नेकपा-माओवादीको आमहड्ताल भोलि एकदिनमात्र(विज्ञप्तिको पूर्ण पाठसहित)
###

नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भोलि सोमबारदेखि गर्ने भनेको पूर्व घोषित आन्दोलनका कार्यक्रमलाई परिर्माजन गर्दै भोलि २५ गते एक दिन मात्र आमहड्ताल गर्ने भएको छ।
चुनाव बहिष्कारसहित आन्दोलनमा रहेको मोर्चाले पर्सि २६ गतेदेखि मंसिर ५ गतेसम्म सवारीसाधन मात्र बन्द गर्ने आइतबार बसेको कार्यसमितिको बैठकले निर्णय गरेको छ।
अहिले केहीबेर अघि पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादीले आन्दोलनको स्वरुपलाई परिर्वतन गरेको हो। आन्दोनलका अवधिमा एम्बुलेन्स, प्रेस तथा कुटनीतिक नियोगका सवारीसाधन र उद्योग कलकारखान,शिक्षण संस्था बजार पसललगायत अरु सबै यथावत रुपमा सञ्चालनमा आउने पार्टीले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
चुनावको विपक्षमा रहेका दलहरुले मंसिर ४ को चुनावलाई विफल पार्न उक्त बन्दको घोषणा गरेका हुन । मोर्चाको निर्णयबारे जानकारी दिँदै माओवादी सचिव देव गुरुङले आफूलाई थुनेर चुनाव गर्न चुनौती दिए ।
उनले भने ‘यस्तो हो भने, अब नेपाल इराक तथा अफ्गानिस्तान जस्तो हुन्छ । दलका नेताहरु जीम्मेवार नभए देशमा ठूलो दुर्घटना हुन्छ । ’ यसअघि ३३ दलले आफ्नो सहभागिताविना हुने चुनावको सक्रिय बहिष्कार गर्ने भन्दै भोलिदेखि मंसिर ५ गतेसम्म आमहड्ताल गर्ने घोषणा गरेको थियो।

हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ

आज मिति २०७० कार्तिक २४ गतेका दिन ३३ दलीय राजनीतिक मोर्चाको बैठक नेकपा–माओवादीको केन्द्रीय कार्यालयमा बुद्धनगरमा बसी निम्न निर्णयहरु लिइएका छन् ।

१. मुलुकको विद्यमान सङ्कटलाई समाधान गर्नका लागि राजनीतिक शक्तिहरुको बीचमा राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन । त्यसैले सबै राजनीतिक शक्तिहरुको बीचमा गोलमेचसभाको आयोजना गरी नयाँ संविधान निर्माणको मार्गचित्र सुनिश्चित गर्दै संविधानसभाको निर्वाचनको प्रक्रियामा अगाडि बढौं भनी ३३ दलको तर्फबाट निरन्तर रुपमा सरकार र ४ दलसँग आग्रह गर्दै आइरहेको यथार्थता सर्वविदितै छ । परन्तु, उक्त प्रस्तावलाई निषेध गर्दै ४ दल र सरकारले जबर्जस्त रुपमा राष्ट्रघाती तथा जनघाती निर्वाचनको प्रायोजन गर्दैछ । त्यसको हामी घोर विरोध एवम् भत्र्सना गर्न चाहन्छौं ।

२. राष्ट्रिय सहमति कायम गर्नका लागि हामीले आन्दोलनका  विभिन्न चरणका कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेका छौ्रं । यसै क्रममा यही कार्तिक २५ गतेदेखि १० दिनसम्म देशव्यापी आम हडतालको कार्यक्रम घोषणा गरेका थियौं । उक्त कार्यक्रमलाई अझ प्रभावकारी र  सशक्त बनाउन त्यसका रुपहरुमा परिमार्जन गर्नुपर्ने विभिन्न समुदायहरुको सुझावलाई पनि ध्यानमा राख्दै आन्दोलनका कार्यक्रमहरुलाई निम्न अनुसार परिमार्जन गरिएको छ ।

(क) यही कार्तिक २५ गते बिहान ६:०० बजेदेखि बेलुका ५:०० बजेसम्म देशव्यापी आमहड्ताल गर्ने निश्चित गरिएको छ । उक्त दिन सम्पूर्ण यातायात, बजार, कलकारखाना, शिक्षणसंस्थाहरु आदि सबै बन्द रहनेछ ।
(ख) कार्तिक २५ गते बिहान ६:०० बजेदेखि मंसिर ४ गते बेलुका ५:०० बजेसम्म दिनरात २४ सै घण्टा सम्पूर्ण यातायात हड्ताल गर्ने निश्चित गरिएको छ । जसअनुसार – एम्बुलेन्स, रेडक्रस, हस्पिटलका गाडी, शववाहन, फोहार बोक्ने गाडी, पानी बोक्ने गाडी, दूध र तरकारी बोक्ने गाडी, प्रेस, मानवअधिकार, कूटनीतिक नियोगका गाडीहरु, रिक्सा, साइकल र ठेलागाडा बाहेक सम्पूर्ण यातायातको चक्काजाम हुनेछ ।
(ग) यस अवधिमा राष्ट्रघाती तथा जनघाती निर्वाचनको विरोध तथा बहिष्कारको पक्षमा देशव्यापी रुपमा प्रचार–प्रसार, विरोधसभा, विरोध प्रदर्शन, जनप्रतिरोधका कार्यक्रमहरु आदि सञ्चालन हुनेछन् ।

३. उपरोक्त आन्दोलनका कार्यक्रमहरुलाई समर्थन र सहयोग गरिदिनुहुन सम्पूर्ण मजदूर, किसान, यातायात मजदुर, यातायात व्यवसायी, उद्यमी, व्यापारी, बुद्धिजीवी, शिक्षक–विद्यार्थी लगायत सबै जनसमुदायहरुमा हार्दिक आग्रह गर्ने निश्चित गरिएको छ ।

४. निर्वाचन बहिष्कार गर्ने वा भाग लिने दुवै लोकतान्त्रिक तथा मौलिक अधिकार हुन् । परन्तु, राज्यले बहिष्कार आन्दोलनको विरुद्ध दमन–धरपकड, झुठा मुद्दा र धम्की दिंदै आतङ्क सिर्जना गर्न खोजिएको छ । त्यसको विरोध एवम् भत्र्सना गर्दै गिरफ्तार गरिएका साथीहरुलाई विनाशर्त रिहा गर्न माग गर्दछ ।

५. मुलुकको राजनीतिक निकासको निम्ति संवाद र सहमतिको मार्ग अवलम्बन गर्दै राष्ट्रिय राजनीतिक सहमति कायम गर्नका लागि निर्वाचनको कार्यक्रम स्थगन गरी सहमतिको मार्गमा अगाडि बढ्नका लागि सरकार, ४ दल, अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाजलगायत सबैमा ३३ दलीय मोर्चा फेरिपनि हार्दिक आग्रह गर्दछ ।

मिति : २०७० कार्तिक २४
३३ दलीय राजनीतिक मोर्चा



####

0 comments

Write Down Your Comment