले भने।
एमालेले चुनाउ सभा र घरदैलोलाई प्राथमिकता दिएको छ। एमालेले प्रचारमा विकास निर्माण र सुशासनको मुद्दा अगाडि सारेको छ। आफ्नो पार्टीको संगठन राम्रो भएको, विकास निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको र पार्टीका तर्फबाट अगाडि सारिएका उम्मेदवार कर्तव्यनिष्ठ भएकाले पनि चुनाउ जित्ने दाबी एमाले गुल्मीका अध्यक्ष टोमलाल पाण्डेले गरे।
####
.jpg)





0 comments
Write Down Your Comment